क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ : संयोजक रञ्जितकार

वडादशैंको अवसर पारेर ललितपुरको कुपण्डोलमा स्थानीय गणेश युवा क्लबले दशै फेष्टको आयोजना गरेको छ । शुक्रबारदेखि कुपण्डोलको बागमति नदी किनारामा शुरु भएको दशै फेष्ट आइतबारसम्म चल्ने आयोजक संस्था गणेश युवा क्लबले जनाएको छ । दशै फेष्टमा मुलुकका चर्चित गायक तथा कलाकारहरुले प्रस्तुति दिएका छन् । केही वर्षदेखि निष्क्रिय जस्तो देखिएको गणेश युवा क्लबले यस वर्षदेखि सक्रियता देखाएर यस्तो कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु आयोजना हुने क्लबले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनरमा क्रसचेक मासिक, मध्यान्ह राष्ट्रिय दैनिक, अर्थमाण्डू डटकम, अनलाइन पाना डटकम आदि मिडियाहरु रहेका छन् । क्लबले आयोजना गरेको दशै फेष्ट कार्यक्रमका बारेमा कार्यक्रम संयोजक मनिस रञ्जितकारसँग क्रसचेकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश ।
० केही समयदेखि निष्क्रिय देखिएको गणेश युवा क्लब अब पुनः सक्रिय भएको हो ?
निश्चय पनि । केही समयदेखि हाम्रो गणेश युवा क्लब निष्क्रिय जस्तै भएको थियो । अब भने त्यस्तो हुँदैन । हामी अब क्लबलाई सक्रियरुपमा अघि बढाउनेछौं । गणेश युवा क्लब भनेको गैरनाफामूलक संस्था हो । यो क्लबले विशुद्ध सामाजिक कार्यक्रमहरु गर्नेछ । हामीले यसपाली दशैको अवसर पोरेर शुक्रबारदेखि दशै फेष्टको आयोजना गरेका छौं ।
० दशै फेष्ट कस्तो भइरहेको छ त ?
दशै फेष्ट एकदम राम्रो चलिरहेको छ । हामीले यो महोत्सवलाई भव्य र सभ्यरुपमा सम्पन्न गराउनका लागिपरेका छौं । हाम्रो टिम सक्रिय छ । हामी सबै मिलेर यसलाई सम्पन्न गराउँदैछौ । शुक्रबार हाम्रो कार्यक्रम केही ढिला गरी शुरु भयो । व्यवस्थापनलगायका धेरै कामहरु थिए । हामीले शुक्रबार फ्रि पासको व्यवस्था ग¥यौं । जेहोस शुक्रबार भने भव्यरुपमा सम्पन्न भएको छ ।
० भनेपछि अरु दिनचाहिं टिकेटिङको व्यवस्था गर्नु भएको छ हो ?
हामीले शुक्रबार पहिलो दिन भएकाले पनि निःशुल्क प्रवेश दियौ । अरु दिन भने हामीले टिकट शुल्क लिनेछौं । जेहोस धेरै महंगो छैन । जम्मा एक सय रुपैयाँ मात्रै हामीले राखेका छौं ।
० पहिलो दिन त राम्रै दर्शक आए भन्नु भयो, अरु दिन कत्तिको दर्शकहरु आउने अपेक्षा गर्नु भएको छ ?
पहिलो दिन कार्यक्रम राम्रो भएको हामीले ठहर गरेका छौं । पहिलो दिननै दर्शकहरुको राम्रो उपस्थिति देखियो । कार्यक्रममा विशेष प्रस्तुति रहनेछ । चर्चिच–चर्चिट स्टारहरुको दमदार प्रस्तुति हुने हुँदा दर्शकहरुको साथ सहयोग राम्रो हुने हामीले अपेक्षा गरेका छौं ।
० कार्यक्रममा कुन–कुन कलाकारहरुको प्रस्तुतिको हुँदैछ, यसको बारेमा बताइदिनोस् न ?
कार्यक्रममा लाहुरे, सुगम पोखरेल, राधिका हमाल, डान्स रिया श्रेष्ठ, अर्की डान्सर प्रसन्ना पाण्डे, कुबेर खड्गी लगायतको दमदार प्रस्तुति रहनेछ ।
० यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य चाहिं के हो ?
यो कार्यक्रम हामीले ललितपुरको कुपण्डोललाई चिनाउन र हाम्रो गणेश युवा क्लबलाई जागरुक गराउन पनि आयोजना गरेका हौ । यो हाम्रो च्यारिटी पनि हो । हामीले आम्दानी भएको रकमबाट ललितपुरको सानेपामा रहेका ज्येष्ठ नागरिक आमाबुवाहरुलाई सहयोग समेत गर्नेछौं ।
० यो कार्यक्रम आयोजना गर्नका लागि तपाईहरुलाई क–कसले सहयोग गरेको छ ?
हाम्रो मुख्य प्रयोजक भनेको टुबर्ग हो । त्यपछि हामीलाई स्पोन्सर गर्ने अर्को कम्पनी हाइल्याण्डर ह्वीस्की छ । सपोर्टेड बाईमा सिप्रदी ट्रेडिङ तथा नाइटिंगेल स्कूलले सहयोग गरेको छ ।
प्रकाशित समय २१:०० बजे