1100×100 Nabil Advert

काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रावृति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन आह्वान गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । पहिलो चरणमा सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ भने भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।

 

महानगरको शिक्षा विभागले गरेको सिफारिस विरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारवाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भइरहेको जनाउँदै महानगरले अन्यलाई पनि आज साँझ ५ बजे (एक दिन) सम्म निवेदन दिने समय दिएको हो ।

 

कक्षा ११ को छात्रवृत्तिका लागि साउन २० गते महानगरले लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । जसमा विज्ञान विषयमा १४ सय ५२ जना, व्यवस्थापन विषयमा ७ सय ४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इन्जिनियरिङ्ग ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउँनेछन् ।

 

उक्त कोटामा सहभागि हुने विद्यार्थीलाई विभिन्न क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको महानगरले जनाएको छ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रमा अध्ययन गरेका विद्यार्थी परेका छन् ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यामिक तहसम्म्को शैक्षिक अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्य महानगरको रहेको महानगरद्वारा सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

प्रकाशित समय १२:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु