दर्जनौं निर्माण व्यवसायीहरु पक्राऊ
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बूँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिंचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राऊ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
‘हामीले नौं बूँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं । प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राऊ गरेको छ,’ सिंहले भने । आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राऊ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
प्रकाशित समय १२:२९ बजे





















