टनका टन सुन भारत गइरहेको छ : डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् । शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।
‘भारतमा १३ सयदेखि १४ सय टन सुन खपत हुने रहेछ, त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन ।’ उनले भने ‘४ सयदेखि ५ सय टन सुन अवैधरुपमा भारत गइरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले पनि गइरहेको छ, हामीलाई सूचनामात्र नभएको हो ।’
त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए । उनले भने– ‘ओलीजी प्रधानमन्त्री हुँदाखेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौं । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नु हुँदैन, जुन पहिले जहाँ थियो, त्यहीं हुनु, पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओलीजीले सुन्नुभएन । तर दुर्भाग्य, हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो, उहाँले पनि सुन्नु भएन । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं, उहाँले पनि आफ्नै मातहतमा राख्नुभयो ।’
सुन प्रकरण शुरु हुने साथै सिआइबीलाई अनुसन्धानका लागि दिन आफूहरुले आग्रह गरेको उनको भनाई छ । ‘सुन काण्ड हुनु भन्दा ७ दिन पहिले नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागमा लगियो । सुन काण्ड भयो । प्रहरीलाई सहभागी गराइएन । हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर’ उनले भने ।
अर्को प्रशंगमा उनले नेपाली कांग्रेसमा व्यक्तिवादी, स्वार्थीपनाको चरित्र हावी भएको बताए । यस्ता क्रियाकलापले पार्टीलाई कमजोर पार्ने भन्दै उनले विधिविधानलाई मिच्ने प्रवृत्तिप्रति नेपाली कांग्रेस होसियार हुनुपर्ने बताए ।
प्रकाशित समय १७:४३ बजे





















