1100×100 Nabil Advert

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

रामेछाप । रामेछापको मन्थली नगरपालिका-४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गर्नुभएको छ । चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारीमा गर्नुभएकी उहाँलाई अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रापालन व्यवसाय थाल्नु भएको हो ।

 

‘अरुले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ’, केसीले भन्नुभयो । बाख्रापालनका लागि अहिले उहाँले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गर्नुभएको छ । बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाउनुभयो ।

 

वि.सं. २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताउनुभयो । उहाँले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहनुभएको छ । उहाँका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्-श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ । वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ ।’

 

गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ । तर पनि उहाँ निरन्तर बाख्रापालन खटिनुभएको छ । ‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ’, केसीले भन्नुभयो ।

प्रकाशित समय ०८:२७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु