1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

योग प्राकृतिक चिकित्सासम्बन्धी पाठ्यक्रम तयार

आवश्यक तयारीपछि सुझाव कार्यान्वयन गर्ने मन्त्री पोखरेलको प्रतिवद्धता

काठमाडौं । योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका योग एवं प्राकृतिक बिषय समितिका अध्यक्ष डा.हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो ।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले आवश्यक तयारी र छलफलपछि समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो विषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने पनि बताए ।
समितिले योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा बिद्यार्थीहरुको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक बिषयहरु तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ ।
नयाँ पाठ्यक्रममा नेपालको जडिबुडीसम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा.पोखरेलको भनाई छ ।
नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखि नेपालका बनजंगल जडिबुडीको अध्ययन गर्न सकिने पोखरेलले बताए । योगमाया विश्व विद्यालय बन्दै गरेको स्मरण गर्दै संयोजक पोखरेलले यसबाट उच्च शिक्षा पढ्न समेत सुनिश्चतता हुने बताए ।
समितिका सदस्यहरुमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा. नन्दबहादुर सिंह, डा. शेषराज आचार्य, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौंडेल, सञ्जिवकुमार राई रहेका थिए भने सदस्य सचिव प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पाठ्यक्रम विकास महाशाखाका निर्देशक दिपकप्रसाद पौडेल रहेका थिए ।

प्रकाशित समय २२:२९ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु