1100×100 Nabil Advert

विद्युत विधेयक २०८० निजी क्षेत्रलाई घाँटी रेटी-रेटी मार्ने उद्देश्यले आएको छ : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले अहिले आएको विद्युत विधेयक २०८० ले निजी क्षेत्रलाई घाँटी रेटी-रेटी मार्ने उद्देश्यले आएको आरोप लगाएका छन् । विद्युत विधेयक २०८० माथि संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उपसिमितिमा भएको छलफलमा बोल्दै कार्कीले सो कुरा बताएका हुन् ।विद्युत विधेयक २०८० भन्दा २०४९ कै विधेयक संशोधन गरेर विद्युत व्यापार र संघीयताका कुरा थप गरी अहिलेको विधेयक फिर्ता गर्नुपर्ने आवाज उठेको छ । विद्युत विधेयक, २०८० का प्रावधानहरु २०४९ को विद्युत ऐनभन्दा निकै पश्चगामी भएको सरोकारवालाले बताएका छन् ।

आइतबार पूर्वाधार विकास उपसमितिमा भएको सरोकारवालाहरुसँगको छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विद्युत विधेयक २०८० निकै प्रतिगामी नै भएको बताएको हो । समितिमा आफ्नो भनाइ राख्दै इप्पानका अध्यक्ष गणेश कार्कीले अहिलेको विधेयक निजी क्षेत्रलाई एकैपटक नमारी घाँटी रेटी रेटी मार्ने उद्देश्यले आएको बताए । उनले विद्युतउत्पादकहरुले १४ वटा मन्त्रालय र २०० भन्दा बढी टेबलमाधाउनुपर्ने बाध्यतालाई अन्त्यगर्ने गरी विधेयकमा ऊर्जा मन्त्रालयमै शक्तिशाली एकद्वार प्रणालीको व्यवस्था हुनुपर्ने बताए ।

उनले ४५ लाखजनताको लगानी रहेको र १३ खर्ब रुपैयाँ लगानी भइसकेको निजी क्षेत्रलाई तहसनहस बनाउने अभिप्रायले विद्युत विधेयक ल्याइएको बताए । उपसमितिका संयोजक गोकर्ण विष्टले निजी क्षेत्रकामाग पूरा भएमात्रै विधेयक संसद्बाट पारित हुने बताए । सबै राजनीतिक दलकाशीर्ष नेताहरुले नै यसमा संसोधन प्रस्ताव राखेको स्मरण गराउँदै बिष्टले भने, ऊर्जा उत्पादकहरुका कुरा समेटेर लगानीको सुरक्षा हुने गरी मात्रै विधेयकआउनेमा ढुक्क हुननिजी क्षेत्रका प्रतिनिधिहरुलाई आग्रह गरे ।

२०४९ कै ऐनमा विद्युत व्यापार थपौ, अहिलेको विधेयक प्रतिगामी
इप्पानको तर्फबाट प्रस्तुतीकरण दिंदै इप्पान उपमहासचिव प्रकाश दुलालले २०४९ को विद्युत ऐनले निजी क्षेत्रलाई आयोजनाको पहिचान र विकास गर्ने अधिकार दिएकोमा अहिलेको विधेयकको दफा ५ ले त्यसको ढोका बन्द गरेको बताए । त्यसको सट्टा सरकारी निजी सबै कम्पनीले प्रतिस्पर्धाको आधारमा आयोजना लिनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । दफा ६ को प्रावधानले विद्युत नियमन आयोग ऐनको अधिकार खोसिएको बताउँदै उनले भने स्वदेशमा खपत हुने १०० मेगावाटभन्दा साना विद्युत आयोजनाको विद्युत् खरिद नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा विद्युत नियमन आयोगले तोके अनुसार हुने व्यवस्था विद्युत नियमन आयोगमा ऐनमा भएकोले र सो भन्दा माथिका आयोजनाको हकमा विद्युत् नियमन आयोगले विद्युत् खरिद दर निर्धारण गर्ने व्यवस्था भएको र सोहीअनुसार गर्न उपयुक्त छ ।

दफा ७ मा क मा रहेको प्रतिस्पर्धाको प्राविधिकआधारमा सम्बन्धित क्षेत्रको अनुभव हुनुपर्ने व्यवस्थाले जलविद्युत क्षेत्रमा सिन्डिकेट कायम हुने भएकाले नयाँ लगानीकर्तालाई पनि यो क्षेत्रमा प्रवेश दिनको लागि उक्त व्यवस्था हटाउनुपर्ने उनले बताए । यसैगरी दफा ७ को प्रतिस्पर्धाको आधारः ख) को आर्थिक आधार प्रावधानले आयोजना निर्माण अगाडि नै सरकारलाई यतिधेरै रकम र सुविधा दिनु परेपछि जलविद्युतको उत्पादन लागत महंगो भई स्वदेशी उपभोक्तालाई विद्युत महंगो हुन जाने भएकोले र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै दुलालले भने- विद्युत विधेयकका यी प्रावधानले विद्युतको उत्पादन लागत सस्तो बनाउने, रोजगारी बढाउने, आन्तरिक अर्थतन्त्रमा योगदान दिने विषयहरु समेट्नुपर्नेमा अहिलेको विधेयकले लाइसेन्स बेचेर देशलाई धनी बनाउने उल्टो सपना देखेको छ ।

यसैगरी दफा १९ अनुमति पत्रको अवधिको सम्बन्धमा उपदफा १ को (क) जलाशययुक्त जलविद्युत आयोजनाको हकमा ५५ वर्ष र अन्य प्रकृतिका जलविद्युत् आयोजनाको हकमा ५० वर्ष (ख) जलश्रोतबाहेक अन्य विविध स्रोतबाट विद्युत् उत्पादन गर्न ३५ वर्ष उपदफा ५ यो ऐन जारी हुनुभन्दा अगाडि अवधि तोकी जारी भएका आयोजनाको हकमा अनुमति पत्रको अवधि तोक्न विद्युत् ऐन २०४९ को दफा (१०) को उपदफा (४) जम्मा लागानीको पचास प्रतिशतसम्म विदेशी व्यक्ति वा संगठित संस्थाको लगानीमा वा विदेशी लगानीविना स्थापना गरिएको विद्युत उत्पादन केन्द्र वा प्रसारण तथा वितरण लाइनको सञ्चालन तथा व्यवस्थापन अनुमती पत्रमा तोकिएको अवधि समाप्त भएपछि पूर्वअनुमती पत्र प्राप्त व्यक्तिले सरकारसँग सम्झौता गरी सम्झौता बमोजिम गर्नुपर्ने छ भन्ने व्यवस्था यथावत् राख्न सुझाए ।

दफा ५७ (क) ५०० मेगावाट भन्दा ठुला जलाशययुक्त र बहुउद्देश्यीय आयोजना भएमा मात्रै सम्झौता गरी जलविद्युत् आयोजनाको विकास तथा सञ्चालन गर्न सक्ने व्यवस्था गर्न आग्रह गरे । उनले जुनसुकै क्षमताको भए पनि जलविद्युत आयोजनाको अनुमति संघले दिनुपर्ने र त्यसवापतको रोयल्टी स्थानीय र प्रदेश सरकारले पाउने व्यवस्था गर्नुपर्ने पनि बताए । उनले उद्यमशीलता र देश बचाउने हो भने अहिलेको यो विधेयक फिर्ता हुनुपर्ने पनि बताए ।

उपसमितिको छलफलमा कसले के भने ?
इप्पानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले अहिलेको विधेयक निजी क्षेत्रलाई कसरी नियन्त्रण गर्ने भन्ने मानसिकताबाट मात्रै आएको बताए । २०४९ को ऐनमा टेकेर आज निजी क्षेत्रले ७० प्रतिशत हिस्सा लिएको बताउँदै आचार्यले बगेर जाने पानी भोलि हाइड्रोजनले विस्थापित गर्नसक्ने भएकाले निजी क्षेत्रले उपयोग गरेको कुरामा इष्र्या नगर्न आग्रह गरे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत विधेयक प्रतिगामी नै भएकाले यसलाई गहन तरिकाले छलफल गरेर सरोकारवालाको सुझावविना पारित गर्न नहुने बताए । इप्पानका उपाध्यक्ष तथा नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) का सञ्चालक उत्तम भ्लोनले विद्युत विधेयकमा विद्युत व्यापार गर्ने कम्पनीलाई २५ वर्षका लागि मात्रै अनुमति दिने कुरा राखिएकोले सरकारलाई कर तिरेर व्यापार गर्ने कम्पनीको अनुमतिपत्रको अवधि स्वतः नवीकरण हुने व्यवस्था गर्नुपर्ने बताए ।

इप्पानका महासचिव बलराम खतिवडाले उत्पादन अनुमतिपत्रको अवधि आयोजनाले व्यापारिक उत्पादन शुरु गरेपछिमात्रै गणना गर्ने व्यवस्था गर्नुपर्ने बताए । इप्पानका सचिव हिम पाठकले आयोजनाको लाइसेन्स संघबाटै जारी हुनुपर्ने स्थानीय र प्रदेश सरकारले सिफारिशमात्रै गरे पुग्ने गरी व्यवस्था गर्नुपर्ने बताए । उनले नेपाली जलविद्युत कम्पनीलाई विदेशका शेयर बजारमा लिस्टेड गर्न दिने व्यवस्था गर्न पनि माग गरे ।

इप्पानका सल्लाहकार कृष्णप्रसाद भण्डारीले २०४९ को विद्युत ऐनमा विद्युत व्यापार र संघीयताका कुरा थपेर संशोधन गर्नु उपयुक्त हुने भन्दै अहिलेको ऐन संसद्बाट फिर्ता हुनुपर्ने बताए ।इप्पानका सल्लाहकार लालकृष्ण केसीले नेपाल सरकारले ल्याएको विद्युत विधेयक नेपालीलाई नै निषेध गर्नेगरी आएको बताए । उनले अहिलेको विधेयक नेपालीको लागि भन्दा पनि विदेशी कम्पनीको लागि मात्रै ल्याउन लागिएको भन्दै यस्तो विधेयक कसले ड्राफ्ट गर्‍यो भनी प्रश्न समेत गरे । २०४९ कै विधेयकमा ४-५ वटा बुँदा संशोधन गरेर जाँदा धेरै राम्रो हुने उनको भनाइ थियो । इप्पानका सल्लाहकार पुष्पज्योति ढुङ्गानाले विद्युत विधेयक निकै नै प्रतिगामी भएकोले यसलाई फिर्ता गर्नुपर्ने बताए । बरु सरकारले आयोजनालाई उत्पादन अनुमतिपत्र दिएपछि जग्गाप्राप्ति र रुख कटानको लागि थप अनुमति लिनुनपर्ने व्यवस्था गरे आयोजनाको लागत घट्ने र सबै लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताए ।

इप्पानका सल्लाहकार गुरुप्रसाद न्यौपानेले यो विधेयक हतारमा ल्याउन आवश्यक नभएको बताए । उनले २०४९ कै ऐनलाई केही संशोधन गरेर विद्युत व्यापारको कुरा थप गरिदिए अहिलेको समस्या हल हुने भएकाले यो विधेयकलाई राम्रोसँग छलफल गरेर १-२ वर्ष ढिलो जारी गर्दा फरक नपर्ने बताए ।

वरिष्ठ अधिवक्ता केदार कार्कीले २०४९ को ऐनलाई संशोधन गरेर विद्युत व्यापार, सुरक्षा, संघीयता लगायतका ४-५ वटा बुँदा थप्दा पुग्ने भएकाले नयाँ विधेयक नचाहिने बताए । इप्पान सदस्य शंकर बस्यालले अरब देशहरु तेल बेचेर धनी भएको भन्दै नेपालले पानीको उपयोग गरेरै धनी हुनुपर्ने भएकाले यसको उपयोग गर्दा विरोध हुन नहुने बताए ।

इप्पान सदस्य कुवेरमणी नेपालले पहिलेको विधेयकमा विद्युत व्यापार थप गर्दा पुग्नेमा एउटा समस्याको समाधानका लागि ल्याइएको विधेयकमा १० वटा नयाँ समस्या थपिएको बताए । इप्पान सदस्य मिथुन पौडेलले जलविद्युत, सोलार, हाइड्रोजन लगायतका ऊर्जाका लागि फरक फरक नीति जारी गर्नुभन्दा एकीकृत ऊर्जा नीति ल्याउनुपर्ने बताए ।

प्रकाशित समय १९:१७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु