1100×100 Nabil Advert

अनलाइनमार्फत हुने व्यापारबाट ग्राहकहरू ठगिएका छन्

धितो राखेरै भए पनि १५ लाखसम्मको सहुलियतपूर्ण ऋण प्राप्त हुने हो भने अहिलेको मन्दीको अवस्थाबाट माथि उठ्न सकिन्छ भन्नुहुन्छ भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिशप्रसाद कोइराला । अनलाइनमार्फत् हुने व्यापारबाट सबै ग्राहकहरु ठगिइरहेको बताउने कोइलाला उनीहरुले कतै पनि दर्ता नभई, कर नतिरी भित्रभित्रै व्यापार गर्दा दर्ता भएर, राज्यलाई कर तिरेर विभिन्न प्रक्रिया पुर्‍याएर काम गरिरहेका व्यवसायीहरुलाई एकदमै ठूलो असर गरेको छ, त्यसबाट पनि अहिले वास्तविकरुपमा व्यवसाय गरिरहेकाहरु मारमा परेका छन् भन्नुहुन्छ अध्यक्ष कोइराला । भीरकोट क्षेत्रको उद्योग व्यवसायलगायत विविध समसामयिक आर्थिक गतिविधिमा केन्द्रित रहेर भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिशप्रसाद कोइरालासँग क्रसचेकका सम्पादक टंक कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

 

० अहिले भीरकोट क्षेत्रमा उद्योग व्यवसायको अवस्था कस्तो छ ?

अहिलेको समग्र देशको अर्थतन्त्र नै समस्यामा भएको अवस्था हो । यो अवस्थामा यहाँका व्यवसायीहरू पनि निकै समस्यामा रहेका छन् । व्यापार छैन । व्यवसाय गर्नका लागि निकै गाह्रो भइरहेको छ । शहरी क्षेत्रको जस्तो धेरै धराप त छैन । हाम्रो गाउँले बजार हो । तर पनि अहिले पहिलेको भन्दा निकै कममात्रै व्यापार भइरहेको अवस्था छ । हाम्रोमा पोल्ट्री फर्महरू पनि रहेका छन् । यसलाई समस्या त केही छैन । उत्पादन भइरहेको छ । तर अरु व्यवसायीहरूलाई भने समस्या भइरहेको छ । काठमाडौं, पोखरा, बुटवल जस्तो नभए पनि अवस्था निकै कमजोर भएको महशुस व्यवसायीहरूको छ । यस्तो अवस्था आउनुको प्रमुख कारण अनलाइनबाट हुने व्यापार पनि हो । कसैले राज्यलाई कर नतिरेर यतिकै सञ्चालन गरेको अवस्था पनि छ । यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि व्यापारीहरूले आवाज उठाइरहेका छन् ।

० आधुनिक प्रविधिले पनि व्यवसायमा धक्का पुगेकै हो ?

हामीजस्ता पसल गरेर बस्नेहरूलाई निकै धक्का पुगेको छ । उनीहरूले राज्यलाई कर पनि तिरेका छैनन् । पान नम्बर नलिएर यत्तिकै कोठामा बसेर काम गरिरहेको अवस्था छ । जसले गर्दा पान नम्बर लिएर, दर्ता भएका र राज्यलाई कर तिरिरहेका व्यवसायीहरूलाई यसले निकै समस्या परेको छ । अनलाइनहरूमा सामानको फोटा देखाएर व्यापार गरिएको अवस्था पनि छ । जसले गर्दा आमव्यवसायीहरूलाई निकै मर्का परेको छ । तिनीहरूले फोन सम्पर्क गरेर सामानहरू पठाउने गर्दछन् । त्यसको कुनै क्वालिटी पनि हुँदैन । यस्तो कुराको लेखाजोखा पनि छैन । यो जिल्लामा मात्रै भन्दा पनि देशभर नै यस्तो समस्या बढ्दो अवस्थामा छ ।

० तपाईको क्षेत्रमा स्थानीय उद्योगहरू वा ठूला उद्योगहरूको अवस्था के छ ?

हाम्रो क्षेत्रमा ठूलो उद्योग भनेको कालीका पोल्ट्री फर्म हो । यो यहाँको मात्रै नभएर पोल्ट्रीमा देशभरकै ठूलो उद्योग हो । अरु साना उद्योगहरू रहेका छन् । यहाँ नै उत्पादन गरेर प्याकिङ गरेर बिक्री गर्ने उद्योगहरू भने रहेका छैनन् ।

० देशभर सहकारीहरूमा सर्वसाधारणको रकम अपचलन भएका खबरहरू सुनिएका छन्, तपाईको क्षेत्रमा के छ ?

हाम्रो क्षेत्रको कुरा गर्दा सहकारीहरूले १८ प्रतिशतसम्म र बैंकहरूले १६ प्रतिशतसम्म पनि ब्याज पुर्‍याए । अहिले कतै १० प्रतिशत रहेको छ । बैंकको ८ प्रतिशत पनि रहेको छ । पहिले १८ प्रतिशत पनि व्यवसायीहरूले तिरे । केही साथीहरूले तिर्न नसकेर कालो सूचीमा पनि परेका होलान् । अहिले १० प्रतिशतमा दिंदा पनि कर्जा ल्याएर लगानी गरेर तिर्न सक्ने अवस्था देखिंदैन । बैंकले तीन महिनासम्म नतिरेपछि कालोसूचीमा हालिहाल्छ । त्यो बैंकको पनि बाध्यता होला । घरमा ताकेता गर्नुपर्ने भयो । सटर बन्द गरिदिन्छु भन्ने अवस्था पनि आउने भयो । यो स्थितिले गर्दा व्यवसायीहरू कर्जा लिएर व्यवसाय गर्नसक्ने अवस्थामा छैनन् । पहिलेको जस्तो व्यापार हुने भएको भए पनि केही मात्रामा ऋण लिएर व्यापारमा लगानी हुन्थ्यो होला । तर अहिले त्यो हुन सकेको छैन । ठूला व्यापारीहरू जेनतेन धानिएका छन् । सानातिना व्यापारीहरूलाई भने घरभाडा तिर्न पनि समस्या हुने अवस्था छ । केही लघुवित्तबाट कर्जा ल्याएर काम गर्नसक्ने अवस्था पनि छैन । लघुवित्तबाट ऋण ल्याएर काम गरेको खण्डमा व्यवसायी एक वर्षमा खत्तमै हुने अवस्था छ ।

० व्यवसायीहरूको आत्मविश्वास र व्यापार दुवै घट्नुले यस्तो देखिएको पो हो कि ?

वस्तुको माग घटेको अवस्था त होइन । तर कोठामा बसेर अनलाइनबाट गर्नेहरूले व्यापार घटाएको अवस्था छ । कोठामा बसेर दिनमा १०० जनाले हरेकले ३ जनालाई मात्रै बिक्री गरे पनि भने ३०० जनासँग व्यापार गर्ने भए । हामीसँग धेरै सामान हुने भएकाले सबै सजाएर राख्न सक्ने अवस्था हुँदैन । कोठामा केही फोटा खिचेर देखाउनेहरूले व्यापार बिगारिरहेको अवस्था छ । अनलाइनमा राम्रो देखाएका छन् । फोटोमा राम्रो देखाएर नराम्रो सामान पठाइएको अवस्था पनि छ । अनलाइनमार्फत हुने व्यापारबाट सबै ग्राहकहरू ठगिएका छन् ।

० तपाइको क्षेत्रमा युवा पुस्ताको वैदेशिक पलायनको अवस्था के छ ?

यो निकै भयावह अवस्था छ । यहाँ २० वर्ष उमेर पुगेका र १२ कक्षा पास भएपछि विदेश जाने चलन नै बनिसक्यो । मास्टर गरेर बैंकमा जागिर गर्दा पनि हाम्रोमा ६० हजार रुपैयाँ पाउनका लागि गाह्रो छ । बैंकमा बोनस आउँदा केही बढी पनि होला । तर यहाँ बस्ने अवस्था छैन । कतिपय साथीहरूले गरेको देखेर पनि यहाँ बस्नसक्ने अवस्था नै छैन । सँगैको साथीहरूले काठमाडौं वा पोखरामा घर बनाइसक्यो आफ्नो छैन भन्ने अवस्था हाम्रोमा छ । १० प्रतिशतभन्दा बढी युवाहरू बाहिर नै रहेका छन् । स्याङ्जा जिल्लाको कुरा गर्दा सबैभन्दा धेरै सुन्तला फल्ने ठाउँ नै भीरकोट हो । तर सुन्तलाको हेरचाह गर्ने मानिसहरू पनि छैनन् । गाईंभैसीको मल पनि पाइँदैन जुन सुन्तलाका लागि निकै आवश्यक हुन्छ । काँटछाँट गर्ने मानिस पनि छैनन् । ९० प्रतिशत वैदेशिक रोजगारीमा गएको अवस्था छ ।

० बसाइसराइको अवस्था चाहिं कस्तो छ ?

माथिल्लो भेग जुन दुर्गम हो, त्यहाँबाट बसाइसराइ भएको नै छ । हाम्रो मुख्य व्यापारीक क्षेत्रमा भने त्यस्तो भयावह अवस्था छैन ।

० अब के गरियो भने व्यापारको अवस्थामा सुधार होला ? युवाहरूलाई स्वदेशमा नै बस्ने वातावरण निर्माण गर्न कसरी सकिएला ?

व्यापारीको हकमा कुरा गर्दा पहिले बैंकहरूले पनि उद्योग वाणिज्य संघमा दर्ता भएकाहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा दिन्थे । त्यो पनि ३ प्रतिशत ब्याजमा । यो अवसर हाम्रोमा २÷३ जनाले मात्रै पाए । लगानी गर्नका लागि बैंकहरूले पनि चासो दिएको अवस्था छैन । धितो राखेरै पनि १५ लाख रुपैयाँसम्म ऋण दिने र त्यो पनि साढे ३ प्रतिशत ब्याज हुने हो भने हाम्रो क्षेत्रका व्यापारीहरूले काम गर्न सक्ने अवस्था हुन्थ्यो । साना व्यवसायीहरूलाई यसले राहत मिल्ने थियो । वैदेशिक रोजगारीको कुरामा त राज्यको नीति नै छैन, कानूनै छैन । अब हाम्रो कानून लागू भयो भने सबै यहीं बस्नु पर्छ । गलत गरेको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री सबै जेल जानुपर्छ । तर, हाम्रोमा यस्तो अवस्था नै छैन । ठग्नेले ठगेको ठगै, सिधा पिल्सिएको पिल्सिएै हुनुपर्ने अवस्था छ । कानून फितलो भएका कारण पनि हाम्रा युवाहरू नेपाल बस्न सक्ने अवस्था नै छैन ।

प्रकाशित समय ११:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु