जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं
बीमा सामाजिक व्यवसाय हो

विक्रान्त पाण्डे नेपालको सबैभन्दा जेठो बीमा कम्पनी नेपाल इन्स्योरेन्सको डीजीएम हुनुहुन्छ । बुबा स्व.ईश्वरराज पाण्डे र आमा सरिता पाण्डेका सुपुत्र विक्रान्त पाण्डेको पारिवारिक पृष्ठभूमि नै खान्दानी थियो । सानैदेखि नै समाजका लागि, राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने थियो उहाँको मनमा । पारिवारिक पृष्ठभूमि नै शिक्षा बुझेको भएको हुनाले अध्ययन, अनुसन्धान र चिन्तन यी तीनवटा कुरालाई बाल्यकालदेखि नै साथसाथ लिएर अगाडि बढ्नुभएका पाण्डेले पब्लिक एडमिनिष्ट्रेशनमा मास्टर्स गर्नुभएको छ । सानैदेखि समाजका लागि, मानव सभ्यताको विकासका लागि केही गरौं भन्ने पाण्डेसँग बीमाको बजारमा नेपाल इन्स्योरेन्सको विगतदेखि वर्तमानसम्म, मिलेमतोमा हुने गरेका बीमा दाबीहरुको भुक्तानीका विषय, संसारभर अहिले भइरहेको कोरोनाको प्रभावले पार्नसक्ने प्रभावलगायतमा केन्द्रित रहेर क्रसचेक मासिकका सम्पादक टंक कार्कीले गरेको कुराकानी ।
० कहिलेदेखि प्रवेश गर्नुभयो बीमा व्यवसायको क्षेत्रमा ?
बीस वर्ष अगाडिदेखि मैले बीमा क्षेत्रमा काम गर्न शुरु गरेको हो । पहिला त म अभिकर्ता बनेर बीमा क्षेत्रमा प्रवेश गरेको हुँ । त्यसपछि मैले जागिर शुरु गरें प्रुडेन्सियल इन्स्योरेन्सबाट । जागिरको सिलसिलामा जब इन्स्योरेन्समा मैले प्रवेश गरें, मलाई के महसूस भयो भने मेरो जुन चाहना थियो अरु सबैलाई सहयोग गर्ने, दुःखी–पीडित, पीरमर्कामा परेकालाई केही गरौं भन्ने । उनीहरुलाई केही खुशी दिऊँ, उनीहरुको जीवनमा ऊर्जा थपौं भन्ने मेरो त्यो त वास्तविकतामै इच्छा थियो । वास्तवमा मुद्राले नै ‘ड्राइभ’ गरेको छ आजको संसार र बीमा चाहिं एउटा आर्थिक प्राथमिक उपचार केन्द्र भन्छु म । यो चाहिं दूर्घटना पर्दाखेरि ‘फाइन्ससियल फस्ट एड’ हो । मैले आफूले लिएको, ग्रहण गरेको र बुझेको पनि । र बीमामा विश्वास नै यसको सुन्दर पक्ष हो । बीमा भनेकै विश्वास हो । र यसको सबभन्दा राम्रो पक्ष मानव सभ्यताको विकासको लागि आवश्यक रहेछ । यसको ‘फस्ट प्रिन्सिपल’ त्यो किन बनेको रहेछ भनेर पछि त्यसमा भिज्दै गएपछि, डुब्दै गएपछि आफूलाई ज्ञान भयो । आजको दिनसम्म नेपाली दाजुभाइ दिदीबहिनीलाई निर्जीवन बीमामा आबद्ध भएर सेवा प्रदान गरिरहेको छु । उहाँहरुका आवश्यकताहरु जहिले पनि आफूलाई ग्राहकको ठाउँमा राखेर, ग्राहकमुखी बनेर, ग्राहकसेवालाई नै जहिले पनि प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेका छौं ।
बीमाले सबै चिज प्राप्त भयो । यसमा केही कमी छैन । र प्रभुको आशीर्वाद र भगवानको कृपाले आर्थिक पनि कमी छैन, सामाजिक पनि कमी छैन, भौतिक पनि कमी छैन । खुशियाली पनि असाध्यै छ । खुशी पनि असाध्यै छु म । र, त्यसरी जीवनको औचित्य सम्पूर्ण मानव समुदायको लागि के हो त ? र मानव समुदायको लागि मेरो जीवनको औचित्य के छ ? त्यहीं खोजमा अगाडि बढिराखेको छु ।
० नेपाल इन्स्योरेन्समा प्रवेश चाहिं कहिलेदेखि गर्नुभयो ?
नेपाल इन्स्योरेन्स चाहिं नेपालको पहिलो बीमा कम्पनी हो । यो २००४ सालमा स्थापित भएको हो । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले स्थापित गरेको हो यो कम्पनी । यसमा करिब–करिब ३ वर्ष अगाडि मेरो प्रमुख कार्यकारी अधिकृतज्यू र म, उहाँ एक महिना अगाडि यहाँ आउनु भयो र म एक महिना पछाडि आएँ । यो नेपालको पहिलो बीमा कम्पनी, यसको जति ‘फेम’, जति आफ्नो पहिचान, आफ्नो गरिमा असाध्यै भएको कम्पनी हो । तर यस कम्पनीको गरिमालाई उजागर गर्न सकिएको थिएन । हामीले आएर त्यसलाई हरेक ढंगबाट, हरेक प्रकृतिबाट, हरेक प्रक्रियाबाट, हरेक क्षेत्रबाट यसको जन्मजात जेष्ठतालाई श्रेष्ठ बनाउने कार्यमा समर्पित भइरहेका छौं । त्यसलाई दुई–अढाई वर्षमै एउटा सफलता, प्रगतिको बाटोमा लैजान सफल भयौं । मेहनतको त सफलता आइहाल्यो । अहिले चाहिं नेपाल इन्स्योरेन्सले आफ्नो ‘फस्ट’ इन्स्योरेन्स लिडर बन्ने भूमिकामा अगाडि बढ्दैछौं हामी । नेपाल इन्स्योरेन्सलाई एउटा ‘लीड’ गरेर, राम्रो गरेर जाने चाहना छ । सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बीमाको दायरामा समेट्ने चाहना छ ।
० नेपाल इन्स्योरेन्सको बजारको अवस्था चाहिं कस्तो छ ?
खासगरी यो ७० वर्षमा हामी बजारको क्षेत्रमा सबैभन्दा राम्रो हुनुपर्ने थियो । तर, अहिले पनि न्यूनमै छौं । हाल यो आएर डेढ–दुई वर्षमा टपटेनको हिसाबमा छौं । पोलिशी होल्डरको हिसाबले, मार्केटको हिसाबले आकारको हिसाबले, रिर्टनको सबैको हिसाबले टपटेनबाट आफूलाई माथि ल्याउँदैछौं ।
० ‘टप’ ३ मा कहिलेसम्म पु-याइएला भन्ने आँकलन छ तपाईंहरुको ?
हाम्रो चाहना चाहिं अब आउने वर्षभित्रमा टप ३ मा पुग्ने यो वर्षमा हामीले ‘टप’ ५ मा आफूलाई
पु-याउने सोच बनाएका छौं । अघि मैले भनिहाले नि त्यो कस्तो हुदोरहेछ भने एउटा जिम्मेवारी नेपाल इन्स्योरेन्सलाई, खासगरी मलाई र मेरो प्रमुख कार्यकारी अधिकृतज्यूलाई एउटा ‘स्पेशल हाइब्रिड’ले झैं काम गर्नुपर्ने हुन्छ । जस्तो ‘हाइब्रिड’ले चाहिं ‘हाइली प्रोडक्टिभिटी’ दिनुपर्छ भन्ने हाम्रो ‘स्ट्याण्डर्ड’ नै उच्च छ । हाम्रो आफ्नै ‘सेल्फ एस्पेक्टेशन’ पनि उच्च छ । र हामीचाहिं त्यसमा विश्वास गरेर चाँडोभन्दा चाँडै घस्रेर होइन कि उफ्रेर ‘टप’ पोजिशनमा पुग्ने प्रक्रियामा छौं तर, त्यसरी ‘जम्प’ गर्नका लागि पहिला आफू आन्तरिक रुपमा ‘स्ट्रोङ’ हुनुप-यो । कति कमजोरी कुराहरुलाई केलाउनु प-यो, कमजोरीहरुलाई सुधार्नु प-यो । त्यो गरेर नेपाल इन्स्योरेन्स अगाडि बढेको अवस्था छ ।
० हामीले बिगतका केही वर्षहरुमा देखिरहेका थियौं, बीमा दाबी मिलेमतोमा पनि हुने गरेका थिए, कतिपय उद्योगहरु घाटामा जान थाले भने ‘इक्युपमेन्ट’हरुमा गडबडी गर्ने, आगजनी गर्ने र त्यसपछि बीमा दावी गर्न आउने गरेका थिए, अहिले त्यस्तो कत्तिको हुने गरेको छ ?
बीमा चाहिं यदि जीवनलाई हेर्नुहुन्छ भने बचत र सुरक्षा हो । लगानी हो । निर्जीवन बीमा चाहिं दूर्घटनासँग सम्बन्धित व्यवसाय हो । यसले दूर्घटनासँग ‘डिल’ गर्छ । हाम्रो पूर्वानुमान पनि उच्चतम विश्वासमा हुनेगर्छ । सत्य पनि त्यही हो । दूर्घटना त कसैको वशमा छैन । यसकारण दूर्घटना भयो भने त सम्बोधन गर्नु पनि पर्छ । दूर्घटना घटाइएको, दूर्घटना चाहनामा भयो भने त्यसले राम्रो गर्दैन । त्यसकारण हामी दूर्घटना कसैको पनि चाहना होइन, छैन, हुँदैन भन्ने एउटा ‘बेशिक एजम्शन’मा र विश्वासमा इन्स्योरेन्स कम्पनी अगाडि बढेको हुन्छ । एकाध कमी–कमजोरी नचाहँदा–नचाहँदै या कतै गलत नियतले हुनु समग्रमा त्यसले केही पनि अर्थ राख्दैन । त्यस्तोलाई हामीले निरुत्साहन नै गर्ने हो । दूर्घटना कसैको चाहना पनि होइन । कसैलाई पनि त्यसले फाइदा दिंदैन । कसैको लागि फाइदाको कुरा होइन, हुनु पनि हुँदैन ।
० आजभोलि कतिपय बैंकहरुले चाहिं निःशुल्क बीमा गराइदिने भन्छन्, के निःशुल्क बीमा हुने गरेको हो ?
यो संसारमा निःशुल्क भन्ने त धेरै कम चीज छ । छैन भनेर भन्न पनि सकिंदैन । प्रकृति निःशुल्कै छ । माया निःशुल्कै छ । जुन अत्यावश्यक छ, त्यो फेरि निःशुल्कै छ । त्यही भएर हामी पनि शिक्षा निःशुल्क गरौं, स्वास्थ्य निःशुल्क गरौं, सार्वजनिक यातायात निःशुल्क गर्ने भन्ने हो । बीमा त निःशुल्क छैन, अहिले केही पनि निःशुल्क होइन । त्यो के भनेदेखि त्यो बैंकका ग्राहकहरुलाई त्यो बैंकले या वित्तीय संस्थाले दिएको थप सुविधा हो । त्यसमा त्यो बैंक तथा वित्तीय संस्थाले आफूले लागत ब्यहोरेको हुन्छ । आफूले लागत ब्यहोरेर ग्राहकलाई शुल्क नलिएको हो । त्यसरी बुझ्दा खेरिचाहिं त्यो ‘भ्यालु एड’ गरेको हो । त्यसरी बुझ्यो भनेचाहिं राम्रो हुन्छ, त्यही हो सत्यता ।
० नेपाल इन्स्योरेन्सको आगामी योजनाहरु के छन् र यसलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
हामी नेपाल इन्स्योरेन्स चाहिं ‘ट्रान्सपरेन्सी’, हाम्रो पहिलो सिद्धान्त उच्चतम विश्वासमा चल्ने, द्वैध चरित्रको व्यवहार नगर्ने हामी जे हौं त्यो नै गर्ने । नेपाल इन्स्योरेन्स ‘फष्ट’ हो ‘द वेष्ट’ बनेर आउन चाहन्छौं । हामी आफ्ना हामीभित्र भएका कमी–कमजोरीलाई सुधार गर्दै, विकास गर्दै यसलाई अझै परिस्कृत गर्दै, समय सुहाउँदो, ग्राहकको चाहना, माग, आवश्यकताअनुसार अगाडि बढ्छौं । ग्राहकको चाहना एकातिर छ हाम्रो सम्बोधन अर्कोतिर भयो भने त्यसले मेल खाँदैन । त्यही क्रममा घुम्ती बीमा जुन अहिले राष्ट्रले नै अँगालेको छ । बीमा समितिको उद्देश्यमा नै घुम्ती बीमालाई नेपालभरी फैलाएर लानुपर्ने छ । मैले इन्स्योरेन्सलाई ‘इन्टे«स्ट्रिङ थिङ्स’ बनाउनुपर्छ भन्छु । यो संसारमा तपाईंलाई ‘इन्ट्रेष्ट’ लाग्यो भने केही चिज रहेछ भन्ने लागेर तपाईंले त्यसलाई समातेर चोकमा राखिदिनुभयो, पूजा गरिदिनुभयो भने त्यो त भगवान भइगयो । मन्दिर बनाइदिनु भयो त्यो त भगवान नै भइगयो । ‘इन्ट्रेष्टिङ’ लागेन भने त्यो केही होइन । इन्स्योरेन्सलाई ‘इन्ट्रेष्टिङ’ बनाउने, संसारमा इन्स्योरेन्सलाई ‘इन्ट्रेष्टिङ’ तरिकाले हेरिएको छैन । इन्स्योरेन्सलाई ‘इन्ट्रेष्टिङ’ तरिकाले प्रयोग गर्दै ‘फर द पिपुल, टु द पिपुल, अफ द पिपुल, बाई द पिपुल’ त्यो जरुरी छ । यो आवश्यकता हो । बीमा भएन भने तपाईंले स्वयम व्यहोर्नुपर्ने हुन्छ । यदि बीमा गर्नुभयो भने न्यून शुल्क तिरेर आफ्नो जोखिमलाई हस्तान्तरण गर्न सक्नुहुन्छ । तपाईंको जोखिम हस्तान्तरण भयो भने तपाईं राम्रो जीवन बाँच्नुहुन्छ । तपाईं राम्रो जीवन बाँच्नुभयो भने तपाईंको अझ उत्पादकत्व बढ्छ । सबैले समाजमा बीमा गर्नु आवश्यक छ । त्यसैले बीमा सामाजिक व्यवसाय हो । ‘सोसियल सेक्युरिटी’देखि लिएर पुनस्र्थापनासम्मको माध्यम हो, बीमा ।
० अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको कारणले बीमा तथा अन्य व्यवसायमा अल्पकाल तथा दीर्घकालमा कस्तो असर पार्ला, तपाईंलाई के लाग्छ ?
अल्पकाल तथा दीर्घकाल दुवैमा यसले अवश्य प्रभाव पार्छ । मानव जाति नै यस्ता सबै समस्यासँग लड्दै, भिड्दै, जित्दै अगाडि बढ्दै आएको छ । चाहे इथियोपियाको होस्, चाहे इराक होस्, चाहे चाइनाको होस्, चाहे नेपालको होस्, त्यसरी नै अगाडि बढेको छ मानव जाति । मानव सभ्यता नै हरेक आउने, दुःख–संघर्ष, व्याक्टेरिया, चाहे जुनसुकै किसिमको रोग होस्, प्रकृतिसँग जुध्दै आएको छ । हामीमा धेरै ‘आर्टिफिसियालिटी’ बढी भएका कारणले गर्दाखेरि कुनै समस्या त पैदा भइरहेको छैन ? अलिकति हामी ‘नेचुरल’ बनौं, जसले गर्दा मानव सभ्यताको अझ विकास होस् ।
प्रकाशित समय ०९:३२ बजे