सीमा सुरक्षा पहिलो प्राथमिकता : भुसाल
पर्सा । पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिनुभएको छ । जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रजिअ दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । उहाँले जगरनाथपुर गाउँपालिका-२ स्थित नेपाल-भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो ।
उहाँले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘अवैध कारोबार नियन्त्रणमा सम्झौता नगर्न निर्देश गर्छु’, उहाँले भन्नुभयो, ‘सीमावासीसँग निरन्तर छलफल र गुनासो सुन्ने व्यवस्था गरी सुमधुर सम्बन्ध कायम राख्न पनि अनुरोध गर्दछु ।’
टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका-२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु आग्रह गर्नुभयो । ‘हाम्रो तहबाट सुरक्षाकर्मीको लागि आवश्यक पर्ने सबै खालको सहजीकरण गर्न तयार रहेका छौँ’, उहाँले भन्नुभयो, ‘सुरक्षाकर्मीले पनि सीमा सुरक्षामा विशेष जोड दिन जरुरी रहेको छ ।’ जगरनाथपुर-२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित समय ०८:३३ बजे




















