कम्तिमा पनि फाइनान्सीयल टेक्नोलोजी बुझ्न बैंकिङ एक्स्पोमा आउनैपर्छ (अन्तर्वार्ता)

मुख्यतया आम नेपालीमाझ वित्तीय चेतना अभिबृद्धि गर्ने एवं उद्यमशीलताको विकास गर्ने उद्देश्य स्वरुप विगत चार बर्षदेखि ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ कार्यक्रम संचालन भइरहेको छ । मिडिया इन्टरनेसनलको आयोजनामा अगाडि बढेको वित्तीय जागरण : राष्ट्रिय अभियान’ मा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष तथा बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, वित्तीय संस्था संघ, माइक्रो फाइनान्स बैंकर्स संघसमेत जोडिएका छन् । अभियानअन्तर्गत देशभरिका विभिन्न स्थानमा कार्यक्रमहरु हुँदै आएकोमा यही २०७६ मंसीर १ र २ गते भृकुटी मण्डप काठमाडौंमा बैंकिङ एक्स्पो (बैंकिङ, बीमा र पुँजीबजार प्रदर्शनी) हुँदैछ । जसमा पर्यटन वर्ष २०२० लाई लक्षित गरी ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) र अन्य संस्थाहरु समेत आबद्ध भएका छन् । यही सेरोफेरोमा रहेर ‘तेस्रो बैंकिङ एक्स्पो २०१९’ मा केन्द्रित रहेर ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषसँग गरिएको कुराकानीको सम्पादित अंश ।
० कस्तो हुँदैछ बैंकिङ एक्स्पो (बैंकिङ, बीमा र पूँजीबजार प्रदर्शनी) को तयारी ?
तेस्रो बैंकिङ एक्स्पो (बैंकिङ, बीमा र पूँजीबजार प्रदर्शनी) को तयारी अन्तिम चरणमा छ । एक्स्पोमा स्टल राख्नका लागि बैंक, बीमा तथा वित्तीय संस्थाहरुको सहभागिता हुने क्रम जारी छ । आम नागरिकलाई एक्स्पोका बारे जानकारी गराउने तथा प्रसार–प्रसारका कामहरु भइरहेका छन् । सकेसम्म राम्रो र उत्कृष्ट व्यवस्थापनका साथ अगाडि बढ्नका लागि हामी अग्रसर छौं । व्यवस्थित एवं सहभागितामूलक बनाएर एक्स्पो सम्पन्न गर्ने गरी तयारी भइरहेको छ ।
० बैंकिङ एक्स्पोका मुख्य उद्देश्य के के हुन् ?
एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सीयल टेक्नोलोजीको सूचना प्रदर्शन एवं उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्ने उद्देश्यले बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको हो । पैसा कमाउनका लागि बचत गर्ने र उद्यमशिलताका लागि बैंकिङ माध्यम अपनाउने बानीको विकास गर्न सकेमात्रै पनि थोरै–थोरै पूँजी राष्ट्र निर्माणमा सहभागी हुनसक्छ । सबै नेपालीको बैंक–वित्त क्षेत्रमा पहुँच पु¥याउने, विदेशका कुना–कुनाबाट पठाइएका पैसालाई आधिकारिक रेमिट्यान्समार्फत नेपालमा भित्राउने, बीमा गर्नका लागि जनचेतना अभिवृद्धि गर्ने, बैंकिङ सूचनालाई आम नागरिक समक्ष पु¥याउने जस्ता कार्य अति आवश्यक देखिएको छ । बैंकिङ सूचनाको अभावमा बैंकिङ क्षेत्रले गर्ने कामका बारेमा समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधिहरु थाहा नहुँदा वा बैंकिङ क्षेत्रले दिने कर्जा र व्याजका बारेसमेत थाहा नहुँदा बैंककै बारेमा मानिसहरु अन्यौल छन् । यसर्थ बैंकिङ सूचना प्रवाह गर्ने तथा आम नागरिकको बैंकिङ पहुँच बढाउने र बैंकबाटै कर्जा लिएर उद्यमशिलताको विकास गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य हो । यसबाहेक विशेष गरेर काठमाडौं शहरी क्षेत्र भएका कारण फाइनान्सीयल टेक्नोलोजी, पूँजीबजार जस्ता विषयलाई बैंकिङ एक्स्पोमा फोकस गरिएको छ । समग्रमा भन्नुपर्दा बैंकिङ, बीमा र सेयर बजारका विविध पक्षहरुबारे बुझ्ने, बुझाउने एवं अन्तरक्रिया गर्ने कार्यका रुपमा यस एक्स्पोलाई लिइएको छ ।
० यसपालीको बैंकिङ एक्स्पोका विशेषताहरु के–के छन् ?
विगतका एक्स्पोहरुमा जस्तै यसपाली पनि विभिन्न बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, बीमा कम्पनी, सेयर बजारसँग सम्बन्धित कम्पनीहरु लगायतले आफ्नो स्टल सञ्चालन गरी भिजिटरहरुलाई जानकारी दिनेछन् । कार्यक्रममा बैंकिङ लगानी, उद्यमशीलता, लघु–उद्यमशीलता, फाइनान्सीयल टेक्नोलोजी, सेयर बजार, जीवन बीमा, नीर्जिवन बीमा, रेमिट्यान्सलगायतका विषयमा विभिन्न चरणमा विभिन्न विज्ञ र सरोकारवालाको सहभागितामा लगातार प्रस्तुति तथा अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिने छ । त्यस्तै, विपन्न परिवारमा जन्मिएर पनि उद्यमशीलताको माध्यमबाट अर्थतन्त्र हाँकेका सफल उद्यमीहरुले आफ्ना अनुभवहरु सहित कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा सूचनामूलक स्टल सञ्चालनसँगै विभिन्न कम्पनीहरुले नयाँ स्कीमहरु घोषणा गर्नेछन् । बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स, र फाइनान्सीयल टेक्नोलोजी क्षेत्रको करीयर तथा रोजगारीका अवसरहरुबारे प्रशस्तै जानकारी लिन सकिने छ । विभिन्न मनोरञ्नात्मक सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिने छन् । प्रवेशका लागि शुल्क पनि लाग्दैन ।
० बैंकबारे बुझ्न त बैंकमै जानुपर्ने हैन र ? बैंकिङ एक्स्पो नै किन भिजिट गर्ने ?
बैंकको बारेमा बुझ्न त बैंकमै जाने हो । तर, नेपालमा यति धेरै बैंक तथा वित्तीय संस्था छन् । तीनै संस्थासँग सम्बन्ध राख्ने बीमा कम्पनी, रेमिट्यान्स कम्पनी, सेयर बजारसँग सम्बन्धित कम्पनीहरु छन् । एकएक गरेर कुन–कुनमा गएर बुझ्न सम्भव होला ? त्यसमाथि हाम्रा यी वित्तीय क्षेत्रहरुमा हेल्प डेक्स कमजोर छन् । सूचना दिने अधिकारीहरु बेफूर्सदिला छन् । यसर्थ पनि एक्स्पोमा सबै कम्पनीहरु तपाईँलाई सूचना दिनका लागि जम्मा हुन्छन् । आफ्नो मनमा भएका सबै जिज्ञासा मेटाउन सकिन्छ । बैंकको नयाँ स्कीमहरुका बारेमा तुलनात्मक अध्ययन गरी सेवा सुविधासमेत लिन सकिन्छ । बैंकिङ एक्स्पोमा आएर बुझ्दा समयको बचत, पैसाको बचतका साथै धेरै जानकारी पनि पाइने भएकाले बैंकिङ एक्स्पो भिजिट गर्नु सबैका लागि आवश्यक छ ।
० यस कार्यक्रमबाट के अपेक्षा राख्नुभएको छ ?
बैंकिङ एक्स्पो कार्यक्रम विशेषगरी बैंक, वित्त कम्पनी तथा बीमा, रेमिट्यान्स कम्पनी, डिजिटल फाइनान्ससम्बन्धी कम्पनीहरु, क्यापिटल कम्पनीहरुका बारे प्रत्यक्ष सूचना दिने र लिने थलो हो । जसलाई आम नागरिक र वित्तीय कम्पनीहरुबीच एकैठाउँमा भेला हुने अवसरका रुपमा लिइन्छ । एउटै छानामुनि (बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स, र फाइनान्सीयल टेक्नोलोजी) को सूचना प्रवाह हुने हुँदा यस कार्यक्रम वित्तीय तथा आर्थिक चेतना अभिबृद्धिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । मूलत म्यानेजमेन्ट तहका विद्यार्थीलाई यस कार्यक्रमले उद्यमशीलतातर्फ लैजाने आशा राखिएको छ ।
० वित्तीय जागरण कार्यक्रम लिएर विभिन्न ठाउँमा पुग्ने क्रममा त्यहाँ वित्तीय चेतनाको अवस्था कस्तो पाउनुभयो ?
वित्तीय जागरण : राष्ट्रिय अभियान पूर्वी झापाको विर्तामोडदेखि सुदूरपश्चिमको डडेलधुरासम्म सञ्चालन भइसकेको छ । ती क्षेत्रमा वित्तीय चेतनाको अवस्था कमजोर नै छ । त्यहाँमात्रै होइन काठमाडौंका महंगा स्कूल र कलेज अध्ययन गर्ने विद्यार्थीले नै राष्ट्र बैंक र बैंकसमेत छुट्याउन सक्दैनन्, अवस्था यस्तो छ । बीमा र सेयर बजारको चेतना अझ कम छ । ग्रामीण भेगमा र विपन्न वर्गमा आज कमाएर आजैको छाक टार्ने अवस्था छ, जहाँ भोलिका लागि बचत गर्ने भन्नेतर्फ सोच्ने क्षमता हुँदैन नै । समाजमा विपन्न वर्गलाई बैंकले कर्जा दिँदैन, बीमा धनीहरुका लागि हो भन्ने बुझाई कतिपयमा रहेको छ । कतिपयलाई त बैंकमा पैसा जम्मा गर्दा सुरक्षित हुन्छ र ? भन्ने पनि छ । तथापी बैंक वा वित्तीय संस्था पुगेको ठाउँमा वित्तीय चेतना बढ्दै गइरहेको देखिन्छ । लघुवित्तबाट कर्जा लिएर व्यवसायिक रुपमा तरकारी खेती गर्ने, घरेलु उद्योग सञ्चालन गर्ने, किराना पसल चलाउने, माछा पाल्ने, भैंसी पाल्ने, बंगुर पाल्ने जस्ता व्यवसायहरु सञ्चालन भइरहेका पनि छन् । समग्रमा हेर्दा, अझै पनि वित्तीय चेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ । थोरै–थोरै रकम पनि बचत गर्ने र उद्यमशीलतातर्फ लागेर गरीबी हटाई समृद्ध बन्न सकिन्छ भन्ने विश्वास दिलाउन आवश्यक देखिन्छ ।
० ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ कत्तिको प्रभावकारी भएको पाउनुभएको छ ?
पक्कै पनि वित्तीय जागरण अभियानको हरेक क्षेत्रमा ठूलो प्रभाव परिरहेको छ । नियामक निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु र सम्बन्धित वित्तीय संस्थाहरुलाई नै साथ लिएर हामी अघि बढिरहेका छौं । गाउँ–गाउँमा गएर बैंकमा खाता खोल्दा फाइदा हुन्छ, कर्जा लिएर उद्यमी बन्न सकिन्छ भन्ने जनविश्वास फैलाउन सहयोग पुगिरहेको छ । बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढ्दो क्रममा रहेको छ । कर्जा लिने, बीमा गर्ने जस्ता कुरामा सर्वसाधारणहरु पनि जिज्ञासु हुन थालेका छन् । थोरै भए पनि फजुल खर्च कटाएर बचत गर्न थालेका छन् । र, आफै केही गर्नुपर्छ भन्ने सौचाईको विकास भएको छ, यत्तिले पुग्दैन, यो अभियान हरेक व्यक्ति र परिवारसम्म पुग्न जरुरी छ । यसले मात्रै समृद्धि र विकासको रेखा कोर्न सक्छ ।
० यस्तो कार्यक्रम त ग्रामीण भेगमा गरिनुपर्ने हैन र ? शहरमा त वित्तीय चेतना राम्रै होला नि ?
हामीलाई पनि शुरुमा यस्तै लागेको थियो । गाउँका मान्छेहरु नबुझ्ने छन् भन्ने सोचेर ग्रामीण भेगलाई नै टार्गेट गरिरहेका थियौं । तर, हैन रहेछ । शहरमै बस्ने, अनि पढेलेखेकै युवाहरुमा समेत वित्तीय चेतनाको कमी रहेछ । म्यानेजमेन्ट संकायमै अध्ययन गरिरहेकाहरुलाई समेत वित्तीय क्षेत्रबारे राम्रो जानकारी नभएको हामीले पाएका छौँ । त्यसमाथि शहरमा देशका हरेक कुनाबाट मानिसहरु आएर बसेका छन् । काठमाडौं उपत्यकाभित्र अत्यधिक जनसंख्या छ । यसमध्ये आधाभन्दा बढी जनसंख्या सोचेभन्दा विपन्न र आर्थिक अवस्थामा कमजोर छ, जसको काठमाडौंमा समृद्धि हुने सपनामात्रै छ । त्यसमाथि टेक्नोलोजीको विकास र विस्तारलाई हामीले एक्स्पोमा फोकस गरेका छौं । फाइनान्सीयल टेक्नोलोजी बुझ्नका लागि पनि बैंकिङ एक्स्पोमा आउनै पर्ने हुन्छ ।
० वित्तीय जागरण राष्ट्रिय अभियानको आगामी योजना के–के छन् ?
हामी विशेष गरेर हरेक नागरिकलाई सरकार र राज्यबाट आशा गर्ने होइन, वित्तीय क्षेत्र र ती निकायका बारे बुझेर आफ्नै परिश्रममा उद्यमी बन्ने हो भन्ने चेतना अभिबृद्धि गर्ने अभियानमा छौं साथै वित्तीय संस्थाहरु विपन्न वर्गका लागि पनि हो, ती संस्थाहरुले विपन्न वर्गलाई उद्यमी बनाउन सक्नुपर्छ भन्ने हाम्रो अभियान हो । सँगसँगै कम्तिमा म्यानेजमेन्ट अध्ययन गरिरहेका युवा पुस्तालाई ‘विदेश नताक, स्वदेशमा उद्यमी बन’ भन्ने सन्देश पनि हो । यसकारण तत्काल काठमाडौंको भृकुटीमण्डपमा मंसीर १ र २ गते सञ्चालन हुने बैंकिङ एक्स्पो (बैंक, बीमा र सेयर बजार प्रदर्शनी) मा सहभागी हुन सबैलाई अनुरोध गर्दछु । यसपछि हाम्रो यात्रा विकट जिल्लातिरै केन्द्रीत रहन्छ । मूलतः देशमा धेरै राजनीतिक परिवर्तन भए तर खास आवश्यक परेको विकास, आम नागरिकको जीवनस्तर उकास्ने कुरा र आर्थिक समृद्धि अनि उद्यमशीलता जस्ता विषयले सोचेजस्तो उपलव्धि हासिल हुन सकेको छैन । यही सचेतना गराउने एवं वित्तीय संस्था र नागरिकलाई जोड्ने हाम्रो अभियान रहने छ ।
प्रकाशित समय १७:११ बजे