1100×100 Nabil Advert

राष्ट्रपति भण्डारीद्वारा पे्रस काउन्सिलको कामप्रति प्रशंसा

उन्नाइस जना पत्रकारले पाए विभिन्न पुरस्कार

काठमाडौं । प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले १९ जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित वार्षिकोत्सव समारोह कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गरेकी हुन् । सोही अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका ४ जना वरिष्ठ पत्रकारहरुलाई समेत सम्मानित गरिएको छ ।

प्रेस काउन्सिलका पूर्वअध्यक्षको नाममा स्थापित भएको १ लाख ५ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः वरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ् (कास्की) पुरस्कृत भएका छन् । त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादव धनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कारअन्तर्गत पदमसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादव, महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत भएका छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सञ्चार जगतलाई मर्यादित बनाउने, नियमन गर्ने एकमात्र अधिकारसम्पन्न आधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा आफ्नो कार्यक्षेत्र तथा कार्यक्षमता दुवैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिका निभाएकोमा खुशी व्यक्त गरेकी थिइन् । स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको प्रशंसा गरिन् । न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरी सम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पित श्रोतका नाममा व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको उनको धारणा थियो ।
सूचनामा यति शक्ति हुन्छ कि यसले मर्दै गरेको मान्छेको ज्यान बचाउन सक्छ भने कहिलेकाहीं गलत सूचना सम्पे्रषण भएमा निर्दोष व्यक्तिलाई मृत्युको मुखमा पु¥याउन पनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेही बनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जति कार्य गर्दैछ, त्यो निकै प्रशंसनीय रहेको उल्लेख गरिन् ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विभिन्न आन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रता हनन् गर्छन् भन्ने भन्ने भ्रममा नपर्न आग्रह गर्दै मिडिया काउन्सिल बनाउने समेत खुलासा गरे । पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रता विश्वमा कतै नभएको धारणा राख्दै मन्त्री बाँस्कोटाले सम्मानित तथा पुरस्कृत सबैलाई हार्दिक बधाई दिए ।

प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले सञ्चालन गरेको कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाले गल्ती सच्याउने तत्परता देखाउनु महान कर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणमा अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा सूचनातथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, सरकारी निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २१:२८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु