नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सहयोग आदान–प्रदान हुने

ललिपतुर । ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका अध्यक्ष डा.रामकृष्ण श्रेष्ठले औपचारिकरुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले सो सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए । दुई अस्पतालबीच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो । प्रविधि, पूर्वाधार र चिकित्सकीय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा मध्यपुर अस्पतालका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गरे । अरबौ रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान रहनेमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले विश्वास व्यक्त गरे । सम्झौता अनुसार सम्भव भएका उपचार मध्यपुर अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य हुने भएको छ ।
प्रकाशित समय १२:०३ बजे