1100×100 Nabil Advert

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार छौं : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेन-जी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त हुनु भएकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो ।

 

प्रधान न्यायाधीशको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रको लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुको लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ ।

 

इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए । ‘हामी नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण बनाउने अपेक्षा गरेको छौं, अहिलेको अवस्थामा देशको पुर्ननिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौं’ उनले भने ।

 

अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताउँदै ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिइरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको बताए ।

प्रकाशित समय १३:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु