MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

कमिशनतन्त्र र ठेकेदारी प्रथालाई ठूलो झापड

तोकेभन्दा कममा बने घरहरु, बचेको रकम नेपाल सरकारलाई फिर्ता

काठमाडौं । वर्षौंदेखि ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदारहरुका लागि नेपाली सेनाको कामले ठूलो पाठ सिकाएको छ । गत चैत्र १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीसहितको चक्रवत तथा असिना पानीका कारण स्थानीय घरहरुमा क्षति पुगेपछि नेपाली सेनालाई ती घरहरुको निर्माणको जिम्मा दिइएको थियो । सेनाले समयमा नै घर बनाई हस्तान्तरण गरेको छ । हावाहुरीबाट विस्थापित भएका विपद् प्रभावितहरुको पुनस्र्थापना र घर पुनर्निर्माणको लागि नेपाली सेनालाई परिचालन गर्ने नेपाल सरकार मन्त्रिपरिषदले गत चैत्र २१ गते निर्णय गरेर वैशाख २१ गतेदेखि पुनर्निर्माणको काम थालनी गरिएको थियो । करिब पाँच महिनाको अवधिमा नेपाली सेनाले घर निर्माण कार्य सम्पन्न गरेपछि कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे तथा विभिन्न सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थितिमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतबाट सम्बन्धित महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई निर्माण भएका घरहरुको प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।


हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो गौरवपूर्ण परम्पराको निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्न गरेकोमा प्रधानमन्त्रीबाट प्रशंसा एवं धन्यवाद व्यक्त गर्नुभएको सन्देश सुनाएका थिए । सोही क्रममा उनले नेपाली सेना र विशेषगरी जनता आवास पुनर्निर्माणमा खटिएका सबैलाई प्रशंसनीय ढंगले महत्वपूर्ण काम सम्पन्न गरेकोमा विशेष धन्यवाद दिएका थिए । कार्यक्रममा उनले सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने बाहिनी र गणहरु तथा आपूर्तिकर्ताहरुलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विपद् प्रभावितहरुको पुनस्र्थापना र घर पुनर्निर्माण कार्यको लागि नेपाल सरकार र प्रधानमन्त्रीलाई विशेष धन्यवाद दिंदै नेपाली सेनाले मितव्ययीतालाई ध्यानमा राखी समयमा कार्य कुशलताका साथ निर्माण कार्य सम्पन्न गरेकोमा प्रधानसेनापतिलगायत सो कार्यमा खटिएका सकलदर्जाको सराहना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘राष्ट्र सबैभन्दा पहिला’ तथा ‘कर्तव्य सधै पहिला’ भन्ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीलाई सम्पन्न गर्न नेपाली सेना सदैव प्रतिवद्व रहेको बताए । थापाले यस किसिमका विपत्तीहरुमा नेपाली सेनाले भविष्यमा समेत आफ्नो जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।
नेपाली सेनाले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत बारा जिल्लाको विभिन्न पाँच स्थानमा ३ सय ४ वटा र पर्सामा जिल्लाको विभिन्न ७ स्थानमा ५ सय ६५ गरी जम्मा ८ सय ६९ घरहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।
उक्त जनता आवास कार्यक्रम अन्तरगत प्रति घर ५ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ ८८ पैसा निकासा भएकोमा नेपाली सेनाले मितव्ययीतालाई प्राथमिकता दिई प्रति घर ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ ६० पैसामा निर्माण सम्पन्न गर्न सफल भई प्रतिघर ११.१९ प्रतिशत रकम बचत गरी सो रकम नेपाल सरकारलाई फिर्ता गरेको छ ।

प्रकाशित समय २२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु