1100×100 Nabil Advert

देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आज यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको बताउनुभयो ।

 

‘यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो’, उहाँले भन्नुभयो । उहाँले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गर्नुभयो ।

 

‘नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ’, उहाँले भन्नुभयो ।

 

त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कर्मचारीको वृत्तिविकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रकाशित समय १८:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु