1100×100 Nabil Advert

‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई प्रदान गरिने

काठमाडौं । नेपाल जन-प्रशासन सघले वि. स. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले वि.सं. २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो । सम्मानपत्रसहित नगद राशी २ लाखको यो सम्मान वर्षेनी प्रदान गरिन्छ ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्‍याउनु भएको बहुमूल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको हो । यो सम्मान विशेष समारोहबीच आगामी २०८१ श्रावण २३ उहाँलाई अर्पण गरिने छ ।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भइसक्नु भएको छ । डा. भेषबहादुर थापा यो सम्मानबाट सम्मानित हुनुहुने २०औं व्यक्ति हुनुहुनेछ ।

स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इञ्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभयो । उहाँ नेशनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक बीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्यांकनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो । गैरनाफामुखी पेशागत संघको रुपमा स्थापित नेपाल जन प्रशासन संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरूमा छलफल, प्रशिक्षण, अनुसन्धान, प्रकाशन र सम्मान तथा पुरस्कार सञ्चान गर्दै आएको संघका अध्यक्ष मधुरमण आचार्यले बताउनुभयो ।

प्रकाशित समय २०:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु