स्वदेशी उत्पादनमा ध्यान दिन सकिएन भने अवस्था अझ बिग्रँदै जान्छ
सरकारले अरु केही नगरे पनि आफ्नो देशको आगि अत्यावश्यक पर्ने वस्तुको आयात गर्न नपर्ने गरी उत्पादन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुहुन्छ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ । जसले गर्दा रोजगारी सिर्जना हुनुका साथै विदेशको भर पर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ । विश्वका सबै सामान नेपालमा पाइन्छ तर ती सबै सामानहरु बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यहीको उत्पादन केही पनि छैन । हामीले अब आफ्नै उद्योगहरू स्थापना गरेर आफ्नो उत्पादन पनि गर्नुपर्ने हुन्छ भन्ने धारणा राख्नुहुने श्रेष्ठसँग क्रसचेकमा प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश:
० वालिङ क्षेत्रको उद्योग व्यवसायको अवस्था कस्तो छ ?
उद्योेग वाणिज्य संघले आफूले गर्ने नियमित कामहरू गरिरहेको छ । यो पहाडी भूभाग त्यसमाथि पनि बसाइँसराइको दर धेरै भएकाले यहाँ आर्थिक गतिविधिहरू धेरै हुँदैनन् । सानातिना उद्योगहरू रहेका भए पनि ठूला उद्योगहरू छैनन् । यहाँका स्थानीय उत्पादनलाई हामीले प्रोत्साहित गर्ने काम पनि गरिरहेका छौं । यहाँका व्यवसायीहरूका समस्याका विषयमा छलफल गरेर महासंघमार्फत् सम्बन्धित निकायमा सुझावका रुपमा पनि हामीहरूले पठाउने गरेका छौं । ती समस्याहरू हामी आफैंले समाधान गर्नसक्ने अवस्था पनि छैन ।
० कोभिडपछि अधिकांश व्यवसाय खस्किएको छ, त्यसको असर कस्तो पर्यो ?
यहाँको व्यवसाय निकै कम भएको छ । व्यवसाय खस्कँदै गएको छ । २०४८ सालमा स्याङ्जाको जनसंख्या ३ लाखभन्दा बढी थियो । त्यो बेलादेखि म व्यवसायमा लागेको हुँ । अहिले यहाँको जनसंख्या २ लाखभन्दा केहीमात्र बढी छ । यसले गर्दा पनि व्यवसाय निकै कम भएको छ । अर्कोतर्फ यहाँबाट युवाहरू विदेश जाने क्रम पनि बढिरहेको छ । कोही राम्रो देशमा गएका छन् । कोही खाडीमा भए पनि गएको अवस्था छ । यसले गर्दा यहाँको बजार खासै चलायमान भएको छैन । आर्थिक गतिविधिका रुपमा स्याङ्जा अगाडि हो । तर, हाम्रा उपभोक्ताहरू यहाँ नभएको अवस्थामा व्यवसाय निकै कम भएको छ । सरकारले विभिन्न चिजमा आत्मनिर्भर भएको भनेर भनिरहेको छ । जस्तो एउटा उदाहरणका रुपमा सरकारले खसीमा आत्मनिर्भर भएको भनेको छ । तर खसी खाने मानिस पनि हुनुपर्यो होला नि ! खसीको मासु खानेहरू विदेशमा भएको अवस्थामा यहाँ आत्मनिर्भर भएको भनेर के गर्नु ? १८ वर्षभन्दा मुनिका र ५० वर्षभन्दा माथिका मानिसहरू मात्रै नेपालमा रहेको अवस्था छ । यो अवस्थामा हामीहरूलाई कोरोनाका कारणले भन्दा पनि ठूलो समस्या भएको छ । कोरोनाले समस्या नपारेको भने होइन । तर अहिले विदेश जानेक्रमले गर्दा व्यवसायमा निकै समस्या भएको हो । माओवादी द्वन्द्वको समयमा विदेश जाने क्रम जुनरुपमा थियो, अहिले त्यहीरुपमा रहेको छ । त्यो समयमा कमाउने विदेश जानेहरू हुन्थे भने अहिले अध्ययनका लागि युवाहरू विदेश गइरहेका छन् । १२ कक्षा पास भएपछि सबै विदेश गइरहेका छन् । यसले जनसंख्या घटेको र व्यापारमा त्यसको असर परेको छ । सामाजिक सञ्जालका कारणले विभिन्न देशहरूमा भइरहेको घटनाक्रमका विषयमा पनि जानकार भएर विलाशिताका सामानभन्दा पनि आवश्यक पर्ने दाल चामल लगायतका सामानमा खर्च भइरहेको छ । वचत गर्नुपर्छ, खर्च गर्नुहुँदैन है भन्ने मानसिकताको विकास भइरहेको छ । यसले पनि व्यवसायमा असर पारेको छ । अहिले नेपाल सरकारले केही परेको खण्डमा सहयोग गर्छ भन्ने कुराको विश्वास नै छैन । जसले गर्दा मानिसहरू बचत गर्नतर्फ लागिरहेका छन् । अत्यावश्यक बाहेकका वस्तुमा खर्च नगरिरहेको अवस्था हो ।
० देशका थुप्रै नाम चलेका सहकारीका सञ्चालकहरूले समेत सर्वसाधारण सदस्यले गरेको वचत रकम अपचलन गरेको तथ्य बाहिर आइसकेको छ, त्यहाँ रहेका सहकारीहरूको अवस्था चाहिं कस्तो छ ?
कुनै सहकारीले दायित्व बराबरकै लगानी गरेको छ भने त्यसलाई अपचलन भन्न मिल्दैन । हिजोका दिन जग्गाको मूल्य बढ्दो थियो । सहकारीहरूले पनि जग्गामा लगानी गरेको अवस्था हो । लघुवित्तले सामूहिक जमानीमा लगानी गरेको अवस्था हो । जसको आर्थिक चलखेल कम र जग्गा जमिन छ त्यहाँ नै सहकारीले लगानी गर्ने हो । नभए त विकास बैंक र वाणिज्य बैंकमा गइहाल्छन् नि मानिसहरू । सहकारीमा जाने भनेको कि धितो कमजोर हुनुपर्यो । यदाकता अपचलन भएको देखिएको छ । तर धेरैमा समस्या देखिएको छैन । पहाडका सहकारीले जग्गामा लगानी नगरेकाले पनि त्यस्तो समस्या नआएको हो । स्याङ्जाको कुरा गर्दा ९५ प्रतिशत सहकारीले आफ्नो हिसाव–किताब दिनसक्ने अवस्था छ । बचतकर्ताबाट यति रकम लिएको हो र यो यहाँ लगानी भएको छ भनेर भन्नसक्ने अवस्थामा यहाँका सहकारीहरू रहेका छन् । हामीहरू जिल्लाभरमा घुमेर बुझ्दा अपचलन नै भएको भन्ने पाइएको छैन । सञ्चालकहरूले रकम मासेर समस्या पारेको अवस्था यहाँ छैन । पैसा नउठेर निक्षेप फिर्ता गर्नका लागि समस्या भएको अवस्था छ । तर घर जग्गामा लगानी गरेर अपचलन गरेको कुरा हाम्रोमा छैन । अर्कोतर्फ व्यवसायीको हक हितको कुरा गर्दा, कुनै व्यवसाय गर्दा बीमा गर्ने गरिन्छ । त्यसमा बीमा कम्पनीहरू हेर्न नआउने र पछि क्षति भएपछि स्टकमा यति थिएन भनेर दुःख दिने काम गरिरहन्छन् । बीमा गर्दा गरिदिन्छ । तर क्षतिपूर्ति गर्दा आउँदैनन् । निर्जीवन बीमा कम्पनीमा गएर गाडीको बीमा गरेको हुन्छ भने सहरमात्रै केन्द्रित हुने भन्दा पनि देशका सबै ठाउँमा सेवा दिने गरी काम गर्नुपर्ने पनि देखिन्छ । पहिलो चरणमा सर्भिर सेन्टर खोल्न सकियो भने सहज हुन्छ । जसले गर्दा बीमा गराउनु पर्ने परिपाटी पनि बढ्छ । अस्पतालसँग लिपिबद्ध गरेर बीमा गराएका व्यक्तिहरूले सहज सुविधा पाउनुपर्ने आवश्यकता रहन्छ । तर यो विषयमा बीमा कम्पनी र सरकारले ध्यान दिनुपर्ने हुन्छ । गाडी मर्मतका लागि पनि हामीलाई सहज बन्ने थियो र अरु कामका लागि पनि सहज हुने थियो । गाउँघरका सडकहरू निकै बिग्रेको अवस्थामा रहेकाले पनि सवारी सेवाहरू निकै खस्कँदो हुन्छ । सिटको संख्या बढाएर बीमा गराउनु पर्यो वा घटना हुनेबित्तिकै सरकारले पनि केही व्यवस्था गरिदिनु पर्ने हुन्छ । सरकारले नै निश्चित अस्पताल तोकेर उपचार गराएको खण्डमा पनि सहज हुने थियो । लगानी गर्नका लागि अहिले बैंकहरूबाट कम ब्याजदरमा नै रकम पाइएको छ । तर लगानी हुन सकेको छैन । अहिलेको समस्या भनेको व्यवसायीहरूको चेक नसाटिने समस्या पनि हो । चेक नसाटिएपछि व्यवसायीहरू थप मर्कामा परेको अवस्था छ । यो अवस्थालाई सहज बनाउनका लागि बैंकमा दुई वा तीन पटकसम्म पनि चेक बाउन्स भयो भने खाता बन्द हुने सिस्टमको विकास गर्नुपर्ने देखिन्छ । जसले गर्दा कुनै पनि व्यक्तिले खातामा रकम नभएर खाता बन्द हुने अवस्था आयो भने त्यसमा सचेत पनि बन्छ । यो समस्या पनि समाधान हुन्छ । स-साना कुराहरूबाटै सुधारको थालनी गरियो भने व्यवसाय चलायमान बनाउनका लागि सहज हुने थियो ।
० दीर्घकालमा यो समस्या समाधान गर्नका लागि के गर्नु पर्ला ?
अहिलेको अवस्थाबाट पार पाउनका लागि दुई वटा उपाय छन् । पहिलो व्यवसाय गर्नेहरूले नै त्यो क्षेत्रमा खपत कति हुन्छ भनेर एकीन गर्नुपर्यो । अहिले २०५० सालको भन्दा पसलको संख्या बढेको देखिन्छ । ग्राहक घटिरहेको अवस्था छ । यो अवस्थामा व्यवसायीहरूले आफैं ‘फिल्टर’ पनि हुनुपर्ने देखिन्छ । अर्को कुरा के छ भने ठूला-ठूला पसलहरू खोल्नु पर्छ । अनि स्थानीय सरकारले पनि आफ्नो क्षेत्रभित्र पसल दर्ता गर्दा कति पसल आवश्यक हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने देखिन्छ । किराना पसल १० वटा हुँदा हुने ठाउँमा ३० वटा खोल्न दिनु भएन । जसले गर्दा एकातिर लगानी फस्ने भयो भने म्यानपावर पनि खेर जाने भयो । विश्वका सबै सामान नेपालमा पाइन्छ । तर ती सबै सामान बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यहीको उत्पादन केही पनि छैन । हामीले अब आफ्नै उत्पादनलाई पनि ध्यान दिएर उद्योगहरू स्थापना गरेर आफ्नो उत्पादन पनि गर्नुपर्ने हुन्छ । यहाँ उत्पादन हुने वस्तु बाहिरबाट ल्याउन नदिने र व्यवसायीको मनोबल उच्च बनाउनु पर्ने अवस्था छ । सरकारले अरु केही नगरे पनि आफ्नो देशको आगि अत्यावश्यक पर्ने वस्तुको आयात गर्न नपर्ने गरी उत्पादन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । जसले गर्दा रोजगारी सिर्जना हुनुका साथै विदेशको भर पर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ । नेपालमा रसिया-युक्रेनमा भएको युद्धको पनि प्रभाव परिरहेको छ । आफ्नै उत्पादन भयो भने यस्तो समस्याबाट पनि पार पाइने थियो । केही ठूला व्यवसायीहरूले सबै कुरा होल्ड गरेर राख्ने अनि हामीजस्ता पहाडका व्यवसायीहरू बाहिरबाट ल्याएको वस्तु बिक्री गरेर बस्नुपर्ने अवस्था रहेको छ । यसमा सुधार गरिएन भने अहिलेको अवस्थाबाट पार पाउन सकिंदैन । जहाँ गएर कमाए पनि पकाउने भनेको अन्न नै हो । त्यसैले सरकारले ठूलो भूभागमा कृषि कार्य गरेर आफूलाई खान पुग्ने खाद्यान्न उत्पादन गर्नुपर्छ । केही दिन भन्सारमा समस्या भयो भने बजारमा वस्तुको अभाव हुने अवस्था सिर्जना हुन्छ । आफ्नै उत्पादन भयो भने त्यो समस्याबाट पनि छुटकारा मिल्छ । व्यवसायीहरू निराश भएको अवस्था छ । यसलाई आत्मबल बढाएर अघि बढाउन सकिन्छ । सामान उत्पादन गरेर बिक्री गर्न सकियो भने अर्थतन्त्र आफैं लयमा फर्किन्छ । सामानै नभएको अवस्थामा बाहिरबाट ल्याएको सामानले कहिलेसम्म अर्थतन्त्र धान्ने ? आर्थिक मन्दी भनेको सामान उत्पादन गरेर बिक्री भएन भने त्यो भन्न मिल्छ । तर अहिले अवस्था त्यो छैन । पैसा हाल्छु भन्दा पनि माल किन्न नपाएको यो अवस्थालाई मन्दी किन भन्ने ? उत्पादन नभएको भन्नुपर्यो । मन्दी भनेर यो समस्याबाट भाग्न खोजिएको अवस्था छ ।
प्रकाशित समय १९:५१ बजे





















