सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौं : चन्द्रागिरी हिल्स
काठमाडौं । चन्द्रागिरी हिल्सले सबैको साथले सेवा सुचार गर्न दृढ संकल्पित रहेको जनाएको छ । भद्रो २३ गते सोमबार राती जेन-जी प्रदर्शनका क्रममा भएको घटनापछिको हालको परिस्थितिलाई नियाल्दै चन्द्रागिरी हिल्सले भनेको छ- ‘पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन, विचलित भएका छैनौं । अठोट अझ दृढ छ, तपाईं-हामी सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित छौं ।’
विज्ञप्तिमा भनिएको छ, ‘जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य रहेको छ । तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड)को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ । हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन । यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौं शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।’
प्रदर्शनकै क्रममा मङ्गलबार अन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठुलो क्षति पुगेको छ । यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा हामी कति पनि विचलित भएका छैनौं । यहाँहरूले देखाउनु भएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौं । हामी पुनः उठ्ने छौं र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौं । हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौं । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौं ।
यस कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिनु भएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूले देखाउनुभएको सक्रिय सहयोग र तदारुकताप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं । साथै स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गर्दछौं ।
प्रकाशित समय ११:३४ बजे





















