बीमा प्राधिकरणले गर्यो रामग्राम नगरपालिकामा जानकारीमूलक कार्यक्रम
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको रामग्राम नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बीमा व्यक्ति र सम्पत्तिको जोखिमसँग जोडिएको विषय भएकाले कुन–कुनको बीमा हुन्छ र कुन–कुनको बीमा हुँदैन भन्ने बारेमा सबैलाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रमुख यादवले जोखिम कम भएकाको बीमा सहज तरिकाले हुने तर बढी जोखिम देखिएकाको भने बीमा गर्न कठिन हुने समस्या देखिएको बताउनुभयो । रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरीले बीमा कम्पनीहरूले बीमा गर्न आकर्षित गर्ने तर, दाबी भुक्तानी समयमा भने विभिन्न बहाना बनाउने जस्ता समस्या रहेको उल्लेख गर्नुहुँदै दाबी भुक्तानीलाई सहज बनाउने भएका बीमाको पहुँच विस्तारमा समन्वय गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले बीमासम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुहुँदै बीमा सम्बन्धी कुनै गुनासा भए प्राधिकरणमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा सहभागीहरूले कृषिबीमाको दाबी भुक्तानी दुई वर्षसम्म पनि नपाएको, कोरोना बीमाको दाबी भुक्तानी अझैसम्म नभएको, बीमा सजिलै गर्ने तर दाबी भुक्तानीका बेला अनेक कागजात मागेर हैरान गर्ने गरेको, काँचो इँटाको बीमा गर्न नमानेको लगायतका गुनासाहरू गर्नुभएको थियो । कार्यक्रममा रामग्राम नगरपालिकाका वडा अध्यक्ष, कार्यकारी सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित समय १७:३७ बजे





















