अचाक्ली कर थोपरेर उद्योग ध्वस्त पारिंदैछ (अन्तर्वार्ता)
सचित प्रसाद जोन्छें, अध्यक्ष तथा प्रबन्ध निर्देशक, संकटा वाइन एण्ड वेभरेज प्रा.लि.

० तपाईंहरूको उद्योगका अवस्था कस्तो छ अहिले ?
हामीले नेपालमै उद्योग स्थापना गरेर नेपालीलाई नै रोजगारी प्रदान गर्ने उद्देश्य लियौं । शुरुमा छ करोडको लगानीमा स्थापना गरिएको उद्योगमा हाल १२ करोडभन्दा बढी लगानी भइसकेको छ । हामीले उत्पादन गरेको क्यानभास वाइनको बजारमा राम्रो फिडव्याक आएको छ । हामीले क्वालिटी पनि राम्रो दिएका छौं ।
० राम्रो क्वालिटीको कुरा गर्नुभयो, अन्य उद्योगहरूभन्दा तपाईंहरूकोमा के भिन्नता छ ?
जुनसुकै वस्तुको उत्पादन गर्दा ‘क्वालिटी’लाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । हामीले पनि त्यसलाई पहिलो प्राथमिकता दिएका छौ । वाइन इण्डष्ट्रिहरू त धेरै छन् नेपालमा । तर हाम्रो वाइनको क्वालिटी एकदमै राम्रो छ । खासगरी हामीले विदेशी लेभलको टेष्ट र क्वालिटी मेन्टेन गरेका छौं ।
० कच्चा पदार्थचाहिं कहाँबाट ल्याउनुहुन्छ ?
हामीले पाएसम्म नेपालमा उपलब्ध कच्चा पदार्थ प्रयोग गर्छौ नपाएको अलिअलि खरीद गर्छौ । अंगुर भनेको ‘सिजनेवल’ फलफुल हो । ३÷४ महिनाको अवधिमा हामीले अंगुर खरिद गरेर एक वर्षको लागि स्टक मेन्टेन गर्ने हो । अंगुर ल्याएर तत्काल त्यसलाई क्रसिङ गरेर त्यसलाई फर्मिटेसिङमा हालेर त्यसपछि प्रोसेसिङमा हामी लान्छौं । प्रत्येक महिना आयात गर्ने भन्ने हुन्न । सिजनमा चाहिं उठाएर एक अथवा डेढ वर्षको लागि कति, न्यूनतम एक वर्षको स्टकचाहिं मेन्टेन गर्छौं, त्यो भन्दा बढी अर्को वर्षदेखि लगभग दुई वर्षको चाहिं स्टक मेन्टेन गर्दै जाने भन्ने हामीले एउटा योजना बनाइराखेका छौं । त्यसमा के हुन्छ भनेदेखि जति बढी वाइनलाई स्टक गर्न सक्यो अथवा स्टोर गर्न सक्यो, त्यसको क्लालिटी पनि त्यति नै राम्रो हुँदै जान्छ । हामीले राम्रो गुणस्तरको लागि पनि अँगुरकै वाइन बनाएका हौं । देशभित्र उद्योगहरूको विकास र विस्तारमा जोड दिनुपर्छ भन्ने उद्देश्यले पनि उत्पादन गरेका हौं । आफ्नै देशमा कच्चा पदार्थ उत्पादन भए त राम्रो हो, तर नभएपछि बाहिरबाट ल्याएरै भए पनि उत्पादन गर्नुप-यो । केही असहज त भइहाल्छ नि ।
० अरु क्षेत्रमा लगानी गर्नुको सट्टा वाइन कम्पनीमा नै किन गर्नुभयो ?
यो क्षेत्र रोज्नुको कारण चाहिं यो फलफूलमा आधारित चिज हो । नेपाल पनि गे्रप्सको सम्भावना भएको चिज हो । हामीले विभिन्न ठाउँमा माटो परीक्षण पनि गरेका छौं । वाइन प्रोडक्सन एउटा पाटो भयो, त्यो भन्दा अर्को पाटोचाहिं कृषिलाई पनि सपोर्ट गर्न सकिन्छ । कृषिको लागि नेपालमा धेरै सम्भावना छ, त्यसैमा हामीले भोलि गएर यहीं अंगुर उत्पादन गरेर त्यसलाई वाइनमा कन्भर्ट गर्न सकिन्छ । अहिले नै अंगुर उत्पादन गर्न एउटा निश्चित समय त लाग्छ । अहिले माटो परीक्षणको क्रममा गइराखेका छौं, कुन क्षेत्रमा गर्ने भनेर छनौट गर्ने काम भइरहेको छ, त्यो हिसाबले गर्दा चाहिं एउटा इण्डष्ट्रिबाट दिने रोजगार आफ्नो ठाउँमा भयो, सँगसँगै कृषिलाई पनि सपोर्ट गर्न सकिन्छ, एग्रोबेस इण्डष्ट्रिमा लाग्न सकिन्छ वाइन भन्ने हिसाबले चाहिं हामी यसप्रति आकर्षित भएका हौं ।
० वाइन उद्योगहरूलाई सरकारको तर्फबाट कत्तिको सहयोग प्राप्त छ ?
वाइनलाई सरकारले ह्विस्की, भोड्का जस्तो तरिकाले हेरिदिइराखेको छ । यो चाहिं फलफूलमा आधारित इण्डष्ट्रि भएको हुनाले थोरै यसलाई अलिकति सहज तरिकाले एउटा बाटो बनाइदियो भने यो इण्डष्ट्रिको बृद्धि पनि राम्रो छ । अरु हिसाबले सरकारलाई सपोर्ट पनि हुन्छ र रोजगारीको राम्रो अवसर सिर्जना गर्न सकिन्छ । सरकारले त्यो क्षेत्रमा रिसर्च गरेर, प्लानिङ गरेर ल्याइदियो भने हामी लगानीकर्तालाई पनि सहज हुन्छ । तर अहिले त भइरहेको उद्योगलाई पनि धराशयी बनाउने काम सरकारको तर्फबाट भएको छ । हामीले विदेशी वाइनहरूसँग प्रतिस्पर्धा गरेर बेच्नै नसक्नेगरी अन्तशुल्क लगाइदिएको छ । स्वदेशी उद्योगहरूको उत्पादनलाई सरकारले सहयोग गर्नुपर्ने हो । भन्ने बेलामा व्यापारघाटा ठूलो भयो भन्ने अनि स्वदेशी उद्योगहरूलाई ध्वस्त बनाउने खालका ऐन, नीति–नियमहरू लाद्ने सरकारको रवैया ठीक छैन ।
० सरकारको तर्फबाट के चाहिं सहयोग नभएको हो उद्योगको विकास र विस्तारका लागि ?
यहाँ नीतिगतरुपमा नै अप्ठेरो भएको छ । जुनसुकै क्षेत्रमा लगानी गर्दा शुरुमै नाफा हुन्छ भन्ने होइन, ‘लङटर्म’ सोच राखिएको हुन्छ । त्यसैअनुसार लगानी गरिएको हुन्छ । तर यहाँ त आज इन्भेष्टमेण्ट ग-यो, भोलि नै अर्कोखालको नीति आइदिन्छ । लगानीको सेक्युरिटी नै छैन । त्यसको सेक्युरिटी गरिदिने काम त सरकारको हो नि । भन्नेबेलामा विदेशी लगानी आकर्षित गर्ने, समृद्ध नेपाल सुखी नेपालीको नारा दिने, स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्ने भन्ने तर व्यवहारमा चाहिं भइरहेकै उद्योगहरूलाई समेत ध्वस्त पार्ने खालको काम भइरहेको छ ।
० स्पष्टरुपमा भनिदिनुस् त, तपाईंहरूका उद्योगहरू धराशयी पार्ने कामचाहिं कसरी भयो त सरकारी पक्षबाट ?
चाहे स्वदेशी लगानी होस् या विदेशी, ती सबैले लगानी गर्ने भनेको त्यो देशको पोलिसी हेरेर हो । दीर्घकालीन सोच राखेर लामो समयका लागि लगानी गरिन्छ उद्योगमा । आजको भोलि नै ‘रिटर्न’ गर्ने चिज होइन यो क्षेत्र भनेको । उद्योगहरूमा लगानी गर्दा विभिन्न मेशिनरीहरूको आवश्यकता पर्दछ । ती मेशिनरीहरूको मूल्य ज्यादै महँगो हुन्छ । उद्योगहरूका लागि ठाउँ चाहिन्छ । विभिन्न मापदण्डहरू हुन्छन् । ती पूरा गर्दागर्दै करोडौं लगानी भइसकेको हुन्छ । विभिन्न नीति–नियमहरूको पालना गरेर बल्ल उद्योग स्थापना भएर उत्पादन शुरु हुन्छ । उत्पादन भएको सामानले बजारमा पुरानाहरूसँग प्रतिस्पर्धा गरेर खरो उत्रनुपर्छ । उपभोक्ताहरूको मन जित्नुपर्छ । बजारमा बल्ल स्थान पाउन सकिन्छ । यति धेरै कुराहरू गर्दा एकदमै ठूलो लगानी भइसकेको हुन्छ । तत्काल ‘रिटर्न’ हुन नसके पनि लगानी थप्दै–थप्दै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसरी बल्ल–तल्ल उत्पादनले बजारमा चिरपरिचित हुने अवस्था भइसक्दा–नसक्दै यहाँ पोलिसी चेन्ज हुन्छ । फेरि विभिन्न किसिमका बाधा–व्यवधानहरू थपिन्छन् । अनि हामी उद्योगीहरूले कसरी ‘सस्टेन’ गर्ने ? कसरी बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ? त्यो त सम्भवै हुँदैन । विदेशी लगानीकर्ताको हकमा पनि त्यही नै हो । उनीहरूले यहाँ आएर लगानी गर्ने भनेको दीर्घकालीनरुपमा फाइदा गरेर ‘रिटर्न’ पाउन सकिन्छ कि सकिंदैन भनेर हेर्ने हो । उनीहरूले त विगतदेखि नै नेपालमा उद्योगहरूको स्थिति के छ ? लगानी गर्दा त्यसबाट फाइदा पाउन सकिन्छ कि सकिंदैन ? पोलिसीहरू कत्तिको परिवर्तन भइरहन्छन् ? त्यो देशमा लगानीमैत्री वातावरण छ कि छैन ? राजनीतिक स्थिरता र आर्थिक स्थायित्व कत्तिको छ ? यी सबै कुराहरूको ‘एनालाइसिस’ गरेरमात्रै उनीहरूले हाम्रोजस्तो देशमा लगानी गर्ने हुन् । यहाँ विदेशीहरूलाई समेत दिल खोलेर लगानी गर्ने वातावरण खोई ? हामीले शुरुमा लगानी गर्दाको अवस्थामा प्रतिलिटर ७२ रुपैयाँ अन्तशुल्क तिर्नुपर्दथ्यो । अहिले प्रतिलिटर १३५ रुपैयाँ पु-याइएको छ । त्यसो हुँदा हामीले उत्पादन गरेको सामानको मूल्य विदेशबाट आयात गरेको वाइनहरूको भन्दा महँगो हुन्छ । अनि कसरी विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले सोचेको खोई ? हाम्रो करोडौं रुपैयाँ लगानी डुबाइदिने ? यहाँ त इन्भेष्टरले एउटा प्लानिङ्ग गर्छ, सरकारले अर्को तरिकाले गर्छ । पोलिसी लङ्ग टर्म आउनुप-यो, पोलिसी उद्योगमैत्री हुनुप-यो । कच्चा पदार्थ स्वदेशकै होस् या विदेशबाट ल्याएर गरिएको उत्पादन होस्, यहाँ उत्पादन गरिएका सबैमा एउटै अन्तशुल्क हुनुप-यो, तर यहाँ त सरकारले ठूलो विभेद गरेको छ । अचाक्ली कर थोपरेर उद्योग ध्वस्त पारिंदैछ ।
० हरेक वर्षका बजेट भाषणहरूमा सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरिनेछ भन्छ, व्यवहारमा चाहिं उल्टो देखिएको हो त ?
हो । सरकारले बजेट भाषण जनता लोभ्याउने खालको ल्याउँछ । फुलबुट्टा भरेर ल्याउँछ । उद्योगहरूको बृद्धि, व्यापार घाटा घटाउने, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने आदि–आदि । तर व्यवहारमा चाहिं चर्को अन्तशुल्क लगाएर उद्योग धान्नै नसक्ने बनाइएको छ । विभिन्न खालका झन्झटहरू लगाइएको छ । चर्को अन्तशुल्क लगाएर हाम्रो उद्योग नै मर्नु न बाँच्नुको अवस्थामा पु¥याइएको छ । त्यो कुरा तत्काल फिर्ता गर्नुपर्छ ।
० त्यसो भए कुरा एकातिर काम अर्कैतिर भएको हो ?
एकदमै सही भन्नुभयो । दुईतिहाईको सरकार आयो । अब सरकारले यहाँको डोमेष्टिक इण्डष्ट्रिलाई प्रोत्साहन गर्छ भन्ने लागेको थियो । तर भइदियो ठ्याक्कै उल्टो । यस्तै स्थिति रहिरह्यो भने मुलुकबाट अब अवश्य पूँजी पलायन हुन्छ । यसलाई कसैले रोक्न सक्दैन ।
० चर्को कर, अन्तःशुल्कहरू लगाएकै कारण उद्योग धराशयी बन्ने स्थिति हो ?
यदि यो सरकारले यसमा पुनरावलोकन गरेन भने हामीले उद्योग सञ्चालन गर्नसक्ने अवस्था नै हुँदैन । पछिल्ला दुई महिनाको तथ्यांक हेर्ने हो भने विदेशबाट वाइन आयातका लागि देखिएको आँकडा निकै माथि छ । विदेशमा उत्पादन भएका वाइनहरू सस्तोमा नेपाल आइपुग्छन् तर नेपालकै वाइनचाहिं त्यो भन्दा महँगो बनाइएको छ, चर्को कर र अन्तःशुल्कका कारणले । त्यसो भएपछि हाम्रा उद्योग धराशयी हुने नै भए । अब त अति नै भइसक्यो । विदेशीसँग प्रतिस्पर्धा नै गर्न नसक्ने स्थिति सरकारले बनाइदिएको छ, यसले स्वदेशी उद्योगहरू बन्द हुने स्थितिमा छन् । यो क्षेत्रमा अध्ययन गहिरोसँग नगरी चर्को कर लगाउँदाको परिणाम हो यो ।
प्रकाशित समय १५:१२ बजे