1100×100 Nabil Advert

सुशीला कार्कीद्वारा प्रधानमन्त्री पदको शपथ ग्रहण

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

 

राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक दल र सरोकारबालासँगको परामर्शमा उहाँलाई नियुक्ति गर्नुभएको हो ।राष्ट्रपति पौडेलबाट नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिशमा छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो ।

 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो । जेनजीले उठाएका मागका विषयमा सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्रीले सानो मन्त्रिमण्डल गठन गर्ने र उक्त मन्त्रिमण्डलले गर्ने सिफारिशका आधारमा सरकारका प्राथमिकताका थप काम अघि बढाइनेछ । जेनजीले मुलुकमा सुशासन, नयाँ पुस्ताको नेतृत्व र निस्क्रिय तुल्याइएको सामाजिक सञ्जालको सञ्चालन सञ्चालनको माग राख्दै आयोजना गरिएको प्रदर्शनी र त्यसपछिका घटनामा ठूलो जनधनको क्षति भएको थियो ।

 

उक्त घटनापछि तत्कालिन सरकारका प्रदानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि उक्त आन्दोलनको माग अनुरूप पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।मुलुकमा अचानक बदलिएको राजनीतिक परिस्थिति र अन्यौलको वातावरणमा नेपाली सेनाको पहलमा क्रमशः कानुनी राज्य र अमनचयन कायम गर्दै वार्ता र संवादका माध्यमबाट नयाँ सरकार गठनमा सफलता मिलेको हो । सेनाले इतिहासदेखि नै प्राप्त जिम्मेवारीलाइ संविधान सम्मतढङ्गबाट प्रजातान्त्रिक-मूल्य मान्यताका आधारमा जिम्मेवारी बहन गर्दै आएको छ । निकै जटिलपूर्ण अवस्थामा संयम भई छोटो समयमा परिस्थितिलाई सहजरूपमा अवतरण गराउन सफल भएको छ ।

 

नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्की कार्यपालिका प्रमुख अर्थात् पहिलो महिला प्रधानमन्त्री बन्न सफल हुनुभयो । यसअघि उहाँ लामो समयसम्म वकालत गर्दै सर्वाेच्च अदालतको न्यायाधीश हुँदै उहाँ प्रधानन्यायाधीश हुनुभयो । न्यायालयभित्र प्रष्ट विचार, खरो स्वभाव र इमान्दार छवी बनाउनुभएकी उहाँको नेतृत्वको सरकारले प्राप्त समयाधिभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराई नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने छ ।

प्रकाशित समय २२:३२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु