दिगो लगानीको लागि एनएमबि बैंकको पहल : आइएफसी, बीआइआइ र मेटलाइफसँग साझेदारी
काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी, बीआइआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमीहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्यसमेत लिएको छ । त्यसैगरी यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ ।
यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत् नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित समय २०:०२ बजे




















