टानलाई सबैले गर्व गर्नसक्ने गरिमामय संस्था बनाउन निःस्वार्थ ढंगले लाग्नेछु

ट्रेकिड ब्यबसायमा लागेको पनि करिब दुई दशक नाघेछ । १९९६ तिर यो व्यवसायमा प्रबेश गर्दा ईमेल तथा ईन्टरनेटको पहुँच थिएन । मध्यम परिवारको भएकोले खान लाउनकै निम्ति भौतारिनुपर्ने अवस्था भने थिएन । जीवनमा केही गर्नु पर्छ भन्ने दृढ अठोटले गर्दा शुरुवातीको केही समयबाहेक त्यति धेरै हैरानी र निराशा कहिल्यै छाएन । केही सयय भारी बोकेर पोटर हँुदै १९९८ मा गाईड ट्रेनिङ्ग गरी सन् २००० मा ट्रेकिङ कम्पनी स्थापना गरि अनबरत रुपमा पर्यटन क्षेत्रमा क्रियाशील छु ।
हाल आशाही गु्रप अफ कम्पनीको अध्यक्ष रही आशाही ट्रेक्स एण्ड एक्पिडिसन, हिमालयन ईन्टरनेशनल योगा एकेडेमी, ट्रष्ट एण्ड केयर मन्टेश्वरी, ब्युटिफुल काठमाण्डू होटल र होटल उडल्याण्ड काठमाण्डू सञ्चालन गरिरहेको छु । प्रत्यक्षरुपमा करिब २ सय ५० जनालाई रोजगारी सिर्जना गर्दै आफू पनि सधै पर्यटनसँग सम्बन्धित हरेक विधामा सरिक भइराखेको छु ।
पदयात्रा पर्यटनमा लागेको दुई दशकको दौरानमा भोगेका भोगाई, कठिनाई, अवसर तथा पर्यटन क्षेत्रका तमाम नीतिगत समस्या, पदयात्रा गर्दा आइलाग्ने विपति, विश्व पर्यटन र हाम्रो अवस्था, टानको विगत र वर्तमान अबस्थासँग अत्यन्त सुक्ष्म ढंगले जानकार छु । पत्रकारिताको विद्यार्थी तथा व्यवसायीको नाताले विभिन्न समयमा आफ्नो बिचार तथा आलेख प्रष्टसँग राख्दै आयको छु । त्यसैले पदयात्रा क्षेत्रका अग्रज व्यवसायीहरुको लामो संघर्ष र युवाहरुको आशा र भरोसा रतिभर डग्न दिने छैन ।
पर्यटन क्षेत्रमा लामो समयसम्म कार्य गरेको एक अनवरत यात्रीको कारणले पर्यटन क्षेत्र मेरो लागि एउटा सुनौलो संसार हो । पर्यटन क्षेत्रमा रहेको अबसर, हुने तमाम विकृति, विसंगति, पदयात्रा पर्यटन क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधार, गैरव्यवसायीबाट हुने पदयात्रा सञ्चालन, मजदूरका तमाम कठिनाई, पर्यटन बोर्डसँगको समझदारी तथा पदयात्रा क्षेत्रको बारेमा गर्नुपर्ने प्रवद्र्धन र विकास मौसमको प्रतिकुलताले गर्दा हुने समस्या यी विविध कुराहरुका बारेमा आवश्यक परे ७ दिन ७ रात पनि बहस गर्न सक्दछु ।
यति हुँदाहँुदै टानलाई कसरी गरिमामय संस्थाको रुपमा अगाडि बढाउने, सचिवालयलाई कसरी अत्यधिक प्रविधिको उपयोग गरी व्यवस्थित गर्ने तथा पारदर्शी बनाउने, आर्थिक अनुशासन तथा मितव्ययी कसरी बनाउने निर्णयहरुलाई सबै सदस्य कम्पनीमा तुरुन्त जानकारि दिने, अग्रजहरुलाई सम्मान तथा युवाहरुलाई समेट्दै गतिशीलता बढाउने मोटिभेशनल ट्रेनिङ्ग दिने आदि–इत्यादि कार्य लाई अगाडि बढाउने छु ।
पदयात्रा पर्यटनमा लामो समय व्यतित गर्दै ताप्लेजुङदेखि उपल्लो मुस्ताङ, लाङटाङ, गणेश हिमालदेखि थोरोङ्ला, सगरमाथादेखि रोल्वालिङ, चुम भ्यालिदेखि मनास्लुका तमाम डाँडाकाँडा र पखेरीहरुसँग पांैठेजोरी र लुकामारी खेल्ने अवसर र भोगाई मिलेको छ । एसिया र युरोपका करिब सबै राष्ट्र, अष्टेलिया, क्यानाडा, बेलायत तथा अमेरिका गरी करिब ५०–५५ देशको यात्राबाट सिकेको ज्ञान, सिप, भरियादेखि अहिलेसम्म अनवरत यो पेशामा लागेको भोगाई र अनुभबबाट सिकेको कुरा व्यवहारमा लागू गर्नेछु ।
विभिन्न कालखण्डमा सन् २००४–२००६ मा पर्यटन सेवा संघको उपाध्यक्ष, २०११–१३ मा टान कार्यसमितिको कोषाघ्यक्ष, लायन बर्ष २०१६ क्लब अध्यक्ष, लायन्स क्लब नेपाल टुरिजम हाल रिजन चेयर पर्सन, नेपाल योगा एसोसियसन उपाघ्यक्ष, नेपाल उद्योग तथा व्यवसायी महासंघ केन्द्रीय सदस्य २०६७, आशाहि गु्रप अफ कम्पनीको अध्यक्षको रुपमा यस क्षेत्रमा क्रियाशील छु ।
सधै आजीवन पेन्सन पकाउने जस्तोगरी संघ–संस्थामा झुण्डिने प्रवृत्ति र मान्यता कदापि राख्दिन । पदमा बस्दा सिन्को नभाँच्ने अर्कालाई दोष थुपार्ने र सधैं आफूलाई केन्द्रविन्दुमा राखी सधैं सहयात्रीहरुलाई चुनाव आएको बेलामात्र अनेकन आश्वासन बाँड्दै अस्वभाविकढंगले मीठा–मीठा कुरा गर्दै ललिपप बाँड्दै हिंडने कार्य पनि गर्दिन । आफ्नो व्यवसायिक पृष्ठभूमिले सिकाएको व्यवस्थापकीय ज्ञान र क्षमता, आफूले जानेको बुझेको सिप, ज्ञान, अग्रज तथा युवा साथीहरुको सुझाव धारणालाई मनन गर्दै टानलाई सबैले गर्व गर्नसक्ने गरिमामय संस्था बनाउन अबको दुई वर्ष हर दिन रात नभनी निःस्वार्थढंगले लाग्नेछु । कुरा होईन काम गरेर परिणाम निकाल्ने दृढ संकल्प राखेको छु ।
प्रकाशित समय २१:२९ बजे