1100×100 Nabil Advert

भदौ अन्तिम साता नेसनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०८१ हुने

काठमाडौं । नेसनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड २०८१ भदौ २८ गते आयोजना हुँदैछ । राष्ट्रको सर्वश्रेष्ठ म्युजिक भिडियो अवार्डको रूपमा स्थापित नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डले गत चैत २८ गते थाइल्याण्डको राजधानी बैंककमा एक कार्यक्रम आयोजना गरी अवार्डका लागि मनोनयन फारम खुला गरेको थियो ।

जसअनुसार अवार्डमा भाग लिन यस वर्ष सार्वजनिक भएका विभिन्न गीत संगीतले उत्साहजनक सहभागिता जनाएका छन् । २०८० साल चैत मसान्तसम्म निर्माण भइ बजारमा सार्वजनिक भएका आधुनिक, पप, लोक, चलचित्र, नेपाल भाषा, देउडा, तामाङ, राई, लिम्बू, राष्ट्रिय, मोफसल र विदेशी भूमिबाट निर्माण भई बजारमा रिलिज भएका प्रवास गीत-संगीत गरी कूल १३ सय गीत संगीतले स्वस्फूर्त आवेदन दिएका छन् । २०८० चैत ३० गते साँझसम्म अनुमानित १७ सय नेपाली गीत संगीत युट्युबमा अपलोड भएका छन् । १७ सय गीत संगीतमा यो वर्ष करिब १३ सयको आवेदन परेको अवार्ड अध्यक्ष आरके सुवेदीले जानकारी दिए ।

१७ सयमध्ये ११ सयको भिडियो निर्माण भएका छन् भन्ने बाँकी अडियो मात्रै बजारमा आएको देखिन्छ । निर्माताको आर्थिक अभावले यो वर्ष ११ सय गीत संगीतको मात्रै भिडियो निर्माण भएका हुन् । ११ सय भिडियो निर्माण गर्न निर्माताले अनुमानित ७३ करोड लगानी गरेका छन् भने केही निर्माताले सीमित आम्दानी गरे पनि लगभग ९३ प्रतिशत गीत संगीतका निर्माताले लगानी उठाउन नसकेको नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्डको प्रतिवेदनमा उल्लेख छ । यो वर्ष गीत संगीत बजारमा निर्माताहरुको करिब ७० करोड रुपैयाँ डुबेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी २०८० सालामा ९६ प्रतिशत पुरुष मोडल कलाकारहरु अनुहार देखाउने रहरमा आर्थिक शोषणमा परेको, ५ प्रतिशत मोडलहरुले भिडियो खेलेर राम्रो आम्दानी गरेको, ६५ प्रतिशत महिला मोडल यौन हिंसाको सिकार भएको, २० प्रतिशत महिला मोडल निर्माता, संगीतकार, गायक, गायिकाको सम्बन्धको आधारमा मात्रै पर्दामा देखिएको, ७ प्रतिशत महिला मोडल पुरुष मोडलको निजी प्रेमिका बनेका कारण पर्दामा निरन्तर छाएको र ५ प्रतिशत महिला मोडलले मात्रै पूर्ण व्यावसायिक मोडल बनेर राम्रो आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आवेदन दिएका करिब १३ सय गीत संगीतलाई छानेर आयोजक संस्थाले थाइल्याण्डको फिपी आयरल्याण्डमा सञ्चालित पानीजहाजमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिसकेको छ भने अवार्डबारे सम्पूर्ण जानकारी गत मे २९ मा हङकङको जोडनमा प्रेसमिट आयोजना गरी सार्बजनिक गरिएको थियो ।

अवार्डको उत्कृष्ट पाँचमा परेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटो’ले युट्युबमा उधुम मच्चाए पनि फिल्म भन्ने बक्स अफिसमा फल्प भयो । त्यस्तै हिट चलचित्र ‘परदेशी २’ को ‘हुक्क हुक्क’, ‘नांगो गाउँ’ को ‘सुन सुन्दरी’, ‘बोक्सीको घर’ को ‘बुझिन मैले’, ‘दिमाग खराब’को ‘हितैको माया’, उपहारको ‘वा वा’ गीतले अवार्डको उत्कृष्ट पाँचमा राम्रो स्थान हासिल गरेका छन् ।

लोक दोहोरीबाट ‘अरेली काँडैले’ बजारमा व्यापक माहौल बनायो भने अवार्डमा पनि यो गीतले उत्कृष्ट पाँचमा सजिलै आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै बादल बर्षा बुजुली (रिमेक) पनि अवार्डमा सजिलै उत्कृष्ट पाँचमा परेको छ । पानीमुनी, रिमै, भिखारी, कट्टा हान्दिन्छु, कमाउने नि हो रमाउने नि हो र पिरै पिर जस्ता लोकप्रिय गीत बजारमा राम्रो कमाइ गर्दै अवार्डको प्रतिस्पर्धामा होमिएका छन् । अब अवार्डको छिनोफानो भदौ २८ गते साँझ हुने आयोजक संस्था बक्स इन्टरनेसनल ग्रुप र ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) ले जनाएका छन् ।

 

प्रकाशित समय १६:३३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु