1100×100 Nabil Advert

बहुप्रतिभाका धनी बैंकर्स भण्डारीको ‘आफैंलाई नियाल्दा’ विमोचित

काठमाडौं । बहुप्रतिभाका धनी बैंकर्स राजनसिंह भण्डारीको सपना, संघर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैंलाई नियाल्दा’ कृति विमोचन गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गर्नुभएको हो ।

मिनेट मिडिया प्रालि प्रकाशक रहेको सो कृतिमा पूर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेश, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स संघको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उहाँ र भण्डारी परिवारसँग जोडिएका तस्वीरसमेत समेटिएको छ । सो अवसरमा पूर्वमन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले-आफैंलाई एउटा सफल व्यक्तित्व बनाएको जीवनसम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताउनुभयो । जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उहाँले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ-आफ्नै खाले आत्मकथा हुने उल्लेख गर्नुभयो ।

सांसद कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताउनुभयो । पूर्वगभर्नर डा. रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाउनुभयो ।

त्यस अवसरमा डा लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताउनुभयो । शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र होइन, कमी-कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।’

प्रकाशित समय २१:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु