शिक्षामा राज्यको लगानी परिणाममुखी हुनुपर्छ : पौडेल
काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित बालवाटिका इन्टरनेशनल स्कुलको १९ औं अभिभावक दिवस कार्यक्रममा बोल्दै पौडेलले शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि सबै पक्षको साझा प्रयत्न आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ । शिक्षाको लगानीलाई परिणाममुखी बनाउनका लागि हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।’ पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिए ।
अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उनले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । देशमा बालवाटिकाजस्ता निजी स्कुलहरूले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेको पनि सो क्रममा उनले बताए ।
व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै उनले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला उ आफैं व्यवस्थित हुन्छ । समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।’ अभिभावकले पैतृक सम्पत्ति जोडेर बालबच्चाको भविष्य सुनिश्चित हुन्छ भन्ने नसोच्ने धारणा राख्दै पौडेलले संसारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउनका लागि विद्यालयले मात्रै नभई अभिभावकले पनि पहलकदमी लिनुपर्ने बताए ।
प्रकाशित समय ११:१२ बजे




















