चैत मसान्तसम्म भाखा नाघेका कर्जाको व्याजमा छुट दिने एनआइसीको योजना सार्वजनिक
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सञ्चालित एनआईसी एशिया बैंकले २०८० चैत्र मसान्तसम्म भाखा नाघेका ऋणीहरुलाई पन्ध्रदेखि पैंतीस प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ आषाढ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट दिने योजना सार्वजनिक गरेको हो । भाखा नाघेको ९१ दिनदेखि १८० दिनसम्म भएको समयावधिका लागि १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्मकोलाई २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भएको हकमा भने २३ प्रतिशत छुट दिने योजना बैंकले सार्वजनिक गरेको छ ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाले उल्लेख गरेका छन् ।
प्रकाशित समय १३:२३ बजे




















