बैंकले उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ : सिइओ गुरुङ
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको बताउनुभएको छ । बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सिइओ गुरुङले भन्नुभयो- ‘गौरवमय इतिहास बोकेको कृषि विकास बैंकले नेपालका सम्पूर्ण कृषकलगायत उद्योगपति, व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकलाई यो अवस्थासम्म ल्याइपुर्याउनुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, उद्यमी-व्यवसायीहरु साथीहरु, कर्मचारी मित्रहरु, भूतपूर्व तथा वर्तमान कर्मचारीहरु, नेपाल सरकार लगायत शुभचिन्तकहरुमा कृषि विकास बैंकको तर्फबाट हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । सधैं तपाईंहरुको साथ सहयोग कृषि विकास बैंकलाई रहिरहोस् ।’

यसैबीच वार्षिकोत्सवकै अवसरमा माघ १ गतेबाट शुरु भएको ‘एडिबिएल कर्पोरेट फुटसल २०८१’ समेत ५ गते सम्पन्न भएको छ । विभिन्न कर्पाेरेट हाउसहरुका बीचमा आत्मीयता र सम्बन्ध विस्तार प्रयोजनार्थ आयोजना गरिएको एडिबिएल कर्पोरेट फुटसल २०८१ मा महिलातर्फ कूल १० टिमको सहभागिता रहेकोमा आयोजक कृषि विकास बैंकको टिमले फाईनलमा ग्लोबल आईएमई बैंकको महिला टिमलाई नियमित समयको खेल ०-० मा सकिएपछि सडन डेथमा २-१ गोल अन्तरले पराजित गरी उपाधि जित्न सफल भएको छ । त्यसैगरी पुरुषतर्फको खेलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमले फाईनलमा ग्लोबल आईएमई बैंकको टिमलाई ३-० गोल अन्तरले पराजित गरि उपाधि जित्न सफल भएको छ ।
प्रकाशित समय ०८:२८ बजे




















