समयमै प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छ : अध्यक्ष सिवलाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सर्भेयरले समयमै प्रतिवेदन बुझाउनुर्ने, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ- बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ, सोही क्षेत्रमा काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्छ । नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्जमा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले स्थानअनुसार बीमा सर्भेयरको सूची बनाउनुपर्ने र सर्भेका लागि सोही स्थानका सर्भेयरलाई खटाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष सिलवालले भन्नुभयो, ‘बीमा सर्भेयर संघले बीमा सर्भेयरको आचारसंहिता बनाउनुपर्छ, सर्भेयरले समयमै प्रतिवेदन बुझाउनुपर्छ, दुई तीन वर्षसम्म पनि प्रतिवेदन नबुझाउने सर्भेयरलाई कारवाही हुन्छ ।’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने स्पष्ट गर्नुभयो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा सर्भेयरको इजाजतपत्र नपाएकाहरूले सर्भेयरको काम गरेमा कारवाही हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी बीमा सर्भेयरहरूले मधेश प्रदेशमा कति सर्भेयर छन् भन्ने थाहा नभएको, इजाजतपत्र लिएको दुई वर्षसम्म पनि बीमा कम्पनीहरूले काम नदिएको, सर्भेयरको बर्गीकरणबाट पुराना सर्भेयरलाई मर्का पर्ने अवस्था रहेको, कम्पनीहरूमा सर्भेयरको सूचीकरणमा एकरूपता नभएको, कम्पनी आफैले र इजाजतपत्र नलिएकाहरूले पनि सर्भेयरको काम गर्ने गरेको लगायतका धारणा राख्नुभएको थियो । कार्यक्रममा मधेश प्रदेशमा रहेका बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गर्नुभएको थियो ।
प्रकाशित समय १८:४१ बजे




















