सिभिल बैंकले चलायो एक महिने अभियान
सिभिल बैंक लिमिटेडले नवौं वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न कार्यक्रम गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको कार्यक्रमहरु गरेको हो । जसअन्तर्गत रक्तदानमा कूल १३५४ पिन्टर गत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी बैंकले आफ्ना २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

त्यसैगरी बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । लेखनाथस्थित त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ । चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ । बैंकको ईलामस्थित माई जोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।

बैंकको झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ भने निजगढ शाखाको उद्घाटन समारोहमा श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरेको छ । सिभिल बैंककले वार्षिकोत्सवको अवसर पारेर एक महिनाभरी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।
प्रकाशित समय २०:५२ बजे




















