स्थानीय तह नै जनताका आवाज सुन्ने र कार्यान्वयन गर्ने मुख्य थलो हुन् : अध्यक्ष कुँवर
स्थानीय तहहरुबाट जनताले अहिले सहजरुपमा थुप्रै सेवा सुविधा पाइरहेका छन् । सिंहदरबार गाउँ-गाउँमा भन्ने गरिएको कारण त्यसैले पनि हो । थुप्रै सेवा सुविधाहरु आफ्नो गाउँ-ठाउँमै आए पनि रोजगारी भने पाउने स्थिति छैन । रोजगारी सिर्जना गर्नका लागि पर्याप्त बजेट स्थानीय तहहरुसँग छैन । आगामी दिनमा बजेट निर्माण हुँदा स्थानीय तहका लागि पर्याप्त बजेट छुट्याइयोस् भन्नुहुन्छ मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवर । अध्यक्ष कुँवर भन्नुहुन्छ- स्थानीय जनताका समस्या स्थानीय सरकारले नै राम्ररी बुझेको हुन्छ । केन्द्र र प्रदेशबाट दिइने अनुदानमा विभिन्न शर्तहरू नराखी सिधै दिनुपर्छ । कुन योजना कसरी बनाउने भन्ने कुरा स्थानीयको आवश्यकता अनुसार निर्धारण हुने गर्दछ । ठूला योजनाबाहेक सबै विकास निर्माणका कामहरू स्थानीय तहलाई ‘डाइरेक्ट’ दिनुपर्दछ । त्यसो भयो भने धेरै काम गर्न सकिन्छ । पर्याप्त बजेट भयो भने सहजरुपमा विकास निर्माण र रोजगारी सिर्जनाका काम सहजरुपमा गर्न सकिन्छ भन्ने मान्यता राख्ने मदाने गाउँपालिकाका अध्यक्ष कुँवरसँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
० स्थानीय तहमा आएको बजेटबाट कत्तिको काम गर्न सक्नुभएको छ, बजेटको अभाव झेल्नुभएको छ कि छैन ?
काम खासै गर्न सम्भव भएको छैन बजेट कम आउँदा । जनतासमक्ष जुन वाचा गरेको हुन्छ, त्यो पूरा गर्न सकेको छैन ।
० स्थानीय तहहरू बनेपछि गाउँ–गाउँमा सिंहदरबार भन्ने गरिन्छ, कृषिको सम्बन्धमा चाहिं यहाँहरूले के कस्ता कामहरू गर्नुभएको छ ?
कृषिको सम्बन्धमा हामीले किसानहरूलाई उत्पादनमा आधारित भनेर सानो सम्मान गर्ने गरेका छौं । सबै कुरामा सहुलियत दिने सोचले तरकारी, फलफुल, दुध, मासु, अण्डालाई उत्पादनमा आधारित अनुदान दिएका छौं । जसले जति उत्पादन गर्नुहुन्छ, त्यो उत्पादनको आधारमा फलफूल, तरकारी अरु अन्नपानी, दूध, माछा, मासु, अण्डाका लागि निश्चित यति रकम भनेर अनुदान रकम तोकेका छौं ।
० कृषि उत्पादनको लागि विशेष पकेट क्षेत्र बनाउनु भएको छ कि छैन ?
कृषि क्षेत्र भनेर त्यस्तो छैन । सबैमा उत्पादनमा आधारित भनेपछि गरे हुन्छ दूध, सुन्तला, किवि यस्तोमा राम्रै छ ।
० विद्युतको सुविधा कति जनताले पाएका छन् ?
२०७९ पुसको ७ गतेदेखि बालिरहेका हौं । त्यसैदिने हाम्रो मदाने गाउँपालिकाका नागरिकहरूले २० युनिटभन्दा तलको चाहिं गाउँपालिकाले तिर्ने भनेर निर्णय गरेका हौं । हाम्रो लगभग वर्षमा १७–१८ लाख पैसा त्यसमा जान्छ ।
० तपाईंहरूको धार्मिक पर्यटन अथवा मठमन्दिर, पर्यटकीय क्षेत्र त्यस्तो के छ ?
हाम्रो मदाने गाउँपालिका नै पर्यटकीय सम्पदा हो । कंके देउराली, मालारानी, पुर्कोट दह जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू पनि छन् । हाम्रो सदरमुकामको एउटा रेसुङ्गा सिलिन्डेश्वर ऋषि तपस्याहरूको अत्यन्तै राम्रो सिन छ, त्यो २३ सय मिटर अग्लो छ भने हाम्रो मदानेको लेक २६९० मिटर अग्लो छ । त्यसको नाममा हामीले मदाने गाउँपालिका भनेर नाम राखेका छौं । एउटा त्यो सम्पदा नै भइहाल्यो । यसपछि मदाने गाउँपालिकामा यो भन्दा सवा सय वर्ष पहिले एक जना विश्वकर्माले खनेको एउटा पोखरी छ । त्यसलाई एउटा सम्पदाको रुपमा लिने गरेका छौं । यसको साथसाथै एउटा कंके देउराली छ । त्यो कंके देउराली अत्यन्त राम्रो छ, एकदम उचाइमा छ । त्यहाँ विभिन्न प्रजातिका चराहरू, वन वन्यजन्तुहरू पाइन्छन्, त्यसलाई हामीले पर्यटकीय क्षेत्रमा लाने भनेर लागि परेका छौं । भौतिक पूर्वाधारहरू केही शुरु भएका छन् । यो आर्थिक मन्दीका कारण हरेक कामहरू पूरा हुन सकेको छैन । न मदानेको नै गर्न सकेका छौं, न पोखरीको, न कंके देउरालीको नै । यस्तै छ पर्यटकीय स्थलहरूको अवस्था हाम्रोमा । राम्रा–राम्रा ठाउँहरू धेरै छन् तर आर्थिक अभावका कारणले पालिकाले केही गर्न सक्ने अवस्था छैन ।
० मदानेबाट बसाईसराई गरेर तराई झर्ने, कतिपय मुलुक नै छाडेर युरोप–अमेरिकातिर भासिने अनि त्यस्तै गरेर शहरबजारतिर बढी हिंड्ने स्थिति छ कि के छ अवस्था ?
यो बसाईसराई त एक प्रकारको फेशन नै जस्तो हुन थाल्यो । यहीं भएकाहरूलाई पनि खास गरेर रोजगार दिन सकेका छैनौं । राज्यकै नयाँ पोलिसी केही भएन । गाउँमा १२ सम्म पढ्छन् । १२ पढेपछि त वैदेशिक रोजगार बाहिरै जाने त्यस्ता चलन आएको छ । गम्भीर तरिकाले कृषि पेशामा लाग्ने, यहीं गरौं भन्ने भावना एकदमै ओझेलमा पर्न थाल्यो । अर्को कुरा विदेश गएपछि परिवारका अरु सदस्य डेरा लिने, शहरतिर जाने पढ्ने अनि अभिभावकको केही छैन, आम्दानी केही छैन ।
० स्थानीय तहमा रोजगारी सिर्जना गर्नका लागि तपाईंहरूले केही तालिमहरू सञ्चालन गर्नुभएको छ कि छैन ?
खासगरी यहाँ कोदो प्रशस्त मात्रामा उत्पादन हुन्छ । त्यस्तै एउटा यहाँ कफी पकेट क्षेत्र छ । त्यसलाई प्राथमिकता दिएका छौं । बाख्रा पालनमा यहाँका किसानहरू लाग्नुभएको छ ।
० कृषिको लागि सबैभन्दा महत्वपूर्ण कुरा सिंचाई हो, त्यसको अवस्था कस्तो छ ?
सिचाईंको सुविधा यहाँ पर्याप्त छैन । हामी अहिलेचाहिं कंके देउराली क्षेत्रमा एउटा जलाशयको अवधारणा राख्दैछौं । त्यसको डीपीआरको लागि अन्तिम चरणमा पुगिसकेको छौं । यसको काम अगाडि बढिरहेको छ । त्यो तयार भयो भने यो मदाने गाउँपालिकाको तीन वटा वडामा खानेपानीको समस्या टुंगिन्छ र केही सिंचाईको व्यवस्था हुने र तरकारी खेती गरी आयआर्जन गर्नसक्ने अत्यन्त सम्भावना राम्रो छ ।
० आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको पूर्व तयारी भइरहेको छ भने राष्ट्रिय योजना आयोगले १६औं योजना निर्माणको कामलाई समेत अगाडि बढाइरहेको छ । यो अवस्थामा कस्तो बजेट आओस् भन्ने चाहनुहुन्छ, विशेष गरेर स्थानीय तहका लागि ?
खासगरेर पहाडी जिल्लामा कृषि क्षेत्रमा जोड दिनुपर्ने हुन्छ । कृषि, खसी–बाख्रामा जोड दिएपछि कृषि उत्पादन जोड दिने युवाहरू रोकिन्छन् कि भन्ने बढी छ । अहिले आएर के भने रोजगारको खासै सिर्जना गर्न सकिएको छैन । वन्यजन्तुका कारणले किसानहरूलाई पनि धेरै दुःख दिएको छ । एक त बोटैमा पाक्न पाउँदैन, पाकिहाल्यो भने पनि वन्यजन्तुले गर्दाखेरी उत्पादन ध्वस्त पार्छ । यो वन्यजन्तुको समस्या असाध्यै भयावह छ । बाख्रा पाल्यो खोर रित्तै हुन्छन् । मकै कोदोको बाली भित्र्याउन पाइँदैन । वन्यजन्तु नियन्त्रणका लागि धेरै ठाउँमा आवाज उठाइयो, तर त्यसको कतैबाट पनि सुनुवाई हुन सकेको छैन अहिलेसम्म । आगामी दिनमा बजेट निर्माण हुँदा स्थानीय तहका लागि पर्याप्त बजेट छुट्याइयोस् । किनभने स्थानीय जनताका समस्या स्थानीय सरकारले नै राम्ररी बुझेको हुन्छ । केन्द्र र प्रदेशबाट दिइने अनुदानमा विभिन्न शर्तहरू नराखी सिधै दिनुपर्छ । कुन योजना कसरी बनाउने भन्ने कुरा स्थानीयको आवश्यकता अनुसार निर्धारण हुने गर्दछ । ठूलो योजनाबाहेक सबै विकास निर्माणका कामहरू स्थानीय तहलाई ‘डाइरेक्ट’ दिनुपर्दछ । त्यसो भयो भने धेरै काम गर्न सकिन्छ भन्ने लाग्छ ।
० अन्त्यमा क्रसचेकमार्फत् के भन्न चाहनुहुन्छ ।
विशेष गरेर मदाने क्षेत्रभित्र रहेका युवा तथा कृषकहरूलाई कृषिको बढावामा लाग्न अनुरोध गर्दछु । उत्पादित कृषि वस्तुलाई सहजीकरणको व्यवस्था नभएसम्म अप्ठ्यारो जस्तो देखिन्छ । सबै पक्षलाई आ-आफ्नो ठाउँबाट होस्टेमा हैंसे दिएर लाग्न अनुरोध गर्दछु । स्थानीय तह नै जनताका आवाज सुन्ने र कार्यान्वयन गर्ने मुख्य थलो भएको हुनाले बजेटको पर्याप्त व्यवस्था गरिदिनसमेत संघीय सरकारसमक्ष आग्रह गर्दछु ।
प्रकाशित समय ०९:२० बजे




















