पर्यटन र कृषि तानसेन विकासको मेरुदण्ड हो : नगर प्रमुख श्रेष्ठ (अन्तर्वार्ता)
स्थानीय तहहरुमा आम्दानीको श्रोत बृद्धि गर्ने हो भने धेरै उपाय हुनसक्छन् । करको दरहरु बृद्धि गर्नेभन्दा पनि नयाँ-नयाँ आम्दानीका स्रोतहरु खोज्नुपर्छ भन्ने उदाहरण बन्न सफल हुनुभएको छ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ । उहाँले पर्यटकीय क्षेत्रको प्रवद्र्धनबाट आम्दानी बृद्धि गर्न सफल हुनुभएको हो । नगरलाई कसरी सक्षम बनाउने भन्ने कुरालाई मुख्य केन्द्रविन्दूमा राखेर उहाँले काम गरेकै कारणले गत वर्ष १ लाख ३२ हजार राजस्व उठेको ठाउँमा यो वर्ष २६ लाख उठाउन सम्भव भयो । त्यस्तै रानीमहलबाट गत वर्ष १९ लाख राजस्व उठ्ने गरेकोमा अहिले ५७ लाख राजस्व उठेको नगर प्रमुख श्रेष्ठको भनाई छ । स्थानीय तहहरुमा कृषि उत्पादनमा जोड दिनुभएको छ । स्थानीय उत्पादनहरुलाई प्रतिकेजी २ रुपैयाँ अनुदानसमेत नगरले उपलब्ध गराउँदै आएको श्रेष्ठको भनाई छ । कृषि र पर्यटनलाई जोड दिने हो भने धेरै कुरा गर्न सम्भव छ भन्ने कुराको पुष्टि गर्न सफल हुनुभएका तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठसँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
० तपाइँ नगर प्रमुखमा निर्वाचित भएपछि के कस्ता कामहरू गर्दै हुनुहुन्छ ?
हामीहरू निर्वाचित भएर आएको करिब २० महिनाजति भयो । पहिलो चरणमा मैले तानसेन नगरको विकासका लागि पर्यटनलाई जोड्नुपर्छ भन्ने महशुस भएपछि तानसेनको दरबार स्क्यायरलाई व्यवस्थित बनाउने काम थालनी गरिएको छ । यो दरबार राणाकालीन दरबार हो । यो क्षेत्रलाई व्यवस्थित बनाउनका लागि अव्यवस्थितरुपमा रहेका घर-टहराहरू हटाउने काम अघि बढेको छ । त्यसका लागि चालू आर्थिक वर्षको बजेटमार्फत ३ करोड बजेट पनि विनियोजन गरिएको थियो । त्यसबाट दरबारको मूलढोका र पर्खालहरू बनाउने काम भइरहेको छ । अर्को काम भनेको नगरपालिकाभित्र भएका विद्यालयहरूलाई प्रि-स्कूल कन्सेप्टमा ल्याउनका लागि पनि काम भइरहेको छ । त्यसका लागि विद्यालयलाई मर्ज गरेर अघि बढाएका छौं । जसले शिक्षाको गुणस्तरमा टेवा पुर्याउँछ । त्यस्तै आन्तरिक स्रोतमा अभिवृद्धि गर्नका लागि पनि सुधारका कार्यक्रमहरू गरिएको अवस्था छ । हाम्रोमा भएको श्रीनगर डाँडामा पहिले-पहिले टिकटबाट १ लाख ३२ हजार रुपैयाँ संकलन भएको थियो । अहिले त्यहाँबाट हामीले २६ लाख रुपैयाँ राजस्व संकलन गरेको अवस्था छ । त्यस्तै रानीमहलमा १९ लाख रुपैयाँ उठ्ने गरेको थियो भने हामीले त्यहाँबाट ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको अवस्था छ । विभिन्न खोला नालाबाट निकासी हुने वस्तुबाट उठ्ने राजश्वमा पनि वृद्धि भएको अवस्था छ । यसले हामीलाई आन्तरिकरुपमा बलियो बनाउँछ । हामीले खोलानालाबाट निकासी हुने वस्तुबाट गत आर्थिक वर्षमा २४ लाख उठ्ने गरेको थियो भने अहिले ५२ लाख उठ्ने गरेको छ । त्यस्तै फोहोरमैला व्यवस्थापनबाट पहिले ३ लाख उठ्थ्यो भने अहिले २५ लाख रुपैयाँ उठ्ने गरेको छ । रानीमहलको व्यवस्थापन गर्ने र त्यसलाई संग्रालयका रुपमा विकास गर्ने तर्फ पनि काम भइरहेको छ ।
० कृषिको क्षेत्रमा के-के भएको छ ?
कृषिको कुरा गर्दा हाम्रोमा यो दोस्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँको पहिलो सम्भावना भनेको पर्यटन नै हो भने अर्को कृषि नै हो । उद्योगका रुपमा ढाका उद्योग छ । तर त्यसको साइज निकै कममात्रै रहेको छ । तानसेन नगर विकास हुनका लागि पर्यटक र कृषिमा नै लगानी गर्नुपर्ने आवश्यकता छ । यो बाहेक अन्य अवस्थाबाट नगरको विकास हुने अवस्था देखिंदैन । कृषिका लागि हामीले किसानलाई सहुलियतमा बिउहरू वितरण गर्ने पनि गरेका छौं । आलु, गहुँहरूको बिउ वितरण गर्ने कामहरू भएका छन् । त्यस्तै विभिन्न निकायसँग सहकार्य गरेर विभिन्न ठाउँमा तरकारीको पकेट क्षेत्रका रुपमा पनि काम गरिरहेका छौं । उत्पादन भएको वस्तुमा प्रतिकिलो २ रुपैयाँ अनुदान दिएका छौं । उत्पादन भएको अदुवा लगायतका वस्तुको भण्डारणका लागि पनि व्यवस्था गरिएको छ । सिजनको समयमा बिक्री गर्दा त्यसले लागत पनि धान्न नसक्ने भएकाले बेसिजनमा बिक्री गर्नका लागि भण्डारणको व्यवस्था पनि हामीले गरेका छौं । यस्तो गर्दा बजार पाउनका लागि पनि सहज हुने गरेको छ । त्यस्तै पशु क्षेत्रका लागि पनि हामीले काम गरेका छौं । ५० वटा बाख्रा, २५ वटा पाडा र ३० वटा बंगुर पालेको किसानलाई वर्षमा २ लाख रुपैयाँ अनुदानको पनि व्यवस्था गरिएको छ । खानेपानीका लागि हामीले लिफ्टिङको व्यवस्था गरेका छौं । घरहरू डाँडामा रहेको छ । त्यस्तो अवस्थामा २०० परिवार रहेको क्षेत्रमा २५ प्रतिशत अनुदान पालिकाले व्यहोर्ने गरेको छ ।
० विपत व्यवस्थापनको पूर्व तयारी के छ ?
विपत व्यवस्थापनका लागि हामीसँग एउटा छुट्टै टोली रहेको छ । त्यो टोलीसँग विपत हुनुभन्दा पहिलाको अवस्थाका विषयमा निरन्तर छलफल भइरहन्छ । हाम्रोमा विपद भनेको पहिरो जाने, आगो लाग्ने क्षेत्रहरू त्यो टोलीको निगरानीमा रहेको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले पनि यस विषयमा काम गरिरहेको छ । कुनै घटना भयो भने हामीले तुरुन्त १० हजार रुपैयाँ सहयोग प्रदान गर्ने गरेका छौं ।
० संघ र प्रदेशबाट प्राप्त हुने बजेटबाट सन्तुष्ट हुनुहुन्छ ?
हाम्रो विडम्बना भनेको संघ र प्रदेश सरकारबाट १०० रुपैयाँ आउँछ भने हामी जम्मा १० रुपैयाँमात्रै आम्दानी गर्छौं । हामीलाई जति भए पनि पुग्दैन । तर स्रोत साधनको सीमितताले गर्दा जति पठायो, त्यसैमा सन्तुष्टि मान्नुपर्ने अवस्था छ । हल्ला गरेरमात्रै हुँदैन । अर्बौँ आउँदा पनि पुग्दैन । मानिसका आवश्यकता र चाहनाहरू असीमित छन् । जे पनि पालिकाले गरिदिए हुन्थ्यो भन्ने अवस्था छ । जनताको आकांक्षा पनि निकै धेरै छन् ।
० अन्त्यमा क्रसचेकमार्फत तपाई के भन्न चाहानुहुन्छ ?
तानसेनको विकास गर्नका लागि पर्यटनको विकास गर्न अन्त्यन्तै आवश्यक छ । हाम्रा पूर्खाहरूले छोडेर गएका विभिन्न धरोहरहरू यहाँ रहेका छन् । चाहे रानीमहलका कुरा गरौं या राणाकालीन दरबारका कुरा गरौं । ती संरचनाको संरक्षण गरेर पर्यटकको आवागमन बढाएर नगरको विकास गर्न सकिन्छ । अर्को भनेको धार्मिक पर्यटनको क्षेत्र रहेको छ । हाम्रोमा रुरु क्षेत्र छ । जहाँ धार्मिक पर्यटकहरू आउँछन् । त्यसलाई पनि हामीले संरक्षण गरेर पर्यटकसँग जोड्नुपर्ने आवश्यकता रहेको छ । तानसेन मध्यपहाडको अति सुन्दर ठाउँ हो । जसले गर्दा यहाँ केहीमात्रै काम गर्न सकियो भने पर्यटक आवागमन निकै बढ्ने देखिन्छ ।
प्रकाशित समय १३:२३ बजे




















