मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख माछाका भुरा उत्पादन
जनकपुरधाम । यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ । केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो । भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ ।
यसैबीच, केन्द्रले सरकारी सम्पत्ति बहालबाट रु तीन लाख २४ हजार ३०० तथा अन्य प्रशासनिक सेवा प्रवाहबाट रु ५९ हजार आम्दानी गरेको छ । केन्द्रबाट उत्पादित भुरा मधेस प्रदेशका धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित बागमती प्रदेशका काठमाडौँ, सिन्धुली, रामेछाप र दोलखा तथा कोशी प्रदेशका सुनसरीलगायतका जिल्लाका किसानले खरिद गर्दै आएका छन् ।
केन्द्रले रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ । गत आर्थिक वर्षमा केन्द्रले चार करोड ७५ लाख पाँच हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ भुरा, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा दुई हजार किलो खाने माछा उत्पादन गरेको थियो । केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालकलाई तालिम तथा प्राविधिक ज्ञान दिँदै आएको छ । विसं २०१८ मा स्थापना भएको केन्द्रमा ७८ वटा माछापोखरी रहेकामा १९ वटा पोखरी प्रयोगविहीन छन् ।
प्रकाशित समय ०८:३८ बजे


















