1100×100 Nabil Advert

औद्योगिक वातावरण निर्माणका लागि एकद्वार प्रणाली लागू गर्नुपर्छ

हामीलाई तीन तहको सरकारले गर्दा थप समस्या भएको छ । पहिले एक ठाउँमा दर्ता भए पुग्थ्यो । तर अहिले धेरै ठाउँमा दर्ता गर्नुपर्ने, कर पनि एक ठाउँभन्दा धेरैमा बुझाउनु पर्ने अवस्था छ । अहिले नगरको मापदण्ड पूरा गरेर त्यहाँ दर्ता हुनु पर्‍यो । त्यसपछि प्रदेशमा दर्ता हुनका लागि पनि अर्को मापदण्ड पूरा गर्नुपर्‍यो, उद्योग विभागमा दर्ता गर्नु पर्‍यो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नु पर्‍यो । यो धेरैतिर दौडँदा-दौडँदै समय जान्छ । दर्ताको कामकै लागि परिवारका ३-४ जना मान्छे दौडेको-दौडै गर्नुपर्ने हुन्छ भन्नुहुन्छ गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष दीपक सापकोटा । उद्योगी व्यवसायीलाई अहिले धेरै किसिमका झन्झट रहेको बताउनुहुने अध्यक्ष सापकोटा जबसम्म हाम्रोमा एकद्वार प्रणाली लागू गरेर छिटोभन्दा छिटो उद्योग-कलकारखाना दर्ताको काम हुन सक्दैन, तबसम्म उद्योग गर्ने वातावरण बन्न सक्दैन भन्नुहुन्छ । प्रस्तुत छ, अध्यक्ष सापकोटासँग क्रसचेकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

० गैडाकोट उद्योग वाणिज्य संघको अहिलेको परिस्थिति के छ ?

हाम्रो अहिलेको अवस्था ठीकै छ । अहिले गण्डकी प्रदेशले हाम्रोमा महोत्वस पनि सञ्चालन गरिरहेको छ । गण्डकी प्रदेश महोत्वस केही दिनअघि मात्रै हामीले सकेको अवस्था छ । यसले यो क्षेत्रको आर्थिक अवस्थामा केही चलायमान बनाउनमा सहयोग पुगेको महसुस गरेका छौं । महोत्सव सञ्चालन गर्दा त्यो क्षेत्रका व्यवसायीहरूमा आर्थिक चलायमान बनाउनमा सहयोग पुग्दो रहेछ । अझै अहिलेको अवस्थामा सबै एक ठाउँमा जम्मा भएर नाच्ने-गाउने गर्दा पीडाका बीचमा पनि केही रमाइलो भयो । मेलाले सबैमा भेटघाटको वातावरण र दुख भुलेर एकछिन् भए पनि रमाउने अवसर पाइयो । नयाँ-नयाँ परिकारहरू पनि राखिएको थियो । त्यसमा पनि मानिसहरूको आकर्षण देखिएको थियो । आर्थिक चलायमान पनि भयो । उद्योगी व्यववसायीहरूमा पनि सम्भावनाको आशा छ कि भन्ने आश पलाएको छ ।

० अहिलेको यो महोत्सवले केही छोटो समयका लागि भयो । तर लामो व्यवसायीक वातावरणको कुरा गर्दा सबैतिर भयावह रहेको अवस्था छ । समग्रमा महोत्सवको समयमा भन्दा अरु बेलाको अवस्था के छ ?

नवलपुर जिल्ला एउटा औद्योगिक वातावरण भएको जिल्ला हो र यहाँबाट गण्डकी प्रदेशको ५० प्रतिशत राजश्व यही जिल्लाले उठाउँछ । अर्कोतर्फ यहाँ धेरै श्रमिकहरू रोजगारमा पनि रहेका छन् । तेस्रो पक्ष भनेको केही उद्योगहरूमा बाटो नबनेका कारणले गर्दा साना व्यवसायीहरू पलायन भएको अवस्था पनि हाम्रोमा रहेको छ । जिल्लाको आर्थिक चलायमानको कुरा गर्दा त्यति दयनीय अवस्थामा अहिले छैन । तर, मुख्य कुरा नयाँ उद्योग थपिन सकेका छैनन् । नयाँ उद्योग थपिनमा केही नीतिगत बारका कारण समस्या भइरहेको अवस्था छ । विभिन्न झन्झटिला प्रक्रियाले गर्दा नयाँ उद्योग खुल्ने अवस्था छैन । तर पुरानो उद्योग व्यवसायको अवस्था गैंडाकोटको हकमा ठीकै छ भन्नुपर्छ । जनप्रतिनिधिहरूले सोधेको बेला केही देखिदैन । तर, व्यवहारिकरुपमा दर्ता गर्न जाँदा निकै झन्झट व्यहोर्नुपर्ने अवस्था छ । सोच्दै नसोचेको समस्याहरू त्यहाँ आउँछन् । यसले गर्दा व्यवसायीहरू बसेर खाने, बरु जग्गा बेचेर बस्ने भन्ने गरेका छन् । यसले गर्दा नयाँ उद्योग स्थापना नभएको ३ वर्षभन्दा बढी भइसकेको छ । तर, समग्र रुपमा अरु जिल्लाको तुलनामा यहाँको व्यापार व्यवसाय चलायनमा नै रहेको अवस्था छ । सबै व्यवसायीहरूकोमा जाँदा उहाँहरूले भनेको आधारमा अहिले नयाँ थप हुन नसकेको अवस्था छ ।

० सबैले गुनासो गर्ने तर सहजिकरणको पाटोमा कसैको पनि ध्यान नगएको अवस्था हो ?

सबैले गुनासो गर्नेमात्रै अवस्था छ । त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा कसैको पनि ध्यान जान सकेको छैन । राज्यको निकायले माथिल्लो तहमा मात्रै राम्रो गरेको छु भनेको छ । तल्लो तहमा केही पनि गरेको अवस्था छैन । उद्योगी हुनका लागि एउटा सानो टपरी उद्योग, तरकारी उद्योगले नै विस्तारै ठूलो हुँदै जाने हो । त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्ने कुरामा ध्यानै दिइएको छैन । कृषि उद्योगलाई प्रवर्द्धन गर्ने प्रयास नै भएको छैन । सरकारले कृषिलाई यति बजेट दिएका छौं त भन्छ तर तलसम्म आइपुगेको अवस्था वा त्यसले परिणाम देखाउनेगरी काम हुन सकेको छैन ।

० तीन तहका सरकारबीचको अधिकारको लुछाचुडीले गर्दा पनि व्यवसायीहरूमा समस्या आएको हो ?

हामीलाई तीन तहको सरकारले गर्दा थप समस्या भएको छ । पहिले एक ठाउँमा दर्ता भए पुग्थ्यो । तर अहिले धेरै ठाउँमा दर्ता गर्नुपर्ने, कर पनि एक ठाउँभन्दा धेरैमा बुझाउनु पर्ने अवस्था छ । अहिले नगरको मापदण्ड पूरा गरेर त्यहाँ दर्ता हुनु पर्‍यो । त्यसपछि प्रदेशमा दर्ता हुनका लागि पनि अर्को मापदण्ड पूरा गर्नुपर्‍यो । उद्योग विभागमा दर्ता गर्नु पर्‍यो । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्नु पर्‍यो । यो धेरैतिर दौडँदा-दौडँदै समय जान्छ । दर्ताको कामकै लागि परिवारका ३-४ जना मान्छे दौडेको-दौडै गर्नुपर्ने हुन्छ । यस्तो विधिले कसरी व्यवसाय गर्ने वा उद्योग खोल्ने वातावरण बन्छ ? एकद्वार प्रणालीबाट एकै ठाउँबाट कागजात पूरा भएपछि उद्योग दर्ता गर्ने व्यवस्था गरिनुपर्छ । तर, हाम्रोमा त्यस्तो हुन सकेको छैन । जबसम्म हाम्रोमा एकद्वार प्रणाली लागू गरेर छिटोभन्दा छिटो उद्योग-कलकारखाना दर्ताको काम हुन सक्दैन, तबसम्म उद्योग गर्ने वातावरण बन्न सक्दैन ।

० सहकारीहरूले रकम अपचलन गरेको कुराहरू पनि सुनिन्छ, त्यहाँ के छ अवस्था ?

हाम्रोमा सहकारीको रकम अपचलनको कुरा सुनिएको छैन । हाम्रोमा विधि–प्रक्रिया पूरा गरेका बचत सहकारीहरू रहेका कारणले पनि यस्तो अवस्था नआएको होला । हाम्रो जिल्लामा नेपालकै सबैभन्दा ठूलो सहकारी बिकु सहकारी छ । जसले १२ अर्ब रुपैयाँ कारोबार गरेर सञ्चालन गरिरहेको छ । त्यस्तै किसान सहकारी पनि रहेको छ । मुकुन्द सेन सहकारी रहेका छन् । ठूला-ठूला सहकारी रहेका छन् । त्यहाँ बचत राख्ने क्रममा केही कमी भएको छ । बैंकको भन्दा कम ब्याजदरमा कर्जा दिएका छन् । अर्कोतर्फ बैंकमा आम्दानी खोज्ने, अघिल्लो पटक ऋण नतिरेका कारण कर्जा नदिने हुन्छ । तर सहकारीहरूले समुदायमा आधारित भएर ऋण प्रवाह गरिरहेको अवस्था छ । राम्रो व्यवस्थापन पनि गरेका छन् । जसले गर्दा व्यवसायीहरू सहकारीबाट लाभान्वित भएको अवस्था छ ।

० अहिले व्यवसायिक क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कसले के गर्नुपर्ला ?

अहिलेको समस्या समाधानका लागि व्यवसायलाई एकद्वार प्रणाली लागू गरौं । एकद्वार प्रणाली भनेको दर्ता, कर उठाउनेदेखि त्यसलाई हेर्ने निकाय एक हुनुपर्‍यो भन्ने हो । एउटा सानो उद्योग खोलियो भने त्यो वडामा पनि दर्ता हुनु पर्ने रे । अनि त्यो पालिकामा हुनु पर्‍यो । त्यसपछि प्रदेशमा पनि हुनुपर्‍यो । अनि कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि दर्ता हुनु पर्‍यो । यति धेरै ठाउँमा किन गर्ने एक ठाउँमा गरेर एक ठाउँबाट नै कर लिए व्यवसायीहरूलाई सहज हुने थियो । अर्को कुरा स्रोतको खोजी गरिन्छ । के उद्योगीहरू दुई नम्बरीया हुन् र ? उद्योगीले आफूले कमाएको पैसा लगानी गर्ने हो । स्रोत नमिल्नेबित्तिकै त्यहीं बार लगाइदिने । जनप्रतिनिधिहरूले सबै कुरा मलाई छोडोस् भनेर सोच्ने । सरकारले पनि त्यस्तै व्यवहार गर्ने । अनि कर कार्यालयले त यसै पनि गर्ने नै भयो । यस्ता क्रियाकलापले गर्दा उद्योगीहरूले दुःख पाउने काम हुने अवस्था छ । एकद्वार प्रणाली बनाएर सबै जिम्मा उसैलाई दिएको खण्डमा त जवाफदेही पनि उही हुन्छ । उसैले सबै काम गर्छ । एउटामात्रै निकाय भयो भने त्यसलाई समाधान गर्नका लागि पनि त्यहाँमात्रै गएर कुरा गर्दा भयो । तर, अहिले ५ ठाउँमा गएर सम्झाउँदा-सम्झाउँदै समय सकिन्छ । एक ठाउँमात्रै भयो भने हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्ने कुरा हो । तर धेरै ठाउँमा जाँदा कतै हुन्छ भन्छ कतै यही प्रमाण हुँदैन भन्छ । यसले व्यवसायीहरूले दुःख पाइरहेको अवस्था छ । यसमा सुधारको खाँचो छ ।

प्रकाशित समय १०:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु