एभरेष्ट बैंकद्वारा नेपाल अटो र इ–रिक्सा चालकहरुलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण
रुपन्देही । एभरेष्ट बैंक लिमिटेडद्वारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाका उप–प्रमुख श्रीमती जागेश्वरदेवी चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधारणहरुलाई सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तीय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमाबासीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसला मिल्ने, नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाउनका साथै नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिसँग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबारबाट झन्झटमुक्त हुने र व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरी आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रोत्साहन तथा निरन्तरता दिने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्रराज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रतीले सयजना भन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तीय साक्षरता सचेतना प्रदान गर्नुभयो । सो वित्तीय साक्षरता सचेतना कार्यक्रममा उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गर्नुभयो ।
फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो भने तिलोत्तमा नगरपालिकाका-५ का वडाअध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्गबहादुर केसी, तिलोत्तमा नगरपालिकाको कार्यालयका आर्थिक विकास तथा प्रमुख कृष्णप्रसाद पाण्डेलगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धक हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लवप्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायत अन्य विशिष्ट कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफनो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
प्रकाशित समय १५:२१ बजे




















