अफवाह फैलाउने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालको आग्रह

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको, लाखौंमा यसको संक्रमण देखिएको र अर्बाैँ मानिस सन्त्रासमा रहेको विषय आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तासहित सम्पूर्ण जनसमुदायलाई अवगत नै छ । यस्तो जटिल अवस्थामा नेपाल सरकारले निकै गम्भीर र संवेदनशील बनेर अत्यावश्यकबाहेकका सेवा केही दिन रोक्ने घोषणा गरेको छ । यति गम्भीर अवस्थामा पनि केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला, अनुमानका आधारमा लापरबाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएको छ । संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरंगित बनाउने गरी केही मिडियामार्फत् अफवाह फैलाइरहेको देखिन्छ । प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ । साथै, प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना, समाचार सम्प्रेषण प्रवाह गर्न आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गर्दछ । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत् उजुरी सुन्ने गर्दै आएको छ । अतः कहीं कतैबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा उजुरी गरेर सहयोग गरिदिन पनि काउन्सिलले आग्रह गरेको छ । यसैबीच प्रेस काउन्सिल नेपाल बोर्ड र सचिवालयको संयुक्त बैठकले नेपाललगायत विश्वमै सिर्जित यस जटिल परिस्थितिमा तत्कालका लागि काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने कार्य, पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण कार्य स्थगित गरेको छ ।
मिडियाको काम, कर्तव्य र अधिकारवारे सबैलाई जानकारी नै छ, तैपनि बेलाबखत हुन जाने मानवीय त्रुटिप्रति सचेत होऔ । जनस्वास्थ्यसम्बन्धी भ्रम, उत्तेजना फैलने सामग्री जिम्मेवार सञ्चारकर्मी र सञ्चार माध्यमबाट सम्प्रेषण हुन गएको पाइएमा प्रेस काउन्सिल नेपाललाई तुरुन्तै जानकारी दिएर सहयोग गरौं ! कोरोना भाइरससम्बन्धी समाचारलगायत कुनै विषयमा तत्काल जानकारी लिन–दिन एवं मिडियासम्बन्धी अन्य उजुरीका लागि काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल (९८४१४८५५२९) र उपप्रशासकीय अधिकृत रामशरण बोहरा (९८५११११२७२) लाई सम्पर्क गर्न अनुरोध गरेको छ । साथै कुनै आमसञ्चार माध्यमबाट अफवाह फैलाउने सामग्री सम्प्रेषण भएको पाइएमा http://complain.presscouncilnepal.org मार्फत वा pcnmediamonitoring@gmail.com मा उजुरी गरेर सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।
प्रकाशित समय १०:१५ बजे