1100×100 Nabil Advert

स्वदेशी उत्पादनमा ध्यान दिन सकिएन भने अवस्था अझ बिग्रँदै जान्छ

सरकारले अरु केही नगरे पनि आफ्नो देशको आगि अत्यावश्यक पर्ने वस्तुको आयात गर्न नपर्ने गरी उत्पादन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुहुन्छ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ । जसले गर्दा रोजगारी सिर्जना हुनुका साथै विदेशको भर पर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ । विश्वका सबै सामान नेपालमा पाइन्छ तर ती सबै सामानहरु बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यहीको उत्पादन केही पनि छैन । हामीले अब आफ्नै उद्योगहरू स्थापना गरेर आफ्नो उत्पादन पनि गर्नुपर्ने हुन्छ भन्ने धारणा राख्नुहुने श्रेष्ठसँग क्रसचेकमा प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश:

० वालिङ क्षेत्रको उद्योग व्यवसायको अवस्था कस्तो छ ?

उद्योेग वाणिज्य संघले आफूले गर्ने नियमित कामहरू गरिरहेको छ । यो पहाडी भूभाग त्यसमाथि पनि बसाइँसराइको दर धेरै भएकाले यहाँ आर्थिक गतिविधिहरू धेरै हुँदैनन् । सानातिना उद्योगहरू रहेका भए पनि ठूला उद्योगहरू छैनन् । यहाँका स्थानीय उत्पादनलाई हामीले प्रोत्साहित गर्ने काम पनि गरिरहेका छौं । यहाँका व्यवसायीहरूका समस्याका विषयमा छलफल गरेर महासंघमार्फत् सम्बन्धित निकायमा सुझावका रुपमा पनि हामीहरूले पठाउने गरेका छौं । ती समस्याहरू हामी आफैंले समाधान गर्नसक्ने अवस्था पनि छैन ।

० कोभिडपछि अधिकांश व्यवसाय खस्किएको छ, त्यसको असर कस्तो पर्‍यो ?

यहाँको व्यवसाय निकै कम भएको छ । व्यवसाय खस्कँदै गएको छ । २०४८ सालमा स्याङ्जाको जनसंख्या ३ लाखभन्दा बढी थियो । त्यो बेलादेखि म व्यवसायमा लागेको हुँ । अहिले यहाँको जनसंख्या २ लाखभन्दा केहीमात्र बढी छ । यसले गर्दा पनि व्यवसाय निकै कम भएको छ । अर्कोतर्फ यहाँबाट युवाहरू विदेश जाने क्रम पनि बढिरहेको छ । कोही राम्रो देशमा गएका छन् । कोही खाडीमा भए पनि गएको अवस्था छ । यसले गर्दा यहाँको बजार खासै चलायमान भएको छैन । आर्थिक गतिविधिका रुपमा स्याङ्जा अगाडि हो । तर, हाम्रा उपभोक्ताहरू यहाँ नभएको अवस्थामा व्यवसाय निकै कम भएको छ । सरकारले विभिन्न चिजमा आत्मनिर्भर भएको भनेर भनिरहेको छ । जस्तो एउटा उदाहरणका रुपमा सरकारले खसीमा आत्मनिर्भर भएको भनेको छ । तर खसी खाने मानिस पनि हुनुपर्‍यो होला नि ! खसीको मासु खानेहरू विदेशमा भएको अवस्थामा यहाँ आत्मनिर्भर भएको भनेर के गर्नु ? १८ वर्षभन्दा मुनिका र ५० वर्षभन्दा माथिका मानिसहरू मात्रै नेपालमा रहेको अवस्था छ । यो अवस्थामा हामीहरूलाई कोरोनाका कारणले भन्दा पनि ठूलो समस्या भएको छ । कोरोनाले समस्या नपारेको भने होइन । तर अहिले विदेश जानेक्रमले गर्दा व्यवसायमा निकै समस्या भएको हो । माओवादी द्वन्द्वको समयमा विदेश जाने क्रम जुनरुपमा थियो, अहिले त्यहीरुपमा रहेको छ । त्यो समयमा कमाउने विदेश जानेहरू हुन्थे भने अहिले अध्ययनका लागि युवाहरू विदेश गइरहेका छन् । १२ कक्षा पास भएपछि सबै विदेश गइरहेका छन् । यसले जनसंख्या घटेको र व्यापारमा त्यसको असर परेको छ । सामाजिक सञ्जालका कारणले विभिन्न देशहरूमा भइरहेको घटनाक्रमका विषयमा पनि जानकार भएर विलाशिताका सामानभन्दा पनि आवश्यक पर्ने दाल चामल लगायतका सामानमा खर्च भइरहेको छ । वचत गर्नुपर्छ, खर्च गर्नुहुँदैन है भन्ने मानसिकताको विकास भइरहेको छ । यसले पनि व्यवसायमा असर पारेको छ । अहिले नेपाल सरकारले केही परेको खण्डमा सहयोग गर्छ भन्ने कुराको विश्वास नै छैन । जसले गर्दा मानिसहरू बचत गर्नतर्फ लागिरहेका छन् । अत्यावश्यक बाहेकका वस्तुमा खर्च नगरिरहेको अवस्था हो ।

० देशका थुप्रै नाम चलेका सहकारीका सञ्चालकहरूले समेत सर्वसाधारण सदस्यले गरेको वचत रकम अपचलन गरेको तथ्य बाहिर आइसकेको छ, त्यहाँ रहेका सहकारीहरूको अवस्था चाहिं कस्तो छ ?

कुनै सहकारीले दायित्व बराबरकै लगानी गरेको छ भने त्यसलाई अपचलन भन्न मिल्दैन । हिजोका दिन जग्गाको मूल्य बढ्दो थियो । सहकारीहरूले पनि जग्गामा लगानी गरेको अवस्था हो । लघुवित्तले सामूहिक जमानीमा लगानी गरेको अवस्था हो । जसको आर्थिक चलखेल कम र जग्गा जमिन छ त्यहाँ नै सहकारीले लगानी गर्ने हो । नभए त विकास बैंक र वाणिज्य बैंकमा गइहाल्छन् नि मानिसहरू । सहकारीमा जाने भनेको कि धितो कमजोर हुनुपर्‍यो । यदाकता अपचलन भएको देखिएको छ । तर धेरैमा समस्या देखिएको छैन । पहाडका सहकारीले जग्गामा लगानी नगरेकाले पनि त्यस्तो समस्या नआएको हो । स्याङ्जाको कुरा गर्दा ९५ प्रतिशत सहकारीले आफ्नो हिसाव–किताब दिनसक्ने अवस्था छ । बचतकर्ताबाट यति रकम लिएको हो र यो यहाँ लगानी भएको छ भनेर भन्नसक्ने अवस्थामा यहाँका सहकारीहरू रहेका छन् । हामीहरू जिल्लाभरमा घुमेर बुझ्दा अपचलन नै भएको भन्ने पाइएको छैन । सञ्चालकहरूले रकम मासेर समस्या पारेको अवस्था यहाँ छैन । पैसा नउठेर निक्षेप फिर्ता गर्नका लागि समस्या भएको अवस्था छ । तर घर जग्गामा लगानी गरेर अपचलन गरेको कुरा हाम्रोमा छैन । अर्कोतर्फ व्यवसायीको हक हितको कुरा गर्दा, कुनै व्यवसाय गर्दा बीमा गर्ने गरिन्छ । त्यसमा बीमा कम्पनीहरू हेर्न नआउने र पछि क्षति भएपछि स्टकमा यति थिएन भनेर दुःख दिने काम गरिरहन्छन् । बीमा गर्दा गरिदिन्छ । तर क्षतिपूर्ति गर्दा आउँदैनन् । निर्जीवन बीमा कम्पनीमा गएर गाडीको बीमा गरेको हुन्छ भने सहरमात्रै केन्द्रित हुने भन्दा पनि देशका सबै ठाउँमा सेवा दिने गरी काम गर्नुपर्ने पनि देखिन्छ । पहिलो चरणमा सर्भिर सेन्टर खोल्न सकियो भने सहज हुन्छ । जसले गर्दा बीमा गराउनु पर्ने परिपाटी पनि बढ्छ । अस्पतालसँग लिपिबद्ध गरेर बीमा गराएका व्यक्तिहरूले सहज सुविधा पाउनुपर्ने आवश्यकता रहन्छ । तर यो विषयमा बीमा कम्पनी र सरकारले ध्यान दिनुपर्ने हुन्छ । गाडी मर्मतका लागि पनि हामीलाई सहज बन्ने थियो र अरु कामका लागि पनि सहज हुने थियो । गाउँघरका सडकहरू निकै बिग्रेको अवस्थामा रहेकाले पनि सवारी सेवाहरू निकै खस्कँदो हुन्छ । सिटको संख्या बढाएर बीमा गराउनु पर्‍यो वा घटना हुनेबित्तिकै सरकारले पनि केही व्यवस्था गरिदिनु पर्ने हुन्छ । सरकारले नै निश्चित अस्पताल तोकेर उपचार गराएको खण्डमा पनि सहज हुने थियो । लगानी गर्नका लागि अहिले बैंकहरूबाट कम ब्याजदरमा नै रकम पाइएको छ । तर लगानी हुन सकेको छैन । अहिलेको समस्या भनेको व्यवसायीहरूको चेक नसाटिने समस्या पनि हो । चेक नसाटिएपछि व्यवसायीहरू थप मर्कामा परेको अवस्था छ । यो अवस्थालाई सहज बनाउनका लागि बैंकमा दुई वा तीन पटकसम्म पनि चेक बाउन्स भयो भने खाता बन्द हुने सिस्टमको विकास गर्नुपर्ने देखिन्छ । जसले गर्दा कुनै पनि व्यक्तिले खातामा रकम नभएर खाता बन्द हुने अवस्था आयो भने त्यसमा सचेत पनि बन्छ । यो समस्या पनि समाधान हुन्छ । स-साना कुराहरूबाटै सुधारको थालनी गरियो भने व्यवसाय चलायमान बनाउनका लागि सहज हुने थियो ।

० दीर्घकालमा यो समस्या समाधान गर्नका लागि के गर्नु पर्ला ?

अहिलेको अवस्थाबाट पार पाउनका लागि दुई वटा उपाय छन् । पहिलो व्यवसाय गर्नेहरूले नै त्यो क्षेत्रमा खपत कति हुन्छ भनेर एकीन गर्नुपर्‍यो । अहिले २०५० सालको भन्दा पसलको संख्या बढेको देखिन्छ । ग्राहक घटिरहेको अवस्था छ । यो अवस्थामा व्यवसायीहरूले आफैं ‘फिल्टर’ पनि हुनुपर्ने देखिन्छ । अर्को कुरा के छ भने ठूला-ठूला पसलहरू खोल्नु पर्छ । अनि स्थानीय सरकारले पनि आफ्नो क्षेत्रभित्र पसल दर्ता गर्दा कति पसल आवश्यक हुन्छ भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने देखिन्छ । किराना पसल १० वटा हुँदा हुने ठाउँमा ३० वटा खोल्न दिनु भएन । जसले गर्दा एकातिर लगानी फस्ने भयो भने म्यानपावर पनि खेर जाने भयो । विश्वका सबै सामान नेपालमा पाइन्छ । तर ती सबै सामान बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यहीको उत्पादन केही पनि छैन । हामीले अब आफ्नै उत्पादनलाई पनि ध्यान दिएर उद्योगहरू स्थापना गरेर आफ्नो उत्पादन पनि गर्नुपर्ने हुन्छ । यहाँ उत्पादन हुने वस्तु बाहिरबाट ल्याउन नदिने र व्यवसायीको मनोबल उच्च बनाउनु पर्ने अवस्था छ । सरकारले अरु केही नगरे पनि आफ्नो देशको आगि अत्यावश्यक पर्ने वस्तुको आयात गर्न नपर्ने गरी उत्पादन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । जसले गर्दा रोजगारी सिर्जना हुनुका साथै विदेशको भर पर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ । नेपालमा रसिया-युक्रेनमा भएको युद्धको पनि प्रभाव परिरहेको छ । आफ्नै उत्पादन भयो भने यस्तो समस्याबाट पनि पार पाइने थियो । केही ठूला व्यवसायीहरूले सबै कुरा होल्ड गरेर राख्ने अनि हामीजस्ता पहाडका व्यवसायीहरू बाहिरबाट ल्याएको वस्तु बिक्री गरेर बस्नुपर्ने अवस्था रहेको छ । यसमा सुधार गरिएन भने अहिलेको अवस्थाबाट पार पाउन सकिंदैन । जहाँ गएर कमाए पनि पकाउने भनेको अन्न नै हो । त्यसैले सरकारले ठूलो भूभागमा कृषि कार्य गरेर आफूलाई खान पुग्ने खाद्यान्न उत्पादन गर्नुपर्छ । केही दिन भन्सारमा समस्या भयो भने बजारमा वस्तुको अभाव हुने अवस्था सिर्जना हुन्छ । आफ्नै उत्पादन भयो भने त्यो समस्याबाट पनि छुटकारा मिल्छ । व्यवसायीहरू निराश भएको अवस्था छ । यसलाई आत्मबल बढाएर अघि बढाउन सकिन्छ । सामान उत्पादन गरेर बिक्री गर्न सकियो भने अर्थतन्त्र आफैं लयमा फर्किन्छ । सामानै नभएको अवस्थामा बाहिरबाट ल्याएको सामानले कहिलेसम्म अर्थतन्त्र धान्ने ? आर्थिक मन्दी भनेको सामान उत्पादन गरेर बिक्री भएन भने त्यो भन्न मिल्छ । तर अहिले अवस्था त्यो छैन । पैसा हाल्छु भन्दा पनि माल किन्न नपाएको यो अवस्थालाई मन्दी किन भन्ने ? उत्पादन नभएको भन्नुपर्‍यो । मन्दी भनेर यो समस्याबाट भाग्न खोजिएको अवस्था छ ।

प्रकाशित समय १९:५१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु