भारतबाट अवैधरुपमा ल्याइएका लाखौं रुपैयाँका खसीसहित दुई व्यक्ति समातिए

काठमाडौं । भारतबाट अवैधरुपमा ल्याइएका एक सय ४० वटा खसीसहित दुईजनालाई सशस्त्र प्रहरी बलको टोलीले बर्दियाको गुलरिया नगरपालिका–१२ स्थित टनसपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षीय केशव घर्तिमगर र सोही नगरपालिका २ बस्ने २२ वर्षीय डम्बर ठकुरी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेडक्वार्टर बर्दियाबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको हो । भारतबाट अवैधरुपले ना ६ ख ९४९२ नम्बरको ट्रकमा राखेर ती खसीहरु ल्याउँदै गरेको अवस्थामा उक्त ट्रकका चालक तथा सहचालकलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद खसी तथा ट्रकसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार दाखिला मूल्य करिव ४९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको एपीएफको टोलीले करिब एक लाख ६० हजार रुपैयाँ बराबरको २० वटा खसी बरामद गरेको छ । एपीएफ टोलीले बरामद खसी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौला कैलालीमा बुझाएको छ ।
प्रकाशित समय २१:५८ बजे