अन्नपूर्ण फेरोका २७ गाउँमा होमस्टे व्यवसाय
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।
हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन् ।
दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् ।
इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् ।
यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ”, उहाँले भन्नुभयो, “घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ ।” पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा बढीरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पु¥याइरहेको छ ।
कास्कीको माछापूछ«े गाउँपालिका-८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिनुभयो । “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड-१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ”, उहाँले भन्नुभयो, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”
गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।
समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापूछ«े, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।
घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद-२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।
गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ । ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन् । घरबास सँगसँगै ती क्षेत्रमा होटल व्यवसाय पनि फस्टाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वमाझ चिनिएको गन्तव्य हो । यस क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।
प्रदेश सरकार र स्थानीय तहले पनि अन्नपूर्ण क्षेत्रभित्र सञ्चालित सामुदायिक घरबास प्रवर्द्धनमा सघाउँदै आएका छन् । गण्डकी प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका समेटी घरबास व्यवसायीहरुलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आवमा पनि गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो । अन्न्पूर्ण संरक्षण क्षेत्रबाहिर पनि चल्तीका घरबास छन् । नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यसै प्रदेशमा पर्छ ।
प्रकाशित समय १४:१७ बजे



















