बेलायत र भारतद्वारा नेपालको अन्तरिम सरकार गठनको स्वागत
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका लागि नेपाली आकाङ्क्षालाई समर्थन गर्ने जनाएको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ- ‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’ भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनताको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।
प्रकाशित समय ०९:४३ बजे


















