V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नाकामा रहेका नेपालीहरुलाई सरकारले गन्तव्यसम्म लैजाने

१४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने

काठमाडौं । विश्वव्यापीरुपमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त भइरहेको बेलामा नेपालमा नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समेत विभिन्न कामहरु गरिरहेको छ । समितिको आजै बसेको बैठकले वर्तमान अवस्थामा नेपालमा रहेका विदेशी नागरिकहरुको सुरक्षा नेपाल सरकारले गरिरहेको हुँदा विदेशमा रहेका नेपाली नागरिकहरुलाई सम्बन्धित मुलुकहरुबाट सुरक्षा व्यवस्था मिलाई आफू रहे–बसेको मुलुक छोड्नु पर्ने अवस्था आउन नदिन कूटनैतिक माध्यमबाट अनुरोध गर्ने निर्णय गरेको छ । साथै, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आफू रहेको मुलुकमा सुरक्षित र संयमितरुपमा रहन बस्न आव्हान गर्ने निर्णय गरेको छ । विदेशस्थित नेपाली नियोगहरुले विदेशमा रहेका नेपाली नागरिकहरुको लागि नियमित सूचना प्रवाह गरी नेपाल सरकारको निर्णय र चालेका कदमहरुको बारेमा अवगत गराउने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र ९ गतेको निर्णयानुसार चैत्र ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी नेपालको अन्तर्राष्ट्रिय सीमा नाकाहरुबाट आवागमन स्थगन गरेपछि यसअघि नेपालतर्फ यात्रा आरम्भ गरी विभिन्न स्थलगत सीमा नाकाहरुमा आइपुगी अलपत्र परेका नेपाली नागरिकहरुलाई एकपटकको लागि नेपाल प्रवेश गर्न अनुमति दिने निर्णय गरेको छ । यसरी प्रवेश हुने व्यक्तिहरुको अनिवार्यरुपमा स्वास्थ्य जाँच गरी कम्तिमा १४ दिन क्वारेन्टाइनमा रहने व्यवस्था सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले मिलाउने निर्णय पनि भएको छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान–धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–पोखरा र भेरी अस्पताल–नेपालगञ्जका प्रयोगशालाहरुमा कोरोना भाइरस (कोभिड–१९) टेस्टिङको कार्य यथाशीघ्र शुरु गर्ने निर्णय गरेको छ । यसका लागि आवश्यक परीक्षण सामग्री र तालिमको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ । ती स्थानहरुमा प्रयोगशाला परीक्षण सेवा सञ्चालन नभएसम्मका लागि विराटनगर र नेपालगञ्जबाट ‘स्वाव’ संकलन गरी हवाइमार्गबाट काठमाडौं ल्याउने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय भएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु मित्रराष्ट्र चीन र भारतबाट शीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको छ ।
संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण र उपचारका सामग्रीको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनिक सूचना जारी गर्ने भएको छ । यस सम्बन्धि विषयमा सम्भावित आपूर्तिकर्तासँग भोलि नै छलफल गरी त्यस्ता सामग्रीको आपूर्ति यही १५ गतेभित्र गर्ने व्यवस्था मिलाउने, आपूर्ति गरिने त्यस्ता सामग्रीको ढुवानी गर्न कुनै समस्या देखिएमा नेपाल सरकारले सोको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
सवारी आवागमनको हकमा कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ–संस्थाहरुलाई छुट दिने, साथै प्रेस पास प्राप्त गरेका सञ्चारकर्मी तथा स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिष्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र बिक्री–वितरणमा संलग्न हुने जनशक्ति लगायत स्वास्थ्य उपचारमा संलग्न सबैलाई निजको परिचयपत्रको आधारमा आवत–जावत गर्न दिने निर्णय गरेको छ ।
कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पु¥याउन नेपाल सरकारले ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ स्थापना गरिसकेको सन्दर्भमा सोही प्रयोजनका लागि अन्य कुनै निकाय वा संघ–संस्थाले छुट्टै कोष स्थापना नगर्ने, यदि छुट्टै कोष खडा गरिसकेको भएमा त्यस्तो कोषमा आफू मातहतका संघ–संस्था तथा व्यक्तिबाट मात्र रकम जम्मा गर्ने र यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा अनिवार्यरुपमा जम्मा गर्ने र यसको जानकारी सार्वजनिक सूचना जारी गरी सबैलाई दिने निर्णय गरेको छ ।
नोबल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको छ । यस सम्बन्धमा समितिबाट भएका निर्णयहरु र यससम्बन्धी विषयमा कुनै सल्लाह, सुझाव वा जानकारी लिन र दिन र नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’मा रकम जम्मा गर्न समन्वय समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारी (९८४८५९४९८३) लाई सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010