माछापुच्छ्रे बैंकले शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको १६ प्रतितशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५/७६ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभरका १५७ वटा एटिएम, १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवासमेत गरी जम्मा २५७ स्थानवाट ग्राहकहरुलाई सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।
प्रकाशित समय ०९:४९ बजे




















