1100×100 Nabil Advert

ललितपुर महानगरपालिकाले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

ललितपुर । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

“सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार रु दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइनसकेको छैन,” थापाले भन्नुभयो ।

त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिनुभयो । “गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ रु चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार रु तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,” धिमालले भन्नुभयो ।

राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्याैट गरेको धिमालले जानकारी दिनुभयो ।

प्रकाशित समय १३:५२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु