राज्यले यातायात व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

पोखरा । बागमती टिपर व्यवसायी संघ काभ्रेको एघारौं वार्षिक साधारणसभा सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए । साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनुपर्ने बताए ।
अहिले यातायात क्षेत्र विविध कानूनी जटिलताबाट गुज्रिएको र यसको समाधानका लागि महासंघले निरन्तररुपमा सरकारसँग लबिङ गर्दै आएको समेत बताए । अझै पनि यातायात क्षेत्रमा ढुक्क भएर लगानी गर्नसक्ने अवस्था नभएको, नबनी सकेको र राज्यले व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताए ।
बागमती टिपर व्यवसायी संघमा करिब ८ सय टिपर व्यवसायीहरु रहेका छन् भने साधारणसभामा करिब २ सय टिपर व्यवसायीहरुको सहभागिता रहेको संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए । साधारणसभाले टिपर व्यवसायीहरुको हक र हितका लागि सरोकारवाला निकायसँग थप छलफल गर्ने र संघमा आवद्ध व्यवसायीहरुको टिपर दूर्घटनामा परी अंगभंग भएका चालक, सहचालक घाइतेको परिवारलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
प्रकाशित समय ०८:०७ बजे