1100×100 Nabil Advert

सगरमाथा संवादमा सहभागी हुन विश्वव्यापी नेतृत्वलाई आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद-२०२५’ मा सहभागी हुन आग्रह गर्नुभएको छ । टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) को वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा सिइओ जोशीले काठमाडौँमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तरराष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गर्नुभएको पर्यटन बार्डले जनाएको छ ।

 

सम्मेलनका क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौतासमेत सम्पन्न भएको बोर्डले जनाएको छ । जसअन्तर्गत ‘टुरिजम ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिनेछ । त्यसैगरी सिइओ जोशीले विश्व पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौँमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तरराष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

 

उक्त मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाको प्रवद्र्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ । “हिमालयन ट्राभल मार्ट केबल व्यापारिक भेला होइन, यो नेपालले दिनसक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ”, बोर्डको सिइओ जोशीले भन्नुभयो । ‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सिइओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय-आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलका बारेमा जानकारी गराउनुभएको हो । उहाँले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गर्नुभयो ।

 

बोर्डको प्रतिनिधिमण्डलले ‘ग्लोबल सस्टेनेबल टुरिजम् काउन्सिल’ का प्रमुख कार्यकारी अधिकृत डा र्‍याण्डी डब्र्यान्डसँगको छलफलमा गन्तव्य प्रमाणीकरण, सदस्यता, अनुसन्धान तथा क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य विस्तार गर्ने सहमति भएको सिइओ जोशीले जानकारी गराउनुभएको छ । सम्मेलन अवधिभर बोर्डको प्रतिनिधिमण्डलले पर्यटन विज्ञ, तथ्याङ्क वैज्ञानिक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञ तथा वातावरणविद्हरूसँग विभिन्न छलफल र बैठकहरू गरेको छ । सम्मेलनका क्रममा नेपालको पर्यटन क्षेत्रलाई दिगो, तथ्यमा आधारित र विश्वसनीय गन्तव्यका रूपमा पुनःस्थापना गर्ने रणनीतिलाई सुदृढ गर्ने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

प्रकाशित समय १३:३७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु