प्रभावकारी बन्दै नेपाल लाइफ इन्स्योरेन्सको सदावहार जीवन बीमा योजना

सम्पूर्ण बीमा बजारको करिब ३२ प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको सदाबहार जीवन बीमा योजना सफल बन्दै गएको छ । चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रहेको नेपाल लाइफको १ लाख २७ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले देशभर करिब १ सय ७९ भन्दा बढी शाखा तथा उपशाखामार्फत् जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले स्वदेश र विदेशमा गरी करिब २६ लाखभन्दा बढी व्यक्तिको बीमा गरिसकेको छ । १८ वर्षदेखि जीवन बीमाको क्षेत्रमा क्रियाशील नेपाल लाइफले विभिन्न खालका बिमा योजना सञ्चालनमा ल्याएको छ । ती योजनाहरूमध्ये सबैभन्दा पछाडि कम्पनीले नेपाल लाइफ सदाबहार जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न थप ऐच्छिक सुविधासहित यो योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
यो बीमा योजना खरिद गर्नका लागि ११ वर्ष पुगेको हुनुपर्छ भने ६५ वर्ष ननाघेको हुनुपर्नेछ । ऐच्छिक सुविधा प्रवेश उमेर (दुर्घटना मृत्यु लाभ, बिमाशुल्क छुट सुविधा र अशक्त सुविधा) लिनका लागि १६ वर्ष र (घातक रोग सुविधा) लिनका लागि १८ वर्ष हुनुपर्नेछ । यस योजनामा न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्षको हुनेछ भने अधिकतम बिमाशुल्क भुक्तानी अवधि २० वर्षको हुनेछ । बिमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । बिमाशुल्क भुक्तानी तरिका एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक रहेको कम्पनीले जनाएको छ ।
यस बीमा योजनाअनुसार बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि वार्षिक २ किस्ता बीमाशुल्क प्राप्त भएपश्चात् बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम प्रत्येक वर्ष बीमा अवधि समाप्तिसम्म बीमितलाई भुक्तानी गरिन्छ । बीमालेख चालू रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा प्रत्येक वर्ष ५ प्रतिशतका दरले प्रदान गरिने रकम कट्टा गरी बाँकी हुन आउने बिमांक रकम र आर्जित बोनस बिमालेख अवधि समाप्तिमा एकमुष्ट दिइनेछ । बिमालेख चालू भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बिमांक रकम र नियमअनुसारको बोनस रकम एकमुष्ट प्रदान गरिने छ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आंशिक भुक्तानी गरेको रकम कट्टा गरिनेछैन । एकल बिमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बिमितले इच्छ्याइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बिमितको मृत्यु भएमा पुनः बिमांक बराबरको रकम प्रदान गरिने छ । सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख परिपक्व भएमा बिमा शुल्क भुक्तानी अवधिपश्चात्को थप सुरक्षा अवधिमा कुनै घटना भएमा घटनाबापतको रकम प्रदान गरिनेछैन । साथै एकल बिमाशुल्क भुक्तानी योजनामा बीमा योजना शुरु भएको १ वर्षभित्र कुनै पनि कारणले बीमितको मृत्यु भएमा एकल बिमाशुल्कको ८० प्रतिशतले हुन आउने रकम र २ वर्षभित्र कुनै पनि कारणले बीमितको मृत्यु भएमा एकल बीमाशुल्कको ८५ प्रतिशतले हुने रकम रकम भुक्तानी गरी सो बिमा योजना रद्द गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय २०:२५ बजे