1100×100 Nabil Advert

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा पाख्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरुमा फैलिसकेको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिंदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको त्यहाँका चिकित्सकहरू बताउँछन् । जिल्ला अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरु दैनिक तीन दर्जनसम्मको संख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जीतेन्द्रकुमार महतोका अनुसार भाइरलबाट सङ्क्रमितहरु दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेका छन् ।

एक हप्तादेखि यता भाइरल ज्वरोको प्रकोप फैलिंदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजाबास, चुहाडे क्षेत्रमा अहिले ज्वरोको प्रकोप तीव्र रुपमा फैलदै गएको छ ।

उदयपुर जिल्ला अस्पतालका अनुसार डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप पूर्णरुपमा न्यूनीकरण नभई फेरि भाइरल ज्वरोको प्रकोप बढ्न शुरु गरेको हो । अहिले नगरपालिका क्षेत्रको गाईघाट, बजार, बोक्से, पुरानो गाईघाट, असारी, खैजनपुर र मोतिगडा क्षेत्रका धेरै बासिन्दा भाइरलका कारण सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको नगरपालिका क्षेत्रमा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो । हालसम्म नगरपालिका क्षेत्रमा मात्र झण्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

यस्तै नगरक्षेत्रका बालबालिकासहित अन्य उमेरकासमेत गरेर झण्डै तीन हजारको सङ्ख्यामा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको बेला पुनः भाइरल ज्वरोको प्रकोपसमेत तीव्र रुपमा फैलदै जान थालेको स्वास्थ्य कार्यालयले बताएको छ ।

प्रकाशित समय १६:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु