सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ : सिइओ ढुंगाना
मोरङ्ग । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँ क्षेत्रका जनताको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि प्रयास रहने बताएका छन् । सिइओ ढुंगानाले नबिल बैंकको २६६ औं शाखा मोरङ्ग जिल्लाको सुन्दरहरैंचा नगरपालिका गोठगाउँ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटनका अवसरमा सो कुरा बताएका हुन् । उनले बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको समेत बताए । सिइओ ढुंगानाले भने– ‘निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडिटोरियम हल निर्माणमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौं ।’
गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङ्गका सभापति राकेश सुराना, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च अधिकारीहरूको उपस्थितिे रहेको थियो । नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।
मन्तव्य दिने क्रममा प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए । उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताए । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैंकिङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीयवासी समेत लाभान्वित हुने कुरा बताए ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
प्रकाशित समय १५:५२ बजे


















