हामीले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म पुर्याइयो
नेपालमा उद्योग व्यवसाय गर्न दिनप्रतिदिन सकस बन्दै गइरहेको छ । भएका उद्योगहरु समेत धमाधम बन्दै हुँदै गइरहेका छन् । ठूला, मझौला तथा साना उद्योगहरु धमाधम बन्द हुँदै गएपछि युवाहरु बेरोजगार बनिरहेका छन् । देशभित्र रोजगारीको अवसर गुम्दै गएपछि युवाहरु अहिले दैनिक ३ हजारको हाराहारीमा विदेश जान बाध्य पारिएका छन् । देशभित्रैका उद्योग व्यवसाय धराशायी भइरहेको समयमा वैशाखमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन गर्ने तयारी भइरहेको छ । यसरी देशभित्रका उद्योगहरु बन्द गरेर युवा बेचेर देश समृद्ध बन्दैन भन्नुहुन्छ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ । देशभित्रै युवाहरुलाई रोजगारी दिनुपर्छ भन्ने मान्यता राख्नुहुने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठसँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानी :
० तपाईंले नेतृत्व गर्ने क्षेत्रमा रहेका उद्योगहरूको अवस्था के कस्तो छ ?
हाम्रो सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा क्षेत्रमा पर्छ । यो क्षेत्र उद्योगका लागि निकै उर्वर भूमि पनि हो । हाम्रो क्षेत्रभित्र अर्घाखाँची, जगदम्बा सिमेन्ट जस्ता राष्ट्रियस्तरका उद्योगहरू रहेका छन् । त्यस्तै पञ्चकन्या स्टिललगायत उद्योगहरू पनि यो क्षेत्रमा रहेका छन् । यसरी हेर्दा हाम्रोमा ठूलादेखि साना घरेलु उद्योगहरू पनि रहेका छन् । मधेश आन्दोलनले पूर्व क्षेत्रबाट पनि यो क्षेत्रमा उद्योगहरू धेरै आएको अवस्था हो । अहिलेको अवस्थाको कुरा गर्दा खाद्यान्नको हबको रुपमा भैरहवा रहेको छ । यहाँका धेरैजसो उद्योगहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् । केही उद्योगहरू बन्द भइसके भने सञ्चालनमा रहेका उद्योगहरूमा पनि अहिले ४० प्रतिशतमात्रै उत्पादन भइरहेको छ । यो अवस्थामा राज्यले सबै सूचकहरू सकारात्मक रहेको भनिरहने तर उद्योगहरू दिनप्रतिदिन बन्द हुँदै जाने अवस्था सिर्जना भएको छ । यसको कारण पत्ता लगाउनु पर्ने आवश्यकता छ । के कारणले यस्तो भइरहेको छ ? देशमा अहिले अवस्थाको कुरा गर्दा केही पहिलेसम्म पुग्नु पर्ने हुन्छ । जुन बेला माओवादी युद्ध शुरु भयो । त्यो समयमा उद्योग कलकारखाना सञ्चालन गर्नका लागि निकै समस्या थियो । विहान घरबाट उद्योगमा गएको व्यक्ति बेलुका फर्किन्छ कि फर्किंदैन भन्ने चिन्ता परिवारमा हुन्थ्यो । कर्मचारीले थुन्ने हो कि रु काठमाडौं गाडी पठाउँदा पनि समयमा पुग्ने हो कि होइन भन्ने द्विविधा थियो । त्यस्तो द्वन्द्वको अवस्थामा पनि हामीले उद्योगहरू सुचारुरुपमा सञ्चालन गरेका थियौं । अहिले त्यो बेलाको जस्तो द्वन्द्व पनि छैन, कुनै किसिमको अशान्ति पनि छैन । अनि सरकारले ल्याउने अधिकांश सूचकांकहरू पनि सकारात्मक नै रहेको देखिन्छ । तर व्यवहारमा भने अवस्था त्यो भन्दा फरक रहेको छ । यो अवस्था आउनुमा राज्यले लिएको नीति नै हो ।
राज्यले भन्ने एकथरि र नीति लिने अर्कोथरि भइरहेको छ । जसले गर्दा अहिलेको अवस्था आएको हो । राज्यले व्यवसायी बचाउनु पर्छ भन्ने महसुश नै गरेको छैन । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो भएको छ । खासमा अहिलेका नेपाल राष्ट्र बैंकका गभर्नरले जुन किसिमको नीति अख्तियार गरेर अघि बढ्नु भयो, त्यसले समस्या पारेको अवस्था हो । यसले गर्दा हाम्रो देशको समग्र अर्थतन्त्रमा यसले प्रभाव पारेको छ ।
हामी दुई वर्षसम्म कोभिडको कोलाहलमा रहेको अवस्था सबैलाई जानकारी नै छ । त्यो समयमा पनि हाम्रा उद्योग व्यवसायको अवस्था यस्तो थिएन । तर अहिले अवस्था यस्तो आयो कि उद्योगी व्यवसायीहरूले यो क्षेत्र छोडेर पलायन हुनुपर्ने अवस्था सिर्जना भयो । यो कुरा सरकारले नबुझेको पनि होइन । सरकारले सबै राम्रो छ भनेर भनिरहेको छ । हाम्रो सिद्धार्थनगरमा पनि राजनीतिक दलको नेतृत्व आइरहेका हुन्छन् । यहाँ आउँदा उहाँहरूले समस्या राख्नका लागि भन्नुहुन्छ । हामीले हाम्रा समस्या पनि सुनाउँछौं । तर कार्यान्वयन हुँदैन । समस्या सुनेरमात्रै हुने भएन अहिलेसम्म समस्या समाधान भइसक्नु पर्ने थियो । तर अवस्था त झन बिग्रँदै गइरहेको छ । त्यसलै सुझावहरूलाई कार्यान्वयन गर्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ ।
० बैंकको ब्याजदर बढ्दाको नकारात्मक प्रभाव भन्न सकिन्छ यसलाई ?
अहिलेको अवस्था सिर्जना हुनुमा अर्को कारण भनेको बैंकको ब्याजदर पनि हो । हामीले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशतसम्म पुर्याइयो । यो अवस्था आउनुमा राष्ट्र बैंकको नीति प्रमुख कारण हो । यो सँगै अहिलेको अवस्थाको कुरा गर्दा बैंकको ब्याजदर केही मात्रामा कम भएको छ । अहिले ११ प्रतिशतको हाराहारीमा बैंकको ब्याजदर रहेको छ । यसैको कारणले आन्दोलन गर्नु पर्ने अवस्था अहिले छैन । यो बीचमा बैंकहरूले लोन प्रवाह नै गर्न नसकेको अवस्था पनि थियो । तर अहिले बैंकहरूले पनि लोन प्रवाह गर्नसक्ने अवस्था देखिएको छ । तर व्यवसायीहरू लोन लिन जान सकिरहेका छैनन् । बजारको रकम उठिरहेको छैन । यसको कारण के हो भने जुन कुरा अहिले भएको छ त्यो दुई वर्ष पहिले नै हुनुपर्ने थियो । जुन सरकारले गरिदिएन । कोभिड पछि मात्रै काम गर्नसक्ने ३२ लाख युवाहरूले देश छाडिसकेका छन् । हाम्रो जम्मा जनसंख्या भनेको पौने ३ करोड हो । त्यसमा पनि १ करोड विदेशमा रहेको अवस्था हो । अहिले पनि दैनिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २३ सय जनाभन्दा बढी व्यक्तिहरू विदेश गइरहेका छन् । त्यो भनेको काम गर्नसक्ने र उपभोग गर्न सक्ने जनसंख्या हो ।
हाम्रोमा गाउँघरहरू पहिले देखि नै खाली भएको अवस्था थियो । अहिले त शहर पनि खाली हुँदै गइरहेको छ । यो कुरामा राज्यले ध्यान नै दिएन । यस्तो अवस्थामा हामीले बैंकलाई मात्रै दोष दिएर पनि भएन । बैंकको पनि विजनेश नै हो । बैंकमा पनि हाम्रै साथीहरूको लगानी रहेको छ । मेरै पनि शेयर हुन सक्ला । राष्ट्र बैंकको गलत नीतिका कारण बैंकहरू फस्टाएका हुन् । भएका सबै उद्योगहरू डुबेको अवस्थामा पनि बैंकहरूले नाफा कमाए । यो हुनुमा राज्यको नीति नै हो । राज्यले यस्तो सम्झौता गरिदिन्छ कि यति हजार मानिस र्जोडन लिएर जाने, यति हजार मानिस युके लगेर जाने । यो कुरालाई नै सरकारले उपलब्धी मानिरहेको छ । यो नै हाम्रो लागि घातक सावित भइरहेको छ । जब काम गर्ने युवा निकासीमा राज्य रमाउँछ तब देशको अर्थतन्त्र कसरी चलायमान हुन सक्ला र ? राज्यले आफ्नो उत्पादन निर्यात गर्नुपर्नेमा युवा जनशक्ति निर्यातमा रमाइरहेको छ । जति धेरै मात्रामा रेमिट्यान्स भित्रिन्छ त्यति नै देशको अवस्था बिग्रिन्छ भन्ने विषयमा राज्यले सोचिदिएन । यो अवस्थाले देशलाई निकै भयावह स्थितिमा पुर्याउँछ ।
० लगानी सम्मेलन गर्ने कुरा गरिएको छ । यस्तो अवस्थामा विदेशी लगानी आउला छ ?
विदेशी लगानी भित्र्याउने विषय निकै हाँस्यास्पद छ । एकातिर विदेशी लगानी ल्याउने भन्ने अर्कोतर्फ स्वदेशमा भएका उद्योगहरू धमाधम बन्द हुँदै गइरहेका छन् । भएका उद्योगहरूलाई संरक्षण गरेर उद्योगमैत्री वातावरण बनाउनु पर्छ भन्दा एउटा भन्ने र काम गर्दा अर्को गर्ने कुराले त कसरी लगानी भित्रिएला र ? अर्थमन्त्रीसँगका भेटमा पनि मैले पहिले स्वदेशमा भएका उद्योगको संरक्षण गरेर लगानीको वातावरण बनाइदिनका लागि आग्रह गरेको छु । यदि नेपालमा रहेका उद्योगका संरक्षण र लगानीको वातावरण निर्माण भयो भने विदेशीहरू पनि यहाँ लगानी गर्नका लागि आउँछन् ।
केही व्यवसायी खराब पनि होलान् । तर सही व्यवसायीलाई लगानीको वातवारण नबनाउने अनि लगानी सम्मेलन भनेर ठूलो कुरा गरेर हुन्छ ? यस्तो अवस्थामा विदेशी लगानी आउनसक्ने अवस्था देखिंदैन । हाम्रामा राजस्व लक्ष्यअनुसार उठ्न सकेन । राजश्व उठेन भनेर प्रत्येक उद्योग कलकारखानामा गएर अनुगमन गर्ने, छापा हान्ने, दुःख दिने काम गरेको छ । जब उसको व्यापार नै कम छ भने उसले कर पनि कम नै तिर्ने भयो । खै त यो कुरा बुझेको रु स्वदेशमा उपभोग गर्ने मानिसहरू कै कमी छ । यस्तो अवस्थामा पहिले स्वदेशमा भएका उद्योगलाई व्यवसाय गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसपछि विदेशी लगानीको कुरा गर्दा उपयुक्त हुन्छ कि ? उर्जाको कुरा गर्दा अहिले देश लोडसेडिङमुक्त हो । अहिले पनि विद्युत प्राधिकरणले हामीलाई म्यासेज गरेर विहान ५ बजेदेखि विहान ९ बजेसम्म र बेलुका ५ बजे देखि ९ बजेसम्म उद्योग बन्द गरेर बत्तीमात्रै चलाउनु होला भन्छ । यस्तो अवस्था छ । हामीलाई पनि त थाहा छ त अहिले खोलानालामा पानीको मात्रा कम हुन्छ । विद्युत उत्पादन कम हुन्छ । यो अवस्थामा लोडसेडिङको तालिका निकाल्दिंदा हुन्छ नि । तालिका निकाल्नका लागि केको लाज हो ? यो कुरा त हामी पनि बुझ्दछौं त । देशमा लोडसेडिङ पनि छैन । बत्ती पनि छैन । यो अवस्थामा विद्युत छैन भनेर डिजेल किन्दा पनि कर कार्यालयले जरिवाना गर्छ । यो कस्तो देश हो उद्योग गर्छु भन्दा पनि जरिवाना लाग्ने ? अहिले व्यवसायी दोहोरो मारमा परेका छन् । भैरहवा करिडोरको डेडिकेटेट र ट्रंक लाइनमा पनि धेरै विवाद भयो । चाहिंदो नचाहिंदो विल व्यवसायीलाई थमाएर निकै दुःख दिइएको छ । अहिले फेरि विद्युतको आपूर्तिमा पनि समस्या भएको छ । लोडसेडिङको तालिका लिएको खण्डमा हामीलाई सहज हुने थियो । देश लोडसेडिङमुक्त भन्ने तर प्रयाप्त मात्रामा विद्युत पनि उपलब्ध नगराउने अवस्था छ ।
० यो अवस्थाबाट पार पाउनका लागि राज्यले कस्तो नीति अबलम्बन गर्नुपर्ला ?
हाम्रोमा प्रत्यक वर्ष बजेट आउँछ । बजेट एकदमै राम्रो आउँछ । भएका ऐन–नियम कानूनहरू पनि राम्रा छन् । तर त्यसलाई कार्यान्वयन गर्ने कुरामा समस्या छ । राज्यले कार्यान्वयनमा ध्यान दिनुपर्छ । राज्यले भएका ऐन–नियमलाई समयसापेक्ष रुपमा परिमार्जन गरेर व्यवसायीलाई स्वतस्फुर्त रुपमा व्यवसाय गर्नसक्ने वातावरण निर्माण गरिदिनु पर्यो । ८-१० वर्ष पहिले त राम्रै थियो त । नेपालमा उत्पादन पनि हामीले नै गरेका छौं । रोजगारी पनि दिएका छौं । लगानी पनि हामीले नै गरेका छौं । यो अवस्थामा राज्यले लगानीको वातावरण निर्माणका लागि काम गर्नुपर्ने आवश्यकता छ । वातावरण बनाउन के गर्नु पर्छ भन्ने त नेतृत्वमा बस्नेहरूलाई जानकारी छ त । विडम्बना एउटा मन्त्रालय र अर्को मन्त्रालयबीच समन्वय नै हुन सक्दैन । विद्युतको लाइन जोड्नका लागि र रुख काट्नका लागि ६ महिना लाग्छ । बाटो बनाउनु पर्यो भने त्यहाँ रुख छ र काट्नु पर्यो भने ६ महिना समय लाग्छ । समन्वय शून्य जस्तो छ । सरकारले ऐन–नियम ल्याउँदा युरोप अमेरिकाको जस्तो समृद्ध राष्ट्रको जस्तो ल्याउँछ । त्यो कपी गरेर अघि बढ्न सकिंदैन । हाम्रो माटो सुहाउँदो नीति नियमहरू ल्याउनु पर्छ । भारतीय सरकारले त्यहाँका व्यवसायीहरूका लागि गरेका कुरालाई मात्रै हामीले कपी गर्नसक्ने हो भने हामी अघि बढ्छौं ।
अर्को कुरा भनेको सरकारले वातावरण बनाउँदा व्यवसायीले पनि यस्तो गर्नुपर्छ भनेर भन्नुपर्यो । सबै व्यवसायी असल हुन्छन् भन्न सकिंदैन । खराब उद्योगीहरूलाई कारबाही गर्नुपर्यो । त्यो राज्यले गर्ने काम हो । राम्रो काम गर्नेहरूलाई त वातावरण तयार पारिदिनु पर्यो नि । सज्जनहरूलाई पनि एकै बास्केटमा राखेर हेर्नु हुँदैन भन्ने हो ।
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राज्यले समयमा खर्च गर्नुपर्यो । पूँजीगत खर्च बढाउनु पर्यो । राजश्व संकलन कम भयो भनिएको छ । समयमा विकास निर्माणका काम गर्न सकियो भने पैसा बजारमा रोटेशन हुन्छ । त्यसले स्वतःरुपमा अर्थतन्त्र चलायमान बन्छ । सरकारको गौरवको आयोजना भनेर भैरहवामा विमानस्थल ४० अर्बको लगानीमा बन्यो । निजी क्षेत्रले पर्यटकसँग सम्बन्धित क्षेत्रमा ८० अर्बको लगानी गर्यो । तर विमानस्थल चल्न सकेको छैन । अनि यस्तो अवस्थामा कसरी देशले विकास गर्छ ?
चालू आर्थिक वर्षको ७ महिनामा विकास बजट १६ प्रतिशत मात्रै खर्च भएको छ । यो अवस्थामा कसरी देश विकास हुन्छ ? सरकारले बेलैमा पूँजीगत खर्च बढाउनु पर्यो । अहिले प्रदेश आवश्यक छ कि छैन भन्ने विषय पनि सोच्नुपर्ने अवस्था आएको जस्तो लाग्छ । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३ जना मुख्य मन्त्री बनिसकेको अवस्था छ । उहाँहरूले यहाँका लागि के गर्नुभयो त ? बन्नका लागि बन्नुभयो, त्यति हो । जनताको वडाबाट काम भइरहेको हुन्छ । अनि प्रदेशको के काम ? हामी हवाइ यात्राबाट ४० मिनेटमा संघीय राजधानी पुगिन्छ । अनि प्रदेशको राजधानी किन आवश्यक पर्यो र ? यो विषयमा सोच्नुपर्ने आवश्यक छ । पहिले-पहिले कामदार मात्रै विदेश जाने गरेका थिए । त्यसपछि विद्यार्थी हुँदै अहिले उद्योगीहरू पनि पलायन भइरहेको अवस्था छ । यस क्षेत्रमा सरकारले समयमा नै सोच्नु पर्ने हुन्छ ।
प्रकाशित समय २१:१९ बजे




















