चन्द्रागिरी हिल्सले ल्यायो भक्तजनहरूको लागि विशेष टिकट अफर
काठमाडौं । अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ । साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्सले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो ।
कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ । साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ । चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ । सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र रू.४०० मा उपलब्ध हुनेछ ।
यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको हो । चन्द्रागिरी हिल्सले सबै श्रद्धालु भक्तजनहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न हार्दिक आमन्त्रण गर्दछ ।
प्रकाशित समय ११:४१ बजे




















